मनसुन फेरि फर्केर आउँछ
नबिन शर्मा भट्टराई
पेन्सिल्भिनिया, अमेरिका
आज पुरा एकहप्ता भइसक्यो; वैकुण्ठ प्रसाद पोख्रेलको कुनै अत्तो-पत्तो लागेन। आफ्नो माइलो छोराले यसरी माया मारेकाले भक्तिप्रसाद पोख्रेलका दुवै आँखा रसाए, तर लोग्ने मानिसको मर्यादालाई भङ्ग हुन नदिई आफ्नो स्वास्नीको आँखाबाट आफुलाई बचाउन आँसुलाई लुकाउने प्रयास गरिरहे। आफ्नो आँसु लुकाउनुको दुइटा उद्देश्य थियो भक्तिप्रसादको। एक त उनी लोग्ने मानिसको प्रतिनिधित्व गर्न चाहन्थे भने दोस्रो घरको मूल मान्छे कै आँखामा आँसु देखा परे आइमाई-केटाकेटीले सुरक्षित महसुस गर्दैनन् भन्ने उनको मान्यता थियो। आफु छोराको विरहमा भित्र-भित्रै छट्पटाए पनि बाहिर दह्रो भएको अभिनय गरिरहे। उता पार्वतीदेवीलाई भने लोग्नेको हाल थाहा थियो। बाबै सत्र वर्षका मात्रै थिए जब तेह्र वर्षकी पार्वती त्यो घरमा भित्रिएकी थिइन्। गएको पुस पन्ध्र गते ठ्याक्कै चालिस वर्ष बितेको थियो उनीहरूको गृहस्थीको । अझ भन्नु हो भने त्यो भन्दा अघि देखिको मित्रता थियो उनीहरूको।
उ बेला शिवभक्त पोख्रेलको व्यापार निकै फस्टाएको थियो। व्यापारको सिलसिलामा शिवभक्त पश्चिममा चरिकोटसम्म पुग्थे भने पु्र्वमा मेची तरेर आसाम-मेघालय पनि जाने गर्थे रे। भक्तिप्रसाद जन्मनु अघि बाबै निकै मरिमेट्थे रे व्यापारमा। केही पल्ट त बर्मासम्म पनि पुगेका थिए भन्ने सुनिन्थ्यो। तर जबदेखि भक्ते कोखमा आयो, उनले धेरै टाढाको यात्रा गर्न कम गरेर ब्यापर सीमित गरे। नेपालको पूर्वी सिमाना काँकडभिट्टामा पचास बिघा जति जमिन जोडे पनि खेतीबारीको काम सकेर एक चक्कर व्यापार भ्याउन भने उनले छोडेनन्। त्यही सिलसिलामा इलामका गोतामे उनका घनिष्ठ मित्र बनेका थिए। भक्ते सानैदेखि बाबुलाई पच्छ्याउने भएकाले इलाममा पार्वतीसँग भेट भइरहन्थ्यो उसको। भक्तिप्रसाद र पार्वतीदेवीको सानै देखिको घनिष्ठ मेल भएको देखेर उनीहरूलाई विवाह बन्धनमा बाँधिदिएका थिए रे उनीहरूका माता-पिताले।
यतिका वर्षको घनिष्टता हुँदाहुँदै पनि पार्वती देवीले भक्ति प्रसादको मन जाँच्न नसक्ने त कुरै थिएन, तर आफ्नो अगाडी लोग्ने लज्जित भएको पनि त उनी हेर्न चाहँदिन थिइन। त्यसैले बरु बिहान-बेलुकी भान्सो गर्ने बेलामा आफ्नै आँसु अघि सारी बिन्ती गरिन, “वैकुण्ठे हिँडेको आज हप्ता दिन भइसक्यो, केही खबर सुन्नु भएन तपाईँले? पहिले-पहिले त यतिका दिनसम्म कहिल्यै हराउँदैन थियो। कालीपारि विष्टकामा गएर पो बुझ्ने होकी, कतै मालतीलाई लिएर त हिँडेन?”
“मालती घरमै छ, उ पनि हराएकी भए यतिका दिनसम्म विष्टे चुप लाग्थ्यो होला।” घिउको कचौराबाट घिउ खनाउँदै भक्ति बोले, “मालतीलाई पनि सोधिसकेँ मैले। महिना दिन अघि मेलामा झल्याँस्स देखेकी थिएँ भन्छे, खै? हैन कति रिस उठेको त्यस गधालाई? कसै न कसैलाई त भनेर हिँड्नु पर्छ नि। कहाँ गयो, कसरी गयो?”
त्यो भन्दा धेरै बोल्न सकेनन् भक्ति बा। गलामा केही अटकिए झैँ भयो र घाँटी दुख्यो। अब धेरै बोल्नु परे आँसु खस्ने डरले रिसको सहारा लिए र पस्किएको भात छोडेर अम्खोराको पानी लिएर बाहिर निस्के। पार्वती भक्कानी सकेकी थिइन, उनले केही भन्ने आँट पनि गरेनन्। अम्खोराको आधा पानी अनुहारमा छम्केर आँखा भिजाए र आधा पानी ठाडो घाँटी लगाएर निखारे। केही शीतल हावा लिएर भित्र पसे अनि भने, “चिन्ता नलिई, बढेको छोरालाई केही हुन्न। केही दिन घुम्न दे, आफै फर्केर आउँछ। आएनछ भने म खोजेर ल्याउला तेरो बैकुण्ठेलाई।”
लोग्नेको आश्वासनले केही ढाडस त मिल्यो तर यस्तो स्थितिमा भोक भने पटक्कै लागेन। अगेनामा सेलाउँदै गरेको दूधबाट तर पन्छाएर हलुङ्गेको गिलासमा एक गिलास दूध ल्याइन् र लोग्नेलाई दिइन्। आँफु भने ठेकीबाट एक गिलास मोहि खाएर त्यो साँझको धन्दा सकिन पार्वतीले।
वर्षा ऋतुको महिना छ। बाहिर मनसुन हावा चलेको छ। घर पछाडिको करेसाबारी, त्यसपर्तिर केराको बोट, अनि लगभग सँगै टाँसिएको भालु बाँसको झ्याङ, तीन-चार कट्ठाको घडेरी भएपनि बर्सातका कारण सानो तिनो ‘रेन फोरेस्ट’ जत्तिकै भान हुन्थ्यो। साँझ पर्ने बित्तिकै चुक पोखे जत्तिकै निस्पट्टै अँध्यारो हुन्थ्यो। मानिसको चहल-पहल कम हुने बित्तिकै भ्यागुताहरू टर टराउन थाल्दथे। आधा रात त बैकुण्ठेका कुरामा कट्यो बाँकी रात कटाउने उद्देश्यले भक्तिप्रसाद ओछ्यानमा पल्टिए। सुत्न खोजे तर निन्द्रा पनि रिसाएर बैकुण्ठेको पछि लागे जस्तो छेउमा आउन डरायो। जति नै आफूलाई रोकेर आत्मग्लानिबाट बच्न चाहे पनि उनी सफल भएनन्। मनमा कुराहरू खेल्छन् आफै सवाल बन्दछन् र आफै त्यसको वकालत गर्दछन्। आँखामा निन्द्रा पटक्कै छैन, भक्तिप्रसादको प्रश्नोत्तर मन मनै चलिरहन्छ, “ मैले बित्थामा कराएछु बैकुण्ठेलाई, यतिका रिसाहा छ भन्ने जान्दा-जान्दै पनि मबाट कसरी गल्ती भो?”
भक्तिप्रसाद ओछ्यानमा पल्टिएर पुन: विचार गर्न थाल्दछन्:-
मनसुनले पूर्ण साथ दिएको छ। जेठ, असार, साउन सबै रुझेका छन्। किसानको घरमा यो भन्दा खुसीको मौका कहिले आउँछ। पूर्वी नेपालको तराई धान खेतीकालागि असल भूमि हो। यी तीन महिना गुमे भने किसानको दरिद्रता पक्का।
उता कतिपय किसानका खेतहरू भने बाँझै छन् तर कतै-कतै भने मेला र व्यवसाय फस्टाएको छ। जवान युवा युवतीहरू आफ्नो प्रेमालापका लागि बहाना खोजी रहेका हुन्छन्। खोला पारि भारतको नक्सलवाडीमा मेला लागेको छ। रोटे-पिङ, सरकस र अनेकौँ जुवाका पसलहरू खोलिएका छन्। यता मेलाको बेला छ, उता रमाइलो मेला छ। वैकुण्ठले नचाहँदा नचाहँदै पनि बाटो बिरायो। उ त्यस दिन भरिनै उतै हराई दियो। त्यसै दिन खेताला बोलाइएको थियो। बैकुण्ठेको अनुपस्थितिले मेला त रोकिएन तर आफ्नै छोरा भौँतारिएको र आफ्नो बाली खेतालाको भरमा मात्रै सक्नु परेकाले भक्ति प्रसाद लज्जाले पानी भए। अप्ठेरो मान्दै त्यस दिनको काम सकियो।
त्यसदिनको मेलामा लगभग सबै काम त सकिएको थियो तर केही बिउ अझै उब्रिएको थियो। भक्तिप्रसाद बिहान शौच कार्य सकेर भान्सामा छिरेका मात्रै थिए। बैकुण्ठे अगेनामा बसेर तातो दूधको गिलास बोकेर चुस्की लिन लागेको थियो। भक्तिप्रसादले उसको सातो खाए, “हिजो चाहिँ कहाँ मुन्टेको थिस्, बैकुण्ठे? घरमा जवान छोरो हुँदाहुँदै पनि आफ्नो मेला छिमेकीले गरिदिनु पर्छ । सिन्को भाँच्नु छैन, तातो दूध खाने, लबस्तरो। थपक्क उठेर गोरु नार।”, भक्तिप्रसादले सास्ती दिनकै लागि भए पनि बिउ राखेको ब्याडमा जोतेर धान रोप्ने आदेश दिए।
बैकुण्ठे सबैभन्दा सोझो छोरो थियो तर रिस पनि उसैलाई धेरै उठ्ने गर्दथ्यो। जति नै रिसाए पनि बाबुको आदेश नमान्ने त कुरै भएन। तर हलुङ्गेको धोवे गिलासमा सारेको त्यो तातो दूध छोडेर मेला जानु परेकाले उ रिसले आगो भयो।
बैकुण्ठे एक हल गोरु लिएर ओरालो झरेको आधा घण्टा पनि भएको थिएन, पुरी साँईलोले भक्ति प्रसादका कानमा समाचार पुर्याई दियो, “बैकुण्ठेले गोरु चुटेर मार्नै लाग्यो रे भक्ति बा, चाँडो जानु पर्यो।”
भक्तिप्रसाद अहिंसावादी मानिस थिए। पशुहरूमा त उनको विशेष लगाव थियो। गोठमा राखेका पशुहरूलाई पनि आफ्नै परिवारका सदस्यहरू जस्तो व्यवहार गर्थे र बोल्ने गर्थे। खोलेमा नुन लागेको छ छैन सोध्ने गर्थे। कहिले सिङमा तेल लगाई मालिस गरिदिन्थे त कहिले आफ्नै हातले गलामुनि कनाई दिन्थे। गोरुहरू पनि स्याहार पाएझैँ बलिया थिए तर गत महिनादेखि लिखुरे नाम्ले परे झैँ बिस्तारै अल्छी हुन थालेको थियो। उपचार चलिनै रहेको थियो तर बेलाबेलामा ब्याथाले चाप्दो हो बिचरालाई बसेको ठाँऊबाट उठ्न गाह्रो मान्दथ्यो। भक्ति प्रसाद दुवै देखि परिचित थिए बैकुण्ठेको रिस र लिखुरेको ब्याथा। गोरुको सन्चो विसन्चोको बारेमा बैकुण्ठेलाई त खाँचो थिएन। उसको ध्यान घरमा भएका भए किन यतिका सास्ती सहनु पर्थ्यो होला र? उमेर र खराब सङ्गतले होला बैकुण्ठेको मन अरू नै कतै थियो। त्यसैले त बस्तुभाउका बारेमा उ अनभिज्ञ थियो।
भक्तिप्रसाद हस्याङफस्याङ गर्दै डिलमा पुगे तर बैकुण्ठेको रिस अझै शान्त भएको थिएन। लिखुरे हिलामा बसेर ड्वाँ-ड्वाँ कराई रहेको थियो। उता बैकुण्ठे भने रिसको झोकमा लिखुरेका पिठ्यूमा लाठो बजारी रहेको थियो। त्यो कारुणिक दृश्य भक्तिप्रसादले देख्न सक्ने कुरै भएन । उनले डाँडा माथिबाटै बैकुण्ठेलाई हपारे, “बाउको रिस त्यो अबोध पशुलाई पोख्छस् ए अधर्मी। आज तेरो करङ भाँचिनछ भने त के र? पख, तेरा।”
भक्तिप्रसादको गर्जन सुन्ने बित्तिकै बैकुण्ठेले लाठो त्यही एकातिर हिलामा मिल्कायो र बहादुरे खोल्सो तर्यो। लिखुरेको त्यो गति नभएको भए बहादुरेको दोभानसम्म त लखेट्ने थिए होला तर आफ्ना प्रिय हलीहरूको दशा देखेर उनी हेरचाहमै लागे। भक्तिप्रसादलाई देखेर लिखुरे फेरि कारुणिक स्वरमा ‘ड्वाँ’ गरेर करायो। भक्ति प्रसादको मुटु कटक्क खायो। उनले लिखुरेलाई सहारा दिँदै भने, “कस्तो निर्दयी कुपुत्र जन्मेछ हरे, यति चेतना त पशुमा पनि हुन्छ।”
त्यसदिन भरिनै उनी लिखुरेको मल्हम पट्टीमै लागिरहे। बैकुण्ठे घर आएन र भक्ति प्रसादले खोजीनिती पनि गरेनन्। राम्रो स्याहार पाएर लिखुरे केही दिनमै तङ्ग्रीयो तर पार्वतीको पुत्रशोक बढेर गयो। उनी छोरालाई सम्झेर यति एकोहोरो हुन थालिन कि अगेनामा दूध उम्लिएर पोखिन थाल्यो। तरकारीमा कहिले नुन हाल्न बिर्सिन्थिन भने कहिले दुई चोटि हाल्ने गर्थिन्। बैकुण्ठेले तातो दूध खाने गरेको हलुङ्गेको धोवे गिलास हेरेर टोलाउँथिन र कहिले उसको पत्लुङ्ग र घुँडासम्म आउने बुट हेरेर झस्किने गर्थिन। भक्तिप्रसादको पनि रिस मरिसकेको थियो तर पनि आमाचाहिले थाहा नपाओस भन्ने हेतुले आफ्नो बेचैन लुकाउने गर्थे। कहिलेकाहीँ त पार्वती पुत्रशोकमा डुबेको देखेर उनका आँखा रसाउँथे अनि रसाएका आँखा आफ्नै पत्नीलाई देखाउन नसकी तर्किएर हिँड्थे।
आफ्नो रगत जति नै मूर्ख भएनि माया त लाग्छ नै। हुन त यस्ता घटनाहरू घटेको यो पहिलो पटक भने हैन तर यसपालि त बैकुण्ठे हराएको देखेर गाउँका सबै नै चकित भए। हप्ता दुई हप्ता, महिना दुई महिना त्यसरी नै बितेर गयो तर बैकुण्ठेको पत्तो लागेन। चौकीमा उजुरी दिइयो, जान्नेलाई देखाइयो तर कुनै मेसो लागेन। आज आउँछ, भोलि आउँछ भन्दा भन्दै वर्षदिन कटिसक्यो। यता पार्वतीलाई असुहाउदो खानपिनको तालमेल र पुत्रशोकका कारण धेरै रोगहरूले चाप्न थाले। कहिले कोखो दुख्ने त कहिले तल्लो पेट कटक्क खाने। तुलसाको पातमा मह लगाएर खाँदा पनि जाति भएन, निमको रस कागती सँग घोलेर खाँदा पनि कुनै असर गरेन। गरोस् पनि कसरी शारीरिक कम्जोरी भएको भए त जान्थ्यो पनि होला तर पुत्रशोकले त राजा दशरथ जस्ताको ज्यान लिएको थियो बिचरा पार्वती त एक निरीह आमा। के विश्वास अब कति दिनकी पाहुना हुने हो यो धर्तीमा।
भक्तिप्रसाद पनि थाकिसकेका थिए वृद्ध पत्नीको उपचार र छोराको खोजी गर्दा गर्दै। हिजोआज त पार्वती भक्तिप्रसादलाई देखेर पनि नदेखे झैँ गर्न थालेकी थिइन, मानौँ आफ्नो छोराको लागि आफ्नै पतिविरूद्ध सत्याग्रह गरिरहेकी हो। भक्तिप्रसादले त्यो कुरालाई राम्ररी बुझेका थिए र सम्झाउने प्रयत्न पनि नगरेका हैनन् तर पार्वतीमा त्यसको कुनै असर पर्दैन थियो। हारेको मलिन स्वरमा उ भन्ने गर्थी, “भैगो बाँकी तीन छोरा छँदैछन्, तिनैले पार तार्छन् होला। बाबुको मर्यादा नराख्ने छोरो भएर पनि के काम?”
भक्तिप्रसाद भित्र भित्रै भक्कानिएर रुन्थे तर बाहिर देखाउन उनले सकेका थिएनन्। आफ्नो कम्जोरी बाहिर ल्याएर उनी परिवारको आत्मा विश्वास टुटेको हेर्न चाहँदैन थिए। बरु शोकमा बसेर समस्यासँग जुझ्ने उनले विचार गरेका थिए।
फेरि मनसुन फर्किएर आयो तर यसपालिको बर्सात कसरी बित्यो थाहा भएन। किसानका कामहरू त्यसरी नै फत्ते हुँदै गए तर पहिले जस्तो खेती कमाउन, धान झाँट्न, दाइ गर्न परालको कुनिउ बनाई रमाइलो भएन। यता अर्को बाली लाउने बेला भइसक्यो। बैकुण्ठेका विना सबै सुनसान जस्तो भयो।
हुन त भक्तिप्रसादका जम्मा चारभाइ छोराहरू, जेठो छोरो भोला बिहे गरेर कालीपारि घरजम गरी बसेको थियो। साईलो र कान्छो भने अध्ययनकालागि सदरमुकाममा डेरा गरी बस्थे। यी मध्ये माहिलो थियो बैकुण्ठे। उसले नत पढ्ने इच्छा देखायो न त घर गृहस्तिमा नै चासो देखायो। यसपालि ठ्याक्कै एक्काइसको भएको थियो। त्यसैले उसको कमजोरी भनेको साथीभाइ , मेला र मस्ती। त्यस बाहेक कालीपारि दाइ भोलाकै छिमेकी विष्टकी बहिनी मालतीसँग प्रेममा परेको छ भनी गाउँका आइमाईहरू कुरा काट्थे।
मालती पनि बिछट्टै राम्री थिई। बैकुण्ठेको सरलता देखेर उ पनि भित्रभित्रै बैकुण्ठेकै चाहना पालेर बसेकी थिई। उता कालीपारि सिरान घरे सुवेदी र भक्ति पोख्रेलको बाजेकै पालादेखि जग्गामा कुरा मिलेको थिएन। मुलुकी ऐन र भूमिसुधारका दौरान उनीहरूका बाजेदेखि नै सरकारलाई कर छल्नकालागि मिलेमतो भएको थियो। उतिखेर जमिनलाई लिएर त्यति झैँ-झगडा हुँदैन थियो तर जब नाति-पनातिको पालो आयो त्यही दश कट्ठामा दुवै थरीले आफ्नो अधिकार दाबी गर्न थाले।
“मेरा बाजे बराजुले कमाईल्यएको बिर्ता हो, त्यस सुवेदीको जिउनि होर? दश औँला जोडी भिक्षा मागे दसेक धुर दया गरौँला, हक जताए अड्डामा भेटौँला।”, भक्तिप्रसादको जवाफ यस्तो थियो भने उता द्रोण सुवेदी पनि त्यस दस कट्ठालाई आफ्नै पुर्खाको धरोहर ठान्दथे र बारमबार अनेक तरहले हत्याउन खोज्दथे। कसैले भक्तिप्रसादको प्रशंसा गर्यो या त्यस जमिनको विषयमा केही बोल्यो भने रिसले आगो भएर भन्ने गर्थे, “श्री ५ पृथ्वी विक्रमले गुरु पूर्णिमाका दिन मेरा बाजे शास्त्री टिकाराम सुवेदीलाई टिका लगाई गुरु दक्षिणा बक्सेको जमिन हो यो। दुई दिन जोतेको भरमा अधिकार जमाउन पाउँछ त्यस पोख्रेलले? सर्वोच्च धाएर भए’नि म आफ्नो अधिकार लिन्छु।”
जमिनका विषयमा कयौँ इजलास भैसकेका थिए तर आजसम्म जमिनको असली हकदार ठम्याउन कसैले सकेन। परिश्रम गरेर कमाएकाले अहिलेसम्म त्यस पाखो जमिन भक्ति प्रसादका जेठा छोरा भोलाले कमाई आएका थिए। घडेरीको हेरचाह पनि हुने भन्ने हेतुले भोला त्यही घरजम गरी आफ्ना परिवारकासाथ बस्दै आएका थिए।
यतिका दिनसम्म पनि बैकुण्ठेको पत्ता नलागेका कारण खोजी कार्य सुरु गर्न भक्तिप्रसादले अध्ययन गर्न सदरमुकाममा बसेका दुवै छोरालाई डाकेका थिए। उनीहरू गाउँ आएको तेस्रो दिन नबित्दै भोलाको घरमा बस्तुभाउ गर्न सघाउन बसेको राजवंशी केटो वीरेन्द्र साइकल गुडाउँदै आँगनमा देखा पर्यो। बिरे निक्कै आत्तिएको देखेर बाहिर दत्तिउन गर्दै गरेका भक्तिप्रसादले सोधे,
“एका बिहानै कसरी झुल्किस् ए बिरे? सबैलाई सन्चै त छ नि?”
“छैन बा!”, बिरेले आत्तिएर जवाफ दियो, “चार हल नारेर उसका छोराहरू सहित सुबेदी पाखो बारीमा मकै छर्दै छ।”
बिरेका खबरले भक्तिप्रसादको पारो तात्यो। बाजे-बराजुका धरोहरमा यसरी बैरीको आक्रमण देख्दा कसको होस ठेगानमा रहोस् र? हुन त जोतेर र छरेर नै जमिन हत्याउन त मिल्दैन तर पनि यतिका बल देखाउनु भनेको हेपेको चाहिँ अवश्य हो। आज चुप लागेर त्यही छरेको मकै भक्ति प्रसादले कमाउँदा पनि हुने हो तर भोलि समाजले आौंला ठड्याउने मौका पाउने भयो। त्यो कलङ्क लाग्नु भन्दा त आजै सुवेदीको होस ठेगान लाउनु बेस भनी दुवै छोरालाई तयार भई ‘हिँड’ भने। साइँलो तुलाराम त्यही बिरेको साइकल चढेर हानियो, कान्छो घनश्याम भने बाउलाई लिएर पछि लाग्यो।
उता जेठो भोला नाथ भने भाइहरू र बाउको बाटो हेर्दै थियो। साइँलो साइकल चढी आएको देख्ने बित्तिकै सिमलको लाठो लिएर सुवेदीका छोराहरू प्रति जाई लाग्यो। चार हल गोरुहरू हल छोडेर एकातिर लागे। त्यो घडेरी एकै क्षणमा युद्धभूमीमा परिणत भयो। भोलाले दिलकुमार सुबेदीलाई जगल्टामा समाएर मर्ने गरी पेटमा लात्ताले हान्यो। दिलकुमार रनथनिदै संघ्रौलाको तोरीबारी छेउको मल थुपारेको थुप्रोमा जाकिन पुग्यो। साहिँला तुलाराम त्यति बलिया त हैनन्। बिचरा सङ्गीतमा रुचि राख्ने गाई प्राणी देखेर लक्ष्मी प्रसाद कोदालोको विण लिएर जाई लाग्न के खोजेको थियो उताबाट कान्छो घनश्यामले जेठी भउजुको ‘ट्युब-वेल’ नजिकै राखेको मुङ्ग्रोको झटारो हान्यो। लक्ष्मी प्रसादको पानी पेट मास्तिर कोखामा यति मजाले लाग्यो कि कम्सेकम तीन ओटा करङ त टुक्रियो होला। मुर्छा परेर भुईँमा के ढलेको थियो साहिँलोले नजिकको गोबर ल्याएर मुखमा कोच्याईदियो। त्यो देखेर जेठा सुबेदी गोरु नार्ने हल्लुण बोकेर साँईलातिर फेरि जाईलागे, यता भोलाले उसलाई छिर्के लगाई त्यही माथि चित पारिदिए। सुवेदी बाबै के गर्ने होसै पाएनन्। माटो जमेको हात्ती छाप चप्पल बारीमै छोडेर उनी छेउको ‘ट्युब-वेल तिर रनथनिए। भक्तिप्रसादले हात छोडेनन् तर सुवेदीलाई सिमलको लाठो देखाउँदै चेतावनी दिँदै भने, “अबको पाँच मिनेटमा यो घडेरी छोडेनौ भने तिम्रा बाबैको बिहे देखाई दिन्छु, बुझ्यौ?”
यतिका हातपात हुँदासम्म पनि कुनै तर्फका हार मान्न चाहिरहेका थिएनन्। सुवेदी माइलो भने सबै भाइहरू मध्ये मस्सुर थियो। बाउको पछाडि दस हातको लाठो बोकेर सुरक्षा गरिरहेको थियो, भनौ मौका पनि हेरिरहेको थियो। उसले सोच्यो पोख्रेल बुढालाई चोट पुर्याए छोराहरूको आत्माबल घट्ने थियो। त्यसमाथि बुढाले सोझै आफ्ना पितालाई चुनौती दिएको देखेर उसको पहलमान मगजको रगत तातेर आयो र भन्यो, “अब तिमी चैँ संसार त्याग पोख्रेल बाजे।मर्ने बेलामा हरियो काँक्रो।”, यति भनेर भीमसेन भक्तिप्रसाद तिर जाईलाग्यो।
भीमसेनले पोख्रेल बाजेको कोटको कलर समाउन खोजेको मात्रै के थियो, दह्रो बाघे झापूको आवाज पाखोबारी भरि गुन्जियो। भिनसेन सुवेदी आफ्नै दस हातको लाठीको सिरान लगाई आलीमा चित पर्यो। भक्तिप्रसाद अमच्म मान्दै पछाडि फर्किएर हेरे। उनलाई आफ्नै आँखाको भरोसा लागेन। पछाडि अग्लो हट्टा-कट्टा दुई जोर्नी पाखुरा भएको नौजवान फौजीको पोसाकमा खडा थियो। घुँडासम्म आउने कालो छालाको बुटभित्र सुरुवाल घुसारेको थियो। त्यसमाथिको सुरुवालको भाग भने दुई पाथी धान अटाउने खल्ती भएका थिए। कम्मरमा कालो पेटी अनि टाटे-पाङ्ग्रे फौजी कमिजमाथि हरियो स्विटर लगाएको। कपाल भने टाउकाको बिच भागमा मात्रै राखेर कानका छेउ खौरिएको। चम्किला आँखा र नाकको मुन्तिर बाक्लो कालो जुँगा।
बैकुण्ठेको रूप र आकृति देखेर भक्ति प्रसाद दङ्ग परे। बैकुण्ठेले भक्ति पोख्रेलसँग आँखा जुधाउन सकेन तर जुँङ्गामा ताउ लगाउँदै अर्कालाई बटारेर पछार्यो र भाइलाई अँगालो हालेर पाखो बारी बाहिर आयो। बैकुण्ठेको अचानक आगमन देखेर साह्रा गाउँ चकित भए। भक्तिप्रसाद केही बोलेनन् तर सुवेदीलाई मुखभरिको जवाफ दिएर फेरि कहिल्यै यस्तो गल्ती नगर्नु भनी चेतावनी दिए। भक्तिप्रसादको सबैभन्दा खुसीको पोको थियो बैकुण्ठे। त्यही छोरो सबै भन्दा दु:खको कारण बनेको थियो आज त्यही खुसीको मौका बनी आएको थियो। भित्र भित्र जति नै खुसी भए पनि स्वभावानुसार बैकुण्ठेलाई ध्यान नदिए जस्तो गरे र सबै गाउँले र रमितेहरूलाई आ-आफ्नो घर जान आग्रह गरे। बिरेले भक्ति प्रसादलाई सम्झाए झैँ गरी भन्यो, “बा वैकुण्ठ दाइ!”
“अँ अँ! देखे तेरो बैकुण्ठे दाइ। मोटो जुँगा पाल्दैमा कोही पहलमान हुँदैन। घर लिएर’आ त्यसलाई।”
बिरेले खुसी हुँदै “हवस्” भन्यो र एकातिर लाग्यो।
भक्तिप्रसाद आफ्नो खुसी लुकाउने प्रयास गर्दै कान्छोलाई हप्किदप्कि गर्न लागे, “घने, ए घने, खै मेरो एउटा जुत्ता कहाँ पर्यो खोज खोज? तेरी आमा भात पस्किएर पर्खिरा’ होली। भोलालाई पनि लिएर’आ।”
भाइहरूको एकता देखेर भक्तिप्रसादको गोडा भैंमा थिएन। त्यो भन्दा घेरै खुसी उनी यसकारण थिए की आज बैकुण्ठे फर्किएर आएको थियो। सबैभन्दा पहिला यो खुसीको खबर पार्वतीलाई आफैँ सुनाउन चाहन्थेँ। बाहिर केही बोलिरहेका थिएनन् तर सबैभन्दा पहिले घर पुग्ने योजना बनाउँदै थिए। उनी घरतिर लम्कँदै पनि थिए र मनमा कुराहरू पनि खेलाउँदै थिए, “गोरु जस्तै बुद्धि थियो, साँढे झैँ बलियो भएर आएछ। फौजीमा भर्ती हुन बुद्धि चाहिँदो रहेनछ। अब म पनि हेर्छु घर छोडेर कसरी जाँदो रहेछ यो मुर्चले।”