मनु मञ्जील

पुरानाघरे / कन्सास, अमेरिका

फूलमा झ्यामीएर झुत्तिरहेको
भँमराले भन्दा ज्यादा
कविताको थुँगोमा
कलम चोबेर स्वाद लिने
‘एडीक’ हुन् मनु मञ्जील

सुनामीभन्दा ज्यादा
आँधीको आवेग उरालेर
देवकोटाको चिल्लो तालुमा
आधुनिकताका रौं उमारेर
साहित्यको जंगल बनाउने
एक्लो,
एउटा फ्याक्ट्री हुन् मनु मञ्जील

अनिदा आँखा
हातकडी जेलिएको कलम
समुद्रझैं शान्त चेहरा
पहाड जत्तिकै रमणीय उचाइ
वाँणीझैं मीठो भाषा लिई
बन्दुकको रासमाथि उभिएर
अबोध बालबालिकाहरूलाई
फिनोइक्स, आकाशगंगा र फूलहरूका
कथा सुनाउने
ईश्वरको परञ्जय हुन् मनु मञ्जील,
साँच्चै भन्नु पर्दा
कविताको एपोलो हुन् मनु मञ्जील,
जसले-
साहित्यको शिखर चड्ने
सबैलाई शिशिफस् बनाउन
“आँधीको आवेग”
एउटा पहाड बनाएका छन्

कविताको संसार बनाउन
इलामबाट झरेका भगवान
कवि कृष्ण भूषणको डाकमा
“भोलि बास्ने बिहान” बासेपछि
बल्ल झुल्किएको
बिहानीको लोभलाग्दो घाम
हो, हामीले तापीरहेको प्रहर हुन् उनी

चन्द्रमा छुन हिँडेका देवकोटाले
बेबीलनको फूलबारीमा
घोषणा गरेको सदाबहार हुन् उनी
यो देशको टाउकोमा ओस परेको बेला
छातीमा खडेरी हुर्हुराएको बेला
उनी त बाह्रमासे पो हुँ भन्छन् !

साँच्ची नै उनी त,
नेपाली कविताका लागि
स्वर्गबाट आगो चोरी,
भागेर पृथ्वी पसेको
प्रमीथस पछ्याउँदै आएका
देवदूत पो हुन् कि ?

उनको बोलीमा
कवितालाई सगरमाथासम्म हाँक्ने
शालीनता उर्लिरहेको हुन्छ,
उनको जिब्रो त झन्
मान्छेको गलामा
नझुन्डीई रहनै सक्तैन,
मान्छे त आरिसमात्र गर्न सक्छ
ईश्वरसम्म डाहा गरिरहेछ,
होस गरौं साथीहरू हो,
“आँधीको आवेग”मा ठोकीएर
इटाको जंगलबाट
मनु मञ्जील चोरीन सक्छन् !!!


प्रलयाग्निको संघार कवितासङ्ग्रहबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *