महामारीको घाउ र नयाँवर्ष
सन् २०२० महामारीको वर्षका रूपमा इतिहासमा दर्जा भएको छ । र नयाँ वर्ष २०२१ लागेको छ । नयाँ वर्षमा पनि महामारीको निरन्तरता कायमै छ । यसको अन्त कसरी हुन्छ त्यो अहिले नै भन्न सक्किन तर यसले जन्माएको विग्रह, पीडा र घाउ युगौँसम्म रहिरहने छ – मानव इतिहासमा एउटा कहाली लाग्दो कहानी बनेर ।
आजको दुनियाँमा एउटा कुनै क्षेत्र छैन, जहाँ महामारीले प्रभाव पारेको छैन । त्यसको प्रभाव अधिक रूपमा नकारात्मक भए पनि कताकति सकारात्मक पनि छ । महामारीले निम्त्याएको सामाजिक, आर्थिक, राजनीतिक, क्षेत्रीय र मनोवैज्ञानिक प्रभाव कति गहिरो छ त्यसको अध्ययन र विश्लेषण हुँदै जाला भविष्यमा । अहिले हरेक राष्ट्रको प्राथमिकता भनेको रोगको फैलावटको गतिलाई निस्तेज पार्ने र सकेसम्म चाँडो खोपको विकास गर्ने हो । महामारी फैलिएको एक वर्ष पुग्न लाग्दा विश्वका शक्ति राष्ट्रहरू अमेरिका, रुस, बेलायत, चीन र भारतले खोप निर्माणको पहिलो चरण पार गरी खोपलाई आपत्कालीन प्रयोगका लागि सिफारिस गरिसकेका छन् । यसले रोग नियन्त्रणमा नयाँ आशा जगाएको छ र विश्व सामान्य अवस्थातर्फ फर्किने सङ्केत गरेको छ ।
हरेकसँग महामारीका पृथक् पृथक् अनुभाव, अनुभूति र भोगाइहरू छन् । महामारीका घाउहरू बालबालीकाहरूसँग छन् । विद्यार्थीहरूसँग छन् । वृद्ध-वृदाहरूसँग छन् । डाक्टरहरूसँग छन् । नर्सहरूसँग छन् । यात्रुहरूसँग छन् । मजदुरहरूसँग छन् । बृहत्तर रूपमा भन्ने हो हरेक मानिसहरूसँग छन् । महामारीका घाउहरू सहरहरूमा छन् । अस्पतालहरूका भित्ताहरूमा छन् । नर्सिङ्हाेमका बिच्याउनाहरूमा छन् । घरघरका पेटीहरूमा छन् । हाेटलहरूमा छन् । कलकार्खानाहरूमा छन् । मन्दिरहरूमा छन् । चर्चहरूमा छन् । बाटाघाटा र समशान घाटहरूमा छन् । महामारीले निम्त्याएका समस्याहरू हरेक ठाउँमा छन् । यसले सामाजिक र आर्थिक जीवनमा जुन रूपमा प्रभाव पारेको छ त्योभन्दा बढी मनोवैज्ञानिक रूपमा मानिसलाई आक्रान्त तुल्याएको छ । डर छ, भय छ , संशय छ । अनिश्चितता छ । उकुसमुकुस र गुम्स्याहट छ । शोक छ । सन्ताप छ ।
एकातिर महामारीले निम्त्याएको वितण्डा, मानवीय समस्या र आर्थिक सङ्कट कल्पना गर्नै नसकिने छ । अर्कातिर महामारीसँगै जिउने नयाँ उपायहरू अपनाइएका छन् । नयाँ बाटाहरू खोजिएका छन् । भिन्न विकल्पहरू अबलम्बन गरिएका छन् । नयाँ सङ्कल्पनाहरू छन् । सबभन्दा बढी त सुचना प्रविधिहरूकाे सहारा लिइएको छ । यी कतिपय विकल्पहरू र पृथक बाटाहरूले महामारीपछि पनि निरन्तरता पाउने निश्चित छ । शिक्षा, रोजगारी र सरकारी कामकाज मात्रै होइन कतिपय सामाजिक कर्म पनि भर्चुअल भइसकेका छन् । यसरी महामारीका अनेक आयाम र संवेदनाका पाटाहरू छन् । यस्ता विषयहरू साहित्यमा लेखिनु पर्छ । तब न महामारीमा मानिसहरूले भोगेका कठिनाइ, पीडा र अकल्पनीय परिस्थितिको भावीपीढीलाई ज्ञात हुन्छ र भविष्यमा आइपर्ने सङ्कटहरूको चेतावनी र पूर्वाभास हुनसक्छ ।
आशा गरौँ सन् २०२१ मा महामारीले जन्माएको मानवीय चित्कारको अन्त हुने छ र सहज परिस्थितिको आरम्भ हुने छ ।