मागका सूचिहरु

(लघुकथा )

Subi Sudha
कथाकार

सुबिसुधा आचार्य- मेरिल्याण्ड/अमेरिका

दश बजेर दश मिनेट जाँदा भित्रन्छे ऊ कोठामा । छोरा-छोरी पल्याङ्ग पुल्टुङ्ग सुतेका छन् सोफामा । लामो हाई काड्दै ऊ पनि बस्छे कुर्सीमा । लथालिङ्ग छ कोठाको अवस्था । टिभी अन, ल्यापटप अन, टेबल र भुइँभरि छरिएका किताब-कापी । यो विदेशको बसाइ पनि कति व्यस्त । थकाइ र अव्यवस्थित कोठाको अवस्थाले थिलथिलो बन्छे ऊ ।

झसङ्ग हुन्छे फोनको घण्टीले । फोन उठाउँछे अल्छि मान्दै ।

‘हेलो रजनी, घर पुग्यौ ? सरी ल आज खाना बनाउन जाँगर पटक्कै थिएन, त्यसैले पिजा अर्डर गरेँ । केटाकेटी र मैले   खायौं । तिमीलाई पनि फ्रिजमा छ ।’-केही भन्न खोज्दा खोज्दै फोन राखेको आवाज आउँछ उताबाट ।

यी लोग्ने मान्छे, आफैंले मात्र गर्नपरेको जस्तो सोच्छन् सारा काम । उसले सोँच्छे–‘उनी रातभरि काम गर्छन्, यसको मतलब म पनि त दिनभरि गर्छु निः । फेरि भान्छा सधैं मेरै टाउकोमा थोपरिन्छ । कति सजिलो बाहिरको खाना अर्डर गर्‍यो पकाउने टन्टै  साफ ।’ अलिकति चिटचिट् हुन्छे लोग्नेसँग ।

मनमनै फुस्फुसाउँदै फेर्छे कपडा । पालैपालो बेडमा लगेर सुताउँछे छोरा-छोरीलाई । घडीमा चोपलिन्छ एक नजर । पौने एघार । उफ् खाना बनाएर केटा-केटीलाई तयार पारी सात बजे त पुग्नैपर्छ काममा ! कतिखेर सुत्ने भनेर आत्तिन्छ मन ।

भान्छामा पुगेर फ्रिज खोल्थे । नभन्दै दुई स्लाइस् पिजा पर्खिरहेको छ उसैलाई जर्जर्ति पर्दै । सुत्नेबेला यो ह्याब्बी चिल्लो पिजा खाम् कि नाई, दोधारले अलिकति रेट्यो । होस् खान्न, एउटा स्याउ निकालेर बन्द गरी फ्रिज मन मार्दै ।

स्याउ काट्नै लाग्दा फोन चिच्याउँछ, उसको सोचाइमा धावा बोल्दै । फोन उठाउँछे –‘हेलो, हेलो भाउजु…, दर्शन । म नेपालबाट सानुकान्छो । दाइको फोन उठेन त्यसैले यो नम्बरमा गरेको ।’

‘ए बाबू, दाजु त काममा । भाउजु… कुरा के हो भने मैले पल्सर बाइक लिन ला’को भोलि दाजुलाई साढे दुईहजार डलर पठाइदिन भन्दिनुस् है । जसरी पनि !’

देवर बाबूको कुरा नसकिँदै फोनबाट पालैपालो फरक-फरक आवाज र भिन्न-भिन्न माग हुन्छ । ऊ सुनिमात्र रहन्छे बिना संवाद । मागको सूचिहरु धमिलो सुन्दै थिई ल्यापटप, आइफोन, आइपड, घडी, क्यामरा अनि कुन्नि के के किन्न   पैसा ।

त्यसो त हिजोमात्र स्काइपमा कुरा हुँदा माइतीको भाइको पनि माग थियो ल्यापटप  चाहियो र पाँच, बीस  हजार डलर जति घडेरी किन्न सापटी पैसा । बहिनीले सुनाउँदै थिई सबैसँग छ आइफोन ! आदि इत्यादि ।

सबैले सोच्छन्, बिदेशमा डलर फल्छ, यहाँको दुःख आफैसँग, मनमा कुरा खेल्दै गर्दा ऊ पुग्छे बेडरुममा । पल्टनै लाग्दा फेरि बज्छ फोनको घण्टी । उठाउँ कि नउठाउँको दोधारले रेटिरहँदा भारी मन पार्दै उठाउँछे फोन ।

‘हेलो, मिस रजनी स्पिकिङ्ग ।’

‘या । आइ याम् रजनी ।’

‘आइ याम सरी रजनी, जस्ट टेन मिनेट एगो, योर हजबेन्ड राकेश  किल्ड  बाई समवन एण्ड रब्ड द स्टोर ।’

One Reply to “मागका सूचिहरु”

Leave a Reply

Your email address will not be published. Required fields are marked *