मनाङ नियात्रा —सात: झनै माथि पुगेर संसारलाई हेरूँजस्तो
भिष्म उप्रेती
काठमाण्डौ नेपाल
विहान चार बजे उठ्ने सल्लाह भएको थियो हिजो तर जाडो असाध्यै धेरै भएकाले उठ्न मनै लागेन । फेरि होटेलभरि विदेशी पर्यटकहरू रहेका र पहिला उनीहरूलाई ब्रेकफाष्ट गराउने जानकारी पाएकाले पनि यस्तो जाडोमा उठेर सास्ती पाउनुको अर्थ पनि देखिनँ । मनभरि उत्सुकता थियो आजको यात्राको । यस यात्राको सबैभन्दा उत्कर्षानन्दलाई अनुभूत गर्ने तयारीमा थियौँ हामी । यात्राभरिको सबैभन्दा उचाइमा रहेको थोराङला पास हुँदै अघि बढ्दै थियौँ आज । यस्तो उत्सुकताबीच पनि उठेर यात्राको लागि तयार भइहाल्ने जाँगरलाई जाडोको निरन्तर आक्रमणले उठ्न नदिएर ओछ्यानमै लम्पसार भइरहन विवश पारिरहेको थियो ।
सवा चार बजेतिर माइलादाइ काठामै आइपुग्नुभयो बोलाउन । श्रीओमजी, मणि, ठाकुरजी र म चारै जना ज-याकजुरूक उठ्यौँ चिसोसँग पौँठेजारी खेल्दै । हतारहतारमा सबै काम सकेर झोला बोक्तै लौरो टेकेर डाइनिङ रूममा पुग्यौँ ।
विदेशीहरूको एउटा समूह थोराङला पासतिरको यात्रामा निस्किसकेछ ।
हामीले तातो रारा चाउचाउ र त्यसको सुप खायौँ । डाक्टरसा’बले हिजै बेलुकी दिनुभएको सल्लाह अनुसार उचाइमा लेक लाग्नबाट जोगिन लसुन मिसाएको पानी, जुस, विभिन्न क्याडबरी चकलेटहरू तथा चुइगम समेत छुट्टै झोलामा बाटोमा झिक्न सजिलो हुने गरी बोक्यौँ । हाम्रो आत्मबललाई अझ बलियो बनाउन लेक लाग्नबाट बचाउने औषधी पनि आधाआधा चक्की खायौँ । यसरी हामी मानसिक, शारीरिक एवं सम्पूर्ण रूपले यात्राको लागि तयार भयौँ ।
बिहानको पाँच बज्नै लाग्दा आ–आफ्नो झोलालाई पिठ्यूँमा चढाएर लौरो टेक्तै टर्च लाइटको मधुरो उज्यालोलाई आँखामा टाँगेर बाटोमा निस्कियौँ । उकालोतिर पाइला राख्नु ठीक अघि मैले मनमनै पर्वतराजलाई प्रणाम गरेँ र मेरो आरोहणलाई सहजै स्वीकार गर्न आग्रह गरेँ ।
उकालोतिरको यात्रा शुरु भइसकेको थियो । यस्तो उच्च उचाइमा सास धेरै बढ्ने गरी छिटोछिटो हिँड्दा विरामी होइने रहेछ । त्यसैले हामीलाई सास धेरै बढ्ने गरी छिटो नहिँड्न भनिएको थियो । सबै साथीहरू समूहमै हिँड्ने सल्लाह पनि भएको थियो । यसै सल्लाह अनुसार शुरुशुरुमा केही बेरसम्म सँगसँगै हिँड्न प्रयत्न ग-यौँ । तर केही साथीहरू असाध्यै ढिलो हिँड्न थालेपछि आफ्नो स्वाभाविक गतिलाई धेरै घटाएर हिँड्दा गाह्रो हुन थाल्यो हामीलाई । त्यसैले बाबाजी, मणि, ठाकुरजी र म अघि बढ्यौँ आफ्नै गतिमा ।
बाटो एकदम ठाडो उकालो थियो । उकालो ज्यादै बलियो र कडा थियो । यस्तोमा बेलामा उभिँदा जाडो बढ्ने र हिँड्दा सास बढेर जाने भएकोले ज्यादै सन्तुलन मिलाएर हिँड्नुपर्ने रहेछ । दुईचार कदम हिँडेपछि मुख सुकिहाल्थ्यो । त्यसैले लसुनपानी र जुस पिउँदै हिँड्न थाल्यौँ । बेलाबेलामा आफूले बोकेको मार्स चकलेट टोक्तै पनि थिएँ । यसले केही तागत थप्थ्यो । अरूबेला चुइगम चपाइरहन्थेँ ।
आकासमा जून झलमल्ल लागेको थियो । ताराहरू चम्चमाइरहेका थिए । तिनीहरू ज्यादै नजिकै छन् र झन्झन् नजिक आइरहेछन् जस्तो भान परिरहेको थियो । चार हजार पाँच सय मिटरभन्दा माथिको उचाइमा चढ्दै थियौँ हामी । जतिजति माथि जाँदै थियौँ त्यतित्यति नै जूनतारा नजिकिँदै आउँदै थिए, त्यतित्यति नै उत्तेजना र उत्सुकता पनि बढिरहेका थिए । अर्कोतिर, ‘लेक लागिहाल्ने पो हो कि !’ भन्ने डरको एउटा त्यान्द्रो पनि झुण्डेर सँगसँगै आइरहेको थियो ।
साथीहरूमध्ये विशेषतः साम्बजी र श्रीओमजी निकै पछि परिसक्नुभएको थियो । डाक्टरसा’ब र माइलादाइ उहाँहरूसँगै भएकोले हामी त्यति पिरिएका थिएनौँ । साम्बजीलाई सजिलो होस् भनेर बाबाजीले हार्दिकतासाथ उहाँको झोला बोकिदिने प्रस्ताव गर्नुभयो । तर साम्बजी मान्दै मान्नुभएन । जसरी भए पनि आफ्नो झोला आफैँ बोक्छु भनिरहनुभयो । उहाँले आफूलाई हिँड्न नसक्ने भनेर उडाएकोजस्तो अर्थमा लिनुभयो भनेर बाबाजीले चित्त दुखाउनु पनि भयो । मणि र मैँले बाबाजीलाई सम्झायौँ । गोविन्दजीले भने हिजो हिँड्न गाह्रो भएकोले आजलाई कुनै जोखिम उठाउन चाहनुभएन र एउटा घोडा भाडामा लिनुभयो ।
लगभग एक घण्टा उकालो उक्लेपछि हामी थोराङ हाइटमा आइपुग्यौँ । यहाँ पनि होटेल र रेष्टुरेन्टहरू रहेछन् । यिनमा पनि पर्यटकहरू टन्नै भरिएका छन् भन्थे होटेलका कर्मचारीहरू । दस मिनेट जति हामी थोराङ हाइटमा उभियौँ । एकै ठाउँ स्थिर भएर उभिँदा जाडोले हानेर बिजोगै हुन्थ्यो । त्यसैले यताउता गर्दै बितायौँ । साथीहरू आइपुगे । उनीहरूले पनि यहाँ एकछिन उभिन चाहेपछि हामी चाहिँ हिँड्यौँ ।
यतिन्जेलसम्ममा वातावरण निकै उज्यालो भइसकेको थियो । अब टर्चलाइटको आवश्यकता थिएन । हामी मिर्मिरे विहानीलाई समाएर हिँड्न थाल्यौँ । बाटो केहीबेर तेर्सो भयो र फेरि उकालो चढ्न थाल्यो । अब भने हिउँ बाटोसम्म नै आइपुगेको भेटिन थाल्यो । मैले हिउँमा मणिको नाम लेखेँ र उसलाई देखाएँ । ऊ ज्यादै खुशीले उफ्रियो । उसको खुशी देखेर मलाई पनि ज्यादै आनन्द लाग्यो ।
बाटोमा थोराङला पास काटेर पारि जान हिँड्नेहरूको ठूलो ताँती देखिन थाल्यो । अधिकांश विदेशीहरू देखिन्थे कहाँकहाँबाट यो हिमाली पदयात्राको आनन्द लिन आएका । विदेशीहरूको ठूलो लर्को उकालोतिर हिँडिरहेको देख्ता ढिलै भए पनि आपूm यस यात्रामा आउन पाएकोमा एकदम खुशी लाग्यो । मैले एक्याप र रमेशलाई यो अवसरका लागि फेरि एकपल्ट धन्यवाद भनेँ मनमनै । विदेशीहरूका बीचबीचमा फाट्टफुट्ट उनीहरूका पथप्रदर्शक र भरियाका रूपमा हिँडिरहेका नेपालीहरू पनि देखिन्थे । यहाँ रङहरूको मिश्रण भएर इन्द्रेणी बनेको थियो र नीलो आकासमुनि सेतो हिउँको तन्नामाथि सल्बलाइरहेको इन्द्रेणी ज्यादै सुन्दर देखिन्थ्यो ।
पदयात्रामा यसरी यात्रुहरूको ठूलो लस्कर भेटेपछि रमाइलो ह्वात्तै बढेर जाँदो रहेछ र हिँड्ने एवं सजिलै लक्ष्यमा पुगिने आत्मविश्वास पनि चुलिँदो रहेछ ।
हामी उकालो चढ्दै गयौँ । जतिजति उकालोतिर जाँदै थियौँ त्यतित्यति नै हिउँको ज्याकेट र हिउँकै टोपी लगाएका हिमालहरू होचा हुँदै गएका थिए । आकासका ताराहरू पनि धर्तीतर्पैm ओर्लिरहेका र एकैछिनमा हात लम्काउँदा भेटिन्छन् झैँ लाग्थे । क्या रमाइलो !
हिउँको बीचमा हिँडिरहँदा उकालो उक्लँदा पनि ज्यादै चिसो अनुभूत भइरहेको थियो । बाक्लो पञ्जा लगाएको हातलाई समेत चिसोले नराम्रोसँग अँठ्याएको थियो । पिउँदै गरेको जूसको बट्टा समेत समाउन गाह्रो भइरहेको थियो । यस्तैमा पनि हामीले हिउँकै बीचमा उभिएर केही फोटाहरू खिच्यौँ । क्यामरा चलाउनु पनि सजिलो थिएन तर मन लागेपछि त कसको के लाग्छ र ?
डाँडापारिबाट बिस्तारै घाम झ¥यो धर्तीमा । घामको उज्यालोले धोइएको हिउँ झनै चम्किलो र निख्खर देखिन थाल्यो । घाम पूर्वी आकासबाट जतिजति माथि सर्दै आयो चिसो त्यतित्यति नै कम भएको आभास हुन थाल्यो ।
मैले माथि पुगेपछि पछाडि फर्केर हेरेँ । साम्बजी लगायत केही साथीहरू ज्यादै पछाडि छाडिनुभएको थियो । उहाँहरू मानौँ हिँडिरहनुभएको थिएन, घस्रिरहनुभएको थियो । यात्राको पहिलो दिनदेखि नै अघिअघि सँगसँगै हिँडेका मणि र ठाकुरजी पनि अहिले पछाडि नै छाडिएका थिए । यसैबेला किरणजी पनि आइपुग्नुभयो र हामी सँगसँगै हिँड्न थाल्यौँ । बरू उज्ज्वलजी र यज्ञजी हिँडिरहनुभएको थियो आज मज्जैसँग ।
घाम झलमल्ल भएपछि मैले एकाएक कालो चश्माको महत्व बुझेँ । सबै यात्रीहरूले कालो चश्मा लगाएका थिए घामको किरणबाट आँखालाई जोगाउन । मसँग भने चश्मा थिएन । जीवनमा कहिल्यै चश्मा लगाउने रहर लागेन मलाई तर यहाँ घामको उज्यालो किरण हिउँमा ठोक्किएर सीधै आँखामा आउँदो रहेछ । आँखा त खोल्नै नसकिने । म आँखालाई अलिअलि खोलेर तल भुइँतिर मात्र हेर्दै अगाडि बढ्न थालेँ । आँखाको दृष्टिशक्तिमा खराबी उत्पन्न हुने हो कि भन्ने चिन्ताले खान थाल्यो । जीवनमा पहिलोपल्ट चश्माको आवश्कता बोध भयो र लगाउने चाहना पनि ।
अर्कोपल्टदेखि हिमाली पदयात्रामा निस्कँदा साथमा चश्मा छुटाउने छैनँ ।
आँखालाई आधा मात्रै खुला राखेर बिस्तारै हिँड्दै गर्दा यसै माथितिर हेरेको त मानिसहरूको ठूलो झुण्ड देखा प-यो । मानिसहरू नाचिरहेका, हात मिलाइरहेका, गला लगाइरहेका र फोटाहरू खिचिरहेका देखिन्थे । अहो ! यस यात्राको चरम उत्कर्ष त्यो, शिखर त्यो, आकर्षणको केन्द्र त्यो । हामीलाई विगत आठ दिनदेखि जत्ति नै थाके पनि निरन्तर हिँड्न प्रेरित गरिरहने प्रेरणापुञ्ज त्यो । त्यो थोराङला पास – मनाङ र मुस्ताङ जिल्लाको सिमाना । खुरुर्र दगुरेर त्यहाँ पुगिहाल्न चाह्यो मनले । भावना भरिएको मात्र होइन, छताछुल्ल भएर पोखिन थाल्यो बाटैमा । आवेग र उत्तेजना बढेर उडूँउडूँजस्तो हुन थाल्यो । आँखा खोल्न कठिन भइरहे तापनि गोडाहरू चाँडोचाँडो हिँड्न थाले । मन त दगुरिहाल्यो ।
‘थोराङला पास ५४१६ मिटर’ थोराङला पासको उचाइमा निर्मित स्तम्भमा लेखिएको थियो । स्तम्भलाई ध्वजापताका र खादाले छपक्कै छोपेका थिए । लामाहरूको विश्वास यहाँ पनि चुलिएको थियो । हामीसँग पर्वतराजलाई पूजा गर्ने संस्कार छ, उचाइलाई पूजा गर्ने संस्कार छ, आकास र पानीलाई पूजा गर्ने संस्कार छ । संस्कारको प्रतिनिधित्व कति राम्ररी भएको थियो यहाँ पनि ।
मानिसहरू फोटाहरू खिचिरहेका थिए त्यो स्तम्भसँगै उभिएर । बाबाजीले फोटो खिचौँ भन्नुभयो । हामीले पनि फोटाहरू खिच्यौँ । विदेशीहरू पनि खिच्दै थिए । एउटी गोरी तरुनीले भनिहाली – “आउनोस् न, तपाईं पनि हामीसँग फोटो खिच्न ।”
म पनि मिसिएँ त्यो समूहमा र फोटो खिचेँ । खुशी बाँड्नलाई मान्छेहरू चिन्नु नै किन प-यो र ! चिनजान त दुःख साँट्नलाई पो चाहिन्छ त । त्यहाँ जोसुकैले जोसुकैलाई बधाई दिइरहेका थिए । मैले पनि केही बधाईहरू थापेँ र केही बधाईहरू बाँडेँ पनि ।
थोराङला पासमा सानो कफी सप पनि रहेछ । हामीले त्यो चिसोमा तातो कफी पियौँ । महङ्गो थियो तर यति उचाइमा पैसाभन्दा पनि सेवा पाउनु नै महत्वपूर्ण कुरा हो ।
मणि, ठाकुरजी र अरू केही साथीहरू आइपुग्नु भयो । फेरि एकपल्ट आनन्द, उत्तेजनाले भिज्ने र भिजाउने क्रम शुरु भयो । फेरि फोटो सेसन चल्यो । फेरि बधाईको साटासाट चल्यो ।
थोराङला पास सँगै जोडिएका केही सेता हिमालहरू अभैm केही अग्ला देखिन्थे । मलाई तिनलाई पनि आरोहण गरूँ र झनै माथि पुगेर संसारलाई हेरूँजस्तो लाग्यो । केही कदम माथि चढेँ पनि तर यो हठ व्यवहारिक थिएन । न बाटो थियो त्यहाँ न हिमाल चढ्न चाहिने कुनै औजार नै । म पुनः फर्केँ ।
“यहाँ धेरै लामो समसयम्म बस्नु हुँदैन स्वासप्रस्वासमा समस्या हुन्छ ।” किरणजीले भन्नुभयो । हामी यहाँ आएको निकै बेर भइसकेको थियो । रमाउन पुगेकै थिएन, उत्सव मनाउन पुगेकै थिएन, खुशीले हिउँभरि पोखिएर बग्न पुगेकै थिएन । मणिले भन्यो – “जानुभन्दा पहिला कविगोष्ठी गर्नुपर्छ । अविष्मरणीय र ऐतिहासिक हुन्छ यो ।”
“तुल खोइ त ?” सोधेँ ।
“रमेशसँग छ ।” रमेश आइपुगेको थिएन ।
“म चाहिँ कविता सुनाएर तल झर्छु है त ।” मैले भनेँ र कविता सुनाएँ ।
विदेशीहरूले पनि सुने कविता । हामीहरू कवितायात्रामा छौँ भन्ने जानेपछि उनीहरू झन् खुशी भए । जीवनमा कहिल्यै कल्पना पनि गरेका थिएनन् होला यति उचाइको निर्जन हिमालमा पुगेर कविता सुन्न पाइने कुरा उनीहरूले । र, मैले पनि यसरी यति उचाइमा कविता पढुँला भनेर न सपनामा, न त कल्पनामा नै कहिल्यै सोचेकै थिइनँ । त्यसैले पनि खुशीको सिमाना थिएन ।
एक हुल विदेशीले हामीसँग फेरि फोटो खिचे । यसपालि उनीहरूले नेपाली पदयात्रीसँग होइन, नेपाली कविहरूसँग फोटो खिचेका थिए ।
थोराङलालाई छोड्नु अघि मैले आँखा बन्द गरेँ र त्यत्तिकै उभिएँ केही क्षण । म थोराङला पासको अप्रतीम आनन्द तथा यो सिङ्गै यात्रालाई नै पूर्ण रूपले आत्मसात गर्न चाहन्थेँ तर यसो गर्दा पनि मथिङ्गलमा अनेक विचारहरू आइरहने रहेछन् । यात्राका आफ्ना हरेक पाइला, अनुभव र कमीकमजोरीहरूलाई सम्झन थालेँ । लाग्यो – जीवनमा मायाको ठूलो अर्थ छ । आपूmले आपूmलाई माया गर्न जान्नु ठूलो उपलब्धि हो । आफैँलाई माया गर्न नजान्नेले अरूलाई पनि माया गर्न जान्दैन । मान्छेले सबैभन्दा पहिला आफैँलाई माया गर्न जान्नु र सक्नुपर्छ । यो यात्रामा थाकेर लोथ हुँदा, अप्ठ्यारोमा पर्दा कतिपल्ट आफैँलाई माया गरेँ । छोएँ आफैँलाई, उधारेर हेरेँ र ठाउँठाउँमा टाल्नुपर्ने, सच्याउनुपर्ने ठाउँहरू पनि देखेँ । यसैगरी, आफ्नाहरूलाई पनि सम्झेँ कतिपल्ट र मलाई यो अवस्थामा आइपुग्न विभिन्न ठाउँहरूबाट विभिन्न रूपले योगदान गर्ने सबैप्रति कृतज्ञ भएँ ।
आफूलाई माया गर्नु भनेको आफ्ना गल्तीहरूलाई, कमजोरीहरूलाई पहिल्याएर सच्याउँदै जानु नै हो ।
“अब जाने कि ?” बाबाजीले सोध्नुभयो ।
“एकछिन अझै बसौँ न ।” भनेँ ।
उहाँले केही भन्नुभएन ।
थोराङला पासबाट पछाडि फर्केर हेर्दा पनि मानिसहरूको ठूलो लश्कर आइरहेको थियो तलबाट । सम्झेँ – हिजोअस्ति र झन् अस्ति यसरी नै कति हिँडे होलान् यो बाटोमा । भर्खरै हामी पनि त्यही बाटो हुँदै आयौँ । हेरेँ तलतिर हामी जानुपर्ने बाटोमा पनि । केही मानिसहरू ओरालो पनि झरिरहेका थिए । अब केही बेरपछि हामी पनि झर्नेछौँ । त्यसपछि अरूहरू, अनि अरूहरू र फेरि अरूहरू झर्नेछन् । यो उकालो चढ्नु र ओरालो झर्नु पनि वास्तवमा निरन्तरता मात्र रहेछ ।
डायरी निकालेँ र पुनः एकपल्ट सर्सर्ती लेखेँ –
यतिका वर्षसम्म
निरन्तर हिँडिरहँदा पनि
कहिल्यै आफ्नो हुन सकेन
आपूm हिँडिरहेको बाटो ।
जहिले पनि
आफ्नो भन्नु त केवल
यात्रा मात्रै रहेछ ।
थोराङला पासमा उभिएको यो क्षण यस सम्पूर्ण यात्राको उत्कर्ष हो । उकालोतिरको यात्राको अन्तिम विसौनी हो यो । विगत आठ दिनदेखि यहीँसम्म आइपुग्ने उत्सुकता, उत्कण्ठा र उत्तेजना बोकेर हिँडेका थियौँ हामी । कसैले सोद्धा पनि भन्थ्यौँ – “थोराङला पासको यात्रामा हिँडेको ।” अब यो ठाउँमा आएर उभिएको केही बेरपछि ती सबै उत्तेजना, आवेग र उत्कण्ठाहरू जमेर, सेलाएर यहीँको हिउँजस्तै बनेका थिए र हामी क्रमशः शिथिल भइरहेका थियौँ । उत्सुकता, आवेश र उत्तेजना सकिएपछि एकाएक थकाइ लाग्दो रहेछ, शरीर गल्दो रहेछ । यात्राका बीचबीचमा पनि कतिपल्ट थाकेका थियौँ, तर थकाइ लागेको थिएन । यो यात्रामा पहिलोपल्ट साँच्चिकै थाकेको महसुस गरेँ अहिले उकालो सकिएर ओरालो झर्ने बेलामा । तल कहाँ हो कहाँ आँखाले देखुन्जेलको भाग ओरालो थियो, उत्सुकता र आवेगबिनाको निरस थियो । तर अहिलेसम्मको यात्राले दिएका अनुभवहरू, घटनावृत्तहरू, दृश्यहरू एवं मानिसहरूसँगको संवादबाट प्राप्त ज्ञानका उज्यालाहरूले बाँकी यात्रालाई अँध्यारो हुनबाट जोगाउने नै छन् । थाकेर गति ढिलै भयो भने पनि त्यही उज्यालो बालेर बाटो पहिल्याउन सकिनेछ जसबाट टुङ्गोमा पुग्न मद्दत मिल्नेछ ।
जीवनमा पनि यस्तै हुन्छ होला । उत्तराद्र्ध उत्साहहीन, उत्तेजनाहीन, थकित, एक्लो र क्लान्त हुन्छ होला । एक वर्ष अघि मात्र चालीस वर्षको उमेर नाघेको थिएँ । अब क्रमशः उत्तराद्र्धतिरको यात्रामा उन्मुख हुने बेला हुन लागेको थियो । अहिले सम्झँदा जीउ सिरिङ्ग भएर आयो । तर यस यात्रामा जस्तै जीवनको पूर्वाद्धमा जम्मा गरिएका शीप, अनुभव, ठक्करहरू एवं ज्ञानले जीवनको उत्तराद्र्धलाई पनि अँध्यारो हुनबाट जोगाउने नै छन् र अझ बढी व्यवस्थित, सन्तुलित तथा सफलता हात पार्न सहयोगी हुनेछन् भन्ने पनि सोचेँ । यति सोचिसकेपछि जीवनको उत्तराद्र्धलाई सहर्ष स्वीकार्ने र रमणीय बनाउने आँट एवं भरोसा बढेर आयो ।
म एकपल्ट आफैँभित्र मुस्कुराएँ । त्यसपछि बाबाजी र म झर्न थाल्यौँ ओरालो बाटो निरन्तर ।