महानन्द नदीदेखि वासिङ्टनसम्म

देवी पोखरेल,
दक्षिण अष्ट्रेलिया

विवेकले मलाई फेसबुकको च्याटमा, “हे वाज अप” भन्दै सम्बोधन गर्यो। म अचम्मित हुँदै, “आइ एम गुड” को जवाफ दिएँ। उसले मलाई प्राय अंग्रेजीमै साधारण गफगाफका एक अर्का प्रश्नहरु सोध्दै जवाफको अपेक्षा गरिरहयो। मलाई उसको अङ्ग्रेजी शैली सुनेर खुसी र अचम्म लाग्यो। तर मैँले विवेकलाई उसको र उसकी दिदीको पूरा हालखबर सोध्न नपाउँदै अफलाइन भइगयो। ऊसँग अरु समयमा पनि भेट त भयो तर कुराकानी कहिल्यै पूरा हुन पाएको थिएन।

विवेकलाई म ऊ सानै छँदा देखि नै जान्दछु। तर मैँलेपछि मात्र थाहा पाएँ, उसको जन्म भारतको सिलिगुडीमा भएको रहेछ। मैँले विवेकलाई उसकी हजुरआमा खस्दा भूटानी शरणार्थी शिविर बेलडाँगी-२ मा काखको दुधे बालक देखेको थिएँ। त्यसबेला विवेककी दिदी मोनिका ढेड वर्षकी थिइ। उसको बाबु अर्जुन १९८५ तिरै उसकी पहिली श्रीमती धनमायालाई छोडेर भूटानदेखि नै लापता भएको थियो। अर्जुनका बाबु-आमा र दाजुहरु १९९२ मा भूटान छोडेर शरणार्थीको रुपमा पूर्वी नेपालको कन्काई नदीको किनारमा बस्दा खोई कताबाट हो उनीहरुले अर्जन सिलिगुडी-जयगाउँको बस चलाउँछ रे भन्ने खबर पाएका थिए र उनीहरु त्यसैमा ढुक्क थिए। पछि कन्काईबाट सबै शरणार्थीहरु बेलडाँगी ल्याईंदा अर्जुनका बाबु-आमा र दाजुहरु पनि बेलडाँगी सारिए। त्यसको तीन वर्ष पछि उसकी आमाको देहान्त भयो र उसलाई सिलिगुडीको कुना कुना खोजेर ल्याइएको थियो। त्यसबेला सिलिगुडीको चम्पासरिमा अर्जुनलाई श्रीमती मुना, डेढ वर्षकी छोरी मोनिका र ६ महिने छोरो विवेकसँग एउटा सानो झुपडीमा दु:ख लाग्दो अवस्थामा भेटिएको थियो। उसले मुनालाई बिहे गरेको र ती स-साना बालबच्चा भएको कुरा भने कसैलाई थाहा थिएन। यो कुरा अनि ऊ बसमा चालक हैन सह-चालकको काम गर्ने आफन्तहरु उसलाई लिन जाँदा मात्र थाहा भएको थियो।

उता धनमाया भने अर्जुन आउँछ भनेर प्रतिक्षा गर्दै भूटानबाट आएर गोल्धाप शिविरमा आमा र बहिनीसँग बसेकी थिइन रे। अर्जुनको थाहा-पता नलागेपछि उसले पनि कोनि कोसँग हो बिहे गरिन् रे। तर मैले धनमायालाई कहिल्यै देखिनँ।

आमाको कृया सकेको तेह्र दिनपछि अर्जुन आफ्नो परिवार लिएर सिलिगुडी प्रस्थान गर्ने तयारी गर्न लाग्यो। त्यस बखत बुढा बाबुले उसका चाउरे गाला सुम्सुम्याउँदै र तुरुक्क आँशु बगाउँदै भने, ‘ हेर् नानी नजा अब तँ, मैँले तेरो पनि यहाँ सेन्सेसमा नाम उठाइदेकोछु। नानीहरुको पनि अब उठिहाल्छ, म पनि एक्लै भएँ अब यहीँ बस’। दाजुहरु र छर-छिमेकीले पनि बालाई समर्थन गर्दै अर्जुनको परिवारलाई शिविरमै बस्न आग्रह गरे। तर उसले वहाँ काम भएको र शिविरमा केही काम नहुने बहाना बनाउँदै उतै जाने ढिपी गर्यो। कसैको केही लागेन र आखिर जानेनै निर्णय गर्यो अनि मुनालाई विवेक च्याप्न अरायो र आफुले चाँहि झोला टाउकोमा बोक्दै मोनिकालाई च्याप्यो र विदाइको हात हल्लाउँदै बाटो लाग्यो।

चम्पासरिको झुपडीमा मोनिका र विवेक हुर्किदै थिए। तिनीहरुलाई त्यही झुपडी महल अनि संसार लाग्न थालिसकेको थियो। वरिपरि बस्ने आदिवासी र बङ्गालीका छोराछोरीसँग विस्तारै संगत बढ्ने क्रममा थियो। हेर्दा हेर्दै विवेक पाँच वर्ष पुग्यो भने मोनिका साढे सात। तर दुबैजना खानाको सन्तुलन नपुगेर होला खिनौटा देखिन्थे र समय समयमा उनीहरुलाई केके बिरामहरु लागिरहन्थे तर कहिल्यै अस्पताल र डाक्टर नदेखी ती बिरामहरु कहाँ पुग्थे कहाँ। बाबुको कमाईले अस्पताल, पोषिला खाना र राम्रा लुगा त पर जाउन् रोजको दुई छाक टार्न पनि धौ-धौ पर्दथ्यो। विचरा बसको सह-चालकको तनखा नै कति हुन्थ्यो र! फेरि बसको सह-चालक अलि-अलि त पिउनै पर्यो।

यतिकैमा मुनालाई साधारण ज्वरो आउँदै टाइफाइड हुनगयो। उसलाई साह्रो हुँदै गइरहेको थियो। मुनालाई त्यतिकै नानीहरुको भरमा छोडेर ड्युटी गएको बेला मुनाको प्राण पखेरु उड्यो। नानीहरु आमा निदाई भनेर खेल्न हिँडे। अर्जुन साँझमा फर्किदा मुनाको लाश मात्र भेट्यो।

केही दिनमै अर्जुन विवेक र मोनिकालाई लिएर महानन्द पुलमुनिका स-साना झुप्रामा सर्यो। ऊ बिहानै काममा हिँड्थ्यो। नानीहरु के खान्थे, कहाँ डुल्थे, कहाँ खेल्थे तर ऊ राति फर्किंदा चट्टी ओछ्याएर निन्द्रामा मस्त हुन्थे। बाबु र छोराछोरीको दिनचर्या यसरी नै सुरु हुन्थ्यो र यसरी नै अन्त्य हुन्थ्यो। सिलिगुडीका ठुल्ठुला स्कूल, गाडी, लुगा र मीठा-मीठा परिकारहरु त विवेक र मोनिकालाई सपनाका विषय मात्र हुन्थे।

यता शरणार्थी शिविरमा यु एन एच सि आर र नेपाल सरकारले मिलेर जनगणना गर्ने भन्ने हल्ला चल्न थाल्यो, नभन्दै सुरु पनि भइहाल्यो। सबै टाढा-टाढा बस्ने शरणार्थीहरु शिविरमा भेला हुन थाले। त्यही बेला मुनाको मृत्युपछि विविक र मोनिकाको बिजोग भएको कुरा पनि अर्जुनका दाजुहरुले थाहा पाए। उनीहरुले अर्जुन र नानीहरुलाई शिविरमै ल्याउने सल्लाह गरेर तिनीहरुलाई खोज्न जाने निर्णय गरे। यसो गर्दा नानीहरुले शिविरमा पढ्न पाउने र सबैजनाको सेन्सेस उठ्ने फाइदा हुने सबैले अर्जुनका दुवै दाजु कमल र हरिलाई सल्लाह दिए। एक-दुई जना जान्ने बुझ्नेलाई लिएर उनीहरु अर्जुन र नानीहरुलाई खोज्न भनी सिलिगुडी जानलाई एक दिन बिहानै बाङ्गेबाट काँकडभिट्टाको बस चढिहिँडे।

भोलिपल्ट नै अर्जुनको परिवार खोज्न गएको टोली तिनीहरुलाई लिएर शिविर फर्कियो। सिलिगुडीको गर्मी र गरिवीले तीनै जनालाई खाएर फुकिढल बनाएछ। तर विवेक र मोनिका ठूला-ठूला भईसकेका थिए। मोनिका दश र विवेक नौ वर्ष। अब नानीहरुको भविष्य राम्रो हुने कुराको सम्भावना सबैले देखे र उनीहरुले उज्वल भविष्यकोलागि चाँडै स्कूल भर्ना गरिदिनु पर्ने सल्लाह दिए जुन चाँहि विवेक र मोनिकाका ठुला बाबाहरुलाई उचित लाग्यो। त्यसका लागि बाबु अर्जुनको डि-रेजिस्टर भएको सेन्सेस उठाउनलाई ढिलो नगर्ने बरु उनीहरु भोलि नै आर सि यू कामा निवेदन दर्ता गर्नेमा निधो गरे। आर सि यूले नानीहरुको चाँडै उठ्ने तर बाबुले चाँहिले एक महिना खुरु-खुरु सहि लाउनु पर्ने बताएपछि भोलिपल्टदेखि नै अर्जुन सहि लाउन आउने पक्का गर्यो।

एक दिन, दुई दिन, तीन दिन गर्दै सहि लगाउँदै गयो अर्जुन। ऊ नौ बज्दा नबज्दा बेलडाँगी-२ को आर सि यू कार्यलयमा पुग्थ्यो र सहि खातामा थ्याप्ची लगाई सरासर घरमा जान्थ्यो। उता नानीहरु पनि स्कूल लागेकोमा ढुक्क थियो उ। तिनीहरुको प्रारम्भिक विद्यालयीय शिक्षाको जग नभएकाले गर्दा उमेर अलिक ठुलै पनि विवेकलाई पि पि र मोनिकालाई १ कक्षामा हालिदिइएको थियो। उनीहरु स्कूल जाँदै थिए भने अर्जुन सहि लाउने तारिख धाउँदै। तीनै जना अर्जुनका बाबुसँगै बस्दै थिए। नानीहरुको रासिन पाउन थालेको थियो तर बाबु चाहिँको भने सहि पूरा भएपछि मात्र दिइने अफिसबाट पत्र पाएको थियो।

पन्ध्रौं दिनको सहि लगाएर दमक बजार गई नानीहरुलाई लुगा कपडा ल्यादिन्छु भनेर हिँडेको अर्जुन सातैवटा शरणार्थी शिविरको जनगणना सकिँदा पनि आएन। मोनिका र विवेक अलमल्ल परे। बाबुले लुगा किनेर ल्यादिन्छ भन्ने आशमा बसिरहे विचाराहरु। तर उनीहरुका ठूला बाबाहरु र छर-छिमेकी भएर दुई चार जोर लुगाको भने व्यवस्था मिलाई दिएका थिए।सबैले अर्जुनलाई निष्ठुरी, अव्यवाहरिक र गैरजिम्मेवार व्यक्तिको संज्ञा दिए। नानीहरु भने हजुरबासँगै बसेर दिनैपिच्छे जोस-जाँगरकासाथ स्कूल जान्थे।छुट्टि भएर आएपछि हजुरबालाई पानी भर्न र घरको सानातिना धन्धा सघाउँथे र रात परेपछि लालटिन बालेर होमवर्क गर्न बस्थे। त्यसो त मोनिका बिहान बेलुकाको खाना पनि पकाउन थालिसकेकी थिई। तिनीहरुसँग वरिपरिका केटाकेटीसँग घुलमिल् हुने कला पनि भएकै हो। विवेकले आफ्नै दमालेहरुलाई साथी बनाइसकेको थियो भने मोनिकाले पनि त्यस्तै। विवेकले त झन् उसका ठुलाबाबालाई बेला मौकामा झुक्याएर शिविरका छाप्राका बिच-बिचबाट कुदाउँदा कुदाउँदै साइकल हाँक्न सक्ने भएको थियो। कहिले काहीँ हजुरबाले पठाउँदा हाफ पाइडलदेखि साइकल हाँक्दै बाङ्गे गएर सागसमेत किनेर ल्याउँथ्यो। कति वर्षपछि विचरा तिनीहरुले शिविरमै भए पनि त्यस सालको दशैं र तिहार खुब रमाएर मनाए। कसैले बाबु खोइ भनेर सोधे भने ओठ लेप्राएर ‘कोनि’ को संकेत गर्थे। हुँदाहुँदै विवेक दुई कक्षामा पुग्यो र मोनिका तीनमा।

त्यही सालदेखि नै दमकमा आइ ओ एमले आफ्नो कार्यलय खोलेर भूटानी शरणार्थीहरुलाई तेस्रो मुलुक पुनर्स्थापनाको काम सुरु गर्यो। धेरै शरणार्थीले त्यसकालागि भटाभट फारम भर्न थाले र अमेरिका लगायत अरु बिभिन्न देशहरु जान पनि थालिसकेका थिए। विवेकका ठुलाबाबाले पनि अमेरिका जाने निवेदन दिएपछि विवेकका हजुरबा नजाने भनेर बस्तीमा बस्ने छोरासँग बस्ने भन्दै त्यता लागे र नानीहरु भने ठुलाबाबासँगै बसेर अमेरिकानै जाने भए। तर तिनीहरुले गर्दा पो प्रोसेस ढिलो हुने होकि भनेर चिन्तित थिए विवेकका ठुलाबाबा हरि। यिनीहरु सानै हुँदा आमाको मृत्यु भएको र बाबु लापत्ता भएको कुरा यु एन एच सि आर र आइ ओ एमलाई बताएपछि ढिलो हैन बरु छिट्टै प्रक्रिया पुर्याएर चाँडै अमेरिका पठाउने भन्ने कुरा सम्बन्धित निकायबाट आयो । विवेक र मोनिकालाई हरिको छोरो सन्तोष र उसकी श्रीमती निशाको फाइलमा आइ ओ एमले जोडिदियो अनि हरिको भने ऊ लगायत कान्छो छोरो, कान्छी छोरी र श्रीमतीको फाइल बनाइदियो। सबै चाँडै अमेरिका जान पाइने कुरामा दङ्ग भए। प्रक्रिया पूरा गराएर सन्तोषको नामको फाइललाई आइ ओ एमले अमेरिकाको वासिङटन राज्यमा पर्ने सिएटल शहरको म्याप सहित २००८ सेप्टेम्बर १५ तारिकको काठमाडौंबाट उडानको मिति पठायो। तर हरिको भने त्यसको ठीक एक महिनापछि मात्र उडान हुने भयो।

हरि र सन्तोष भएर सबैका लागि किनमेल गर्नुका साथै विवेक र मोनिकालाई पनि लुगा, जुत्ता-चप्पल, ब्याग र के के चाहिन्छ सबै किनिदिए। त्यती धेरै नयाँ चिजबिजहरु देखेर खुशी हुँदै जिन्दगीमा पहिलो पल्ट हवाइजहाज चढेर विश्वकै विकसित र शक्तिशाली देश जाने खुसीयालीमा रमाउँदै साथीहरुसँग भेटघाट र अन्तिम गफगाफ गर्न जुटे। उनीहरुका साथीहरु पनि कोही अमेरिका र अन्य देश जाने तरखरमा थिए भने कसैको प्रोसेस भर्खर सुरु हुँदै थियो। खुसीयाली आदनप्रदान गर्दै कोहीसँग अमेरिकामा भेट्ने वाचा गर्दै थिए भने कोहीसँग भेटै नहुने होकि भनेर अलिअलि दु:खी पनि देखिन्थे।

सेप्टेम्बर ११ तारिकका दिन लामबद्ध लागेका पाँचवटा आई ओ एमका बसमा उज्जवल भविष्य बोकेर अमेरिका जानलाई छिर्न लागेका भूटानी जनमानसका साथ विवेक र मोनिका पनि विदा गर्न आएको जनसागरलाई विदाईको हात हल्लाउँदै बसमा छिरे उनीहरुका दाजु-भाउजूसंगै। केहीक्षणमै बसहरु पुलिसका गाडी अघिपछि लागेपछि भद्रपुर विमानस्थलतर्फ लागे। बसभित्र आँशु खसाउँदै विलाप गर्नेका भिडमा विवेक र मोनिका हर्षित देखिन्थे। उनीहरुलाई चिन्नेमध्ये कसैले तिनीहरुको ओरालो लागिसकेको जिन्दगीबाट छुटाएर उज्जवलभविष्यतर्फ डोर्याउने हरि र कमलको गुणगान गाउँदै थिए भने कसैले तिनीहरु जन्मदै यस्तो भाग्य लिएर आएको कुरा गर्दै थिए।

अमेरिका पुगेपछि सरकारी मातहतको एउटा अनाथालयले विमानास्थलबाटै टिपेर विवेक र मोनिकालाई लगेको रहेछ र कहिलेकाँहि मात्र हरि र उसको परिवारलाई भेटाउन उनीहरुकामा पुर्याउँछ रे।

 

6 Replies to “महानन्द नदीदेखि वासिङ्टनसम्म”

  1. Vidhypati Mishra

    लेख सारै राम्रो छ, यस प्रकारका रचना आगामी दिनमा पढ्न पाउने आशा बोकेको छु

  2. Prakash Dhamala

    सारै राम्रो लेख लाग्यो दाजु …. सत्यता मा आधारित …. लेखक लाई सलाम छ मेरो … सिर्जना प्रति सिर झुकाब

  3. Tek Acharya

    देवी साथी तिम्रो लेक धेरै चोटी पढे र एशो मन मनै गुने …….. मलाई यो लेकले सारै नै छोयो यार. तिम्रो लेकमा बिशाल भविस्य छ जस्तो मलाई लाग्छ ……..जस्ता प्रकारले विवेक र मोनिकाको एउटा परिवर्तन्सिल भविस्य भोलेको छ कथाले , तहेसरि नै एसले सुमदुर भविष्य ओडेको छ यार साथी ……….येस्था रचना हरु पस्कदै गर है समय समएमा ल , तिमिलाइ मेरो सुवाकमाना सधै सधै …………

  4. Tri-Star

    देवी दाजू,

    धेरै राम्रो लेख! क्रमश: भाग-२ को प्रतिक्षा गर्दछु | धन्यबाद अनि शुभकामना!

    त्रिविक्रम भाइ
    अमेरिका

  5. Lakshmi Prasad Dhakal

    मिठो र पढ्न लायक लेख.

    लक्ष्मी प्रसाद ढकाल
    आम्सटरडाम

Leave a Reply

Your email address will not be published. Required fields are marked *