माधवकुमारको भारत भ्रमणले पलाएको झिनो आशा

शुक्रवार अप्डेट गरिनु पर्ने यो स्तम्भ समय अभावका कारण आज मात्र अप्डेट गर्न सकिएकोमा Bhutaneseliterature.com क्षमाप्रार्थी छ।

दागाने काइँलो

प्रधानमन्त्री माधवकुमार नेपालको भारत भ्रमणको मिति तय भएपछि १८ वर्षदेखि नेपालका विभिन्न शिविरहरूमा निरासशाजनक जीवन बिताउँदै आएका भुटानी शरणार्थीहरूमा स्वदेश फिर्तीका कुराले चर्चा पाउन थालेका छन् । पुनर्वाससंगै घरफिर्तीका कुराले त्यति महत्व नपाइरहेको बेला यस प्रकारको चर्चा उठ्नु भने शरणार्थी शिविरमा कुनै अनौठो कुरा होइन । बेलाबखत यस्ता कुराले शरणार्थीहरूमा झिनो आशा पलाउने गरेको पाइन्छ ।

PM Nepal
PM Nepal
भारत भ्रमणमा जाने प्रत्येक प्रधानमन्त्री अथवा परराष्ट्रमन्त्रीसँगै शरणार्थीका स्वदेश फिर्तीका कुरा जोडिने गरेको पाइन्छ । नेपाली अधिकारीहरू भारततिर लाग्नुअघि विमानस्थलमा शरणार्थी समस्याको बारेमा गम्भीर छलफल गर्ने आश्वासन दिने गर्दछन् । तर अहिलेसम्मका सबै आश्वासन खोक्रा सावित भएका छन् । सत्तामा पुगेपछि शरणार्थी समस्याको समाधानमा केके नै गर्छु भन्ने जोसिला भाषण गर्नेदेखि परराष्ट्र नीतिमा भूटानलाई घुँडा टेकाउने धाक पिट्ने सबै विफल भएका छन् ।

उता शरणार्थीहरू पनि भारत भ्रमणमा जाने त्यस्ता मन्त्रीहरूलाई भेटेर उनीहरूका कुरा भारतलाई राम्ररी सुनाइदिन आग्रह गर्न पाउँदा दङ्ग पर्ने गरेका छन् । त्यतिमात्र होइन, शरणार्थी समस्याको समाधानमा संलग्न भइदिन आग्रह गर्दै भारत सरकारलाई लेखेका पत्रहरू पनि नेपाली मन्त्रीहरूले नै बोकेर जाने गरेका छन् । अहिलेसम्म मन्त्रीहरूले शरणार्थीका दर्जनौ पत्रहरू भारत पु-याएका छन् । तर त्यस्ता पत्रहरूको असर भारत सरकारलाई कति पुग्यो, त्यो यकिन छैन । भारतीय सञ्चारमाध्यममा अहिलेसम्म नेपाली मन्त्रीहरूका साथ पठाइएका कुनै पनि विन्तीपत्रहरूको समाचार प्रकाशन-प्रसारण भएको छैन । भारतीय मन्त्रीहरूले पनि सार्वजनिक रूपमा कुनै पनि टिप्पणी दिएको पाइँदैन । शरणार्थीहरूको बिन्तीपत्रमा लेखिएको विषय होइन, बरू शरणार्थी समस्या केवल नेपाल–भूटानबीचको समस्या हो भनेर पानीमाथिको ओभानो बन्ने भारतीय नेताहरूको काम जारी छ ।

प्रधानमन्त्री माधवकुमार नेपालले पनि यस पटकको भारत भ्रमणको अवसरमा शरणार्थीहरूको समस्याको पोको पनि बोकेर जाने भएका छन् । शरणार्थी समस्याको समाधानकालागि प्रधानमन्त्री नेपालले विगतमा भूटानी राजासित प्रत्यक्ष भेटेर कुरा उठाएका थिए । समस्याको समाधानमा भूटान अत्यन्तै नकारात्मक पाएको टिप्पणी दिने गरेका नेपालले यस पटकको भारत भ्रमणको सिलसिलामा गम्भीर छलफल गर्ने कुरा गरेका छन् । भूटानी नेताहरू टेकनाथ रिजाल र बलाराम पौड्यालसहितको बिहीबारको भेटमा नेपालले उनकै कार्यकालमा शरणार्थी समस्याको समाधान खोज्ने आश्वसन दिनसमेत चुकेका छैनन् । भारतीय समकक्षी डा. मनमोहन सिहंसित भूटानी राजालाई यस समस्याको समाधान खोज्न दवाव दिन छलफल नेपालको गर्ने मनसाय रहेको नेता पौड्यालको भनाइ छ ।

अमेरिकालगायतका विकसित मुलुकहरूले अघि सारेको पुनर्वास कार्यक्रम शरणार्थी समस्याको दीगो समाधानको उपाय नभएको कुरा शरणार्थी नेताहरूले आफनो पत्रमार्फत् भारतीय प्रधानमन्त्रीलाई लेखेका छन् । नेपालका शिविरहरूमा कष्टकर जीवन विताउन बाध्य शरणार्थीहरूले पुनर्वासलाई अस्थायी विकल्पको रूपमा लिंदै शिविर छाडेर हिँडेको शरणार्थी नेताहरूको कुरा छ । जुनसुकै देशमा पुगे पनि घरफिर्तीको वातावरण बन्नासाथ शरणार्थीहरू सबै कुरा बिर्सेर घर फर्कने उनीहरूको दावी छ ।

भारतको नयाँ दिल्लीमा रहेका ड्रुक नेशलन कांग्रेसका नेता रोङथोङ किंले दोर्जी र भूटान मानवअधिकार संगठनका अध्यक्ष एस.बी सुब्बाले पनि यसै अवसर पारेर भारतीय प्रधानमन्त्रीलाई छुट्टा–छुट्टै पत्र लेखेका छन् । पत्रमार्फत् भारत वर्षौदेखि भूटानको संरक्षक भएकाले हजारौं संख्याका भूटानीहरूलाई ससम्मानका साथ भारतीय भूमि भएर घर जाने वातावरण मिलाइदिन भारत समक्ष बिन्ती बिसाएका छन् । पौड्याल र रिजालले त्यो पत्र हिजै प्रधानमन्त्रीलाई भारतसमक्ष पु-याइदिन भनेका छन् । यस पटक प्रधानमन्त्रीले शरणार्थी समस्याका सम्बन्धमा भारत प्रस्थान गर्नुअघि विमानस्थलमा के भन्ने हुन्, त्यो त नेपाली सञ्चारमाध्यममा आउला नै । तर विगतका अनुभवलाई कोट्याउने हो भने हात्ती आयो हात्ती आयो फुस्सा नहोला भन्न सकिन्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *