मदनको कुवा

झाँक्रीखोले
इलाम, नेपाल

छ ऋतु मध्यकी शारदा रति
नव वसन्तकी आँत सारथी
वदनमा रुवा दूध उम्लियो
मदनको कुवा शुध्द सङ्लियो॥१

ढुकुर जोरझैँ कुर्लिने मन
फुल सुताउने बैँसको धन
गुण बनाउने कुञ्ज खोजिमा
भ्रमण उड्दछन् गुञ्ज रोजिमा॥२

वसनका तुना खुस्किँदै गए
रहरका मुना मस्किँदै रहे
बइँस लत्रिँदा लर्कियो रुख
मुसुसु मस्किँदा झल्कियो सुख॥३

तन बुढो भए हुन्छ के डर ?
मन बुढो अझै छैन भर्खर
बरु गमक्क होस् आँटिलो मन
डबल धुक्धुकी एक चुम्बन॥४

प्रकृतिले हिजो पाठ जे दियो
मगजले त्यही तन्तनी पिय‍ो
प्रिय वसन्तकी सिर्जनासित
डबल सत्रमा विश्व जागृत॥५

ऋतु रजाइँ हो बैँस कोपिला
कुसुम फक्रिने रूप दाखिला
युगल काखको राज्य यौवन
अझ वसन्त होस् जोर चुम्बन ॥ ६

छन्द – इन्दिरा

Leave a Reply

Your email address will not be published. Required fields are marked *