माता-पिता र देवालयहरू के कस्ता तीर्थ हुन् ?
रचना-: गङ्गाराम रिजाल
टेनिसी,अमेरिका
आमा नै सबकी अती नजिककी वात्सल्यले भर्दिने ।
आफ्ना सन्ततिमा सधैँ खुसी हुने जुन काम हो गर्दिने ।।
नौ मैना भरि पेटमा जब हुँदा सङ्कष्ट भोग्दै सब ।
जन्मी सानु छँदा कठै बरी भनि बढ्दो छ माया अब ।।
हुर्काई पछि ज्ञानको ढिकुटी जो भर्ने सुविचारमा ।
आमाले दिनहूँ सबै नजर त्यो सङ्घर्ष सत्कर्ममा ।।
मेरो नानी पढी असल हुन गए ज्ञानी गुणी भन्दछन् ।
आफ्नो जीवनमा सबै खुसी हुने सत्कर्मले बन्दछन् ।।
यस्तै भाव लिई सधैँ हृदयमा मातृत्त्वको शक्तिले ।
हामी योग्य बन्यौँ नबिर्सि अब लौ सेवा गरौँ भक्तिले ।।
आमाको मन हुन्छ कोमल सधैँ सन्तानका खातिर ।
कर्तव्यै पनि हो भनि हृदयमा सत्कर्ममा हौँ स्थिर ।।
आमाहुन् भवकी सुयोग्य सबकी सद्भावकी खानि हुन् ।
सारा वैभवमा अमूल्य जगकी दातव्यमा दानी हुन् ।।
आफ्नो भाग बचाई केहि चिज होस् खाला भनी नानिले।
बस्नुहुन्छ कुरी सधैँती ममता आउने सधैँ बानिले ।।
आमाको ममता अपार छ बुझौँ भन्नै नसक्ने गरी ।
मीठोवाणी गरौँ पवित्र मनले यो हाम्रो जीवन भरी ।।
आमाको दिल त्यो विशाल छ अति आकाश जत्रो मन ।
खोजौँ क्यै गरि पाइँदैन अरूमा संसारमा यो धन ।।
माता तीर्थभनि पुराणहरूमा छन् भागवत् मा कुरा ।
के सक्थेँ म त गर्न यो विषयमा अज्ञानताले पुरा ।।
औँसीका दिनमा सबै जननीमा सद्भावले भर्दछु ।
जोडी हात दुवै झुकि हृदयले अन्तर्नमन् गर्दछु ।।
धामैमा भगवानको दिन दिनै दर्शन गई गर्दछौ ।
माता हुन् भनि तीर्थ यो नबुझँदा सङ्कष्टमा पर्दछौ ।।
श्रद्धाले दिनु भोजनै खुसिहुनु त्यो मन् नदुखाउनू ।
हाम्रो धर्म बडो यही छ पछि लौ आखिरीमा पाउनु ।।
जे जस्तो उपयुक्त हुन्छ मनले सद्भावले भर्दिनु ।
माता देवि भनेर पूजन पनि उत्साहले गर्दिनु ।।
बाबा हुन् पनि सृष्टिका विजयका आकाश नीलो सरि ।
हुन् ईश्वर बुझ लौ ! सधैँ चरणमा पर्नु छ जीवन भरी ।।
आमा हुन् जगकी पवित्र सलिला बाबा अनि जङ्गम ।
दर्शन गर्नु छ तीर्थको सकलले त्यै हो ठूलो सङ्गम ।।
साधु-सन्त अरू समान गुणका मूर्धन्य ज्ञानी जन ।
पर्छन् जङ्गम तीर्थका गणनमा के गर्नु मैले भन ।।
पढ्दै ध्यान दिई विवेक मनले शास्रादि ग्रन्थै पनि ।
पाईन्छन् कति ज्ञानका ढिकुटीमा मिल्नेछ सारा अनि ।।
शान्तीको घरमा जलाउनु दियो मन्को रूवा बातिले !
मन्दिरमा पुगी बाहिरि हृदयले के भर्नु फूल्पातिले !!
आफ्नै ती घरका पिता र जननी छन् देवता झैँ स्थिर।
गर्नू है अघि पूजनै अनि पछि जानु ठूला मन्दिर ।।
छन् मान्यैजन जो गुरू अनि कुनै हुन्छन् नि विद्वद्जन ।
जङ्गम तीर्थ यिनै भए अब झुकौँ कोमल बनाई मन ।।
द्यौताका जति धाममा स्थित हुने गंगादी तीर्थैहरू
बद्रीनाथ स्वयं हरि अनि कति छन् चार धामै अरू ।।
कैलाशै पनि स्वच्छ त्यो हिमगिरी आकाश झैँ देखिने ।
स्थावर् तीर्थ पवित्र यी हुन गए यो मन भरी लेखिने
झुल्कन्छन् नभमा दिवाकर सधैँ मन्सा अँध्यारो किन।
एक्लो यो टुहुरो असाहय बनी बाँच्नुपरेका दिन ।।
आमाको ममता , बुबा हजुर नै सौभाग्यका मालिक ।।
गर्छु स्थापित भावले हृदयमै पूजा दुवै शालिक !!
माता औ गुरुदेव हुन् जनक नै साधू विभूतिजन ।
पर्दै जङ्गम तीर्थका चरणमा राख्दै छु कोमल मन ।।
माग्दै आशिष कर्ममा मिलिरहोस् सौभाग्यताको जहाँ !
अर्को छैन नि सन्तति खुसी हुने आशीष नै लौ यहाँ ।।