मानव जीवन, शिक्षा र नैतिक शिक्षा
डा. लक्ष्मीनारायण ढकाल
केन्टकी, अमेरिका
ईश्वरको यो विशालतम सृष्टिमा अरबौँ जीवन छन् I ती जीवनहरूलाई मुख्य रूपमा तीन विभागमा बाँड्न सकिन्छ:-
१) स्वेदज (पसिना बाट उत्पन्न हुने) जस्तै जुम्रा र कतिपय कीटाणुहरू
२) अण्डज (अण्डाबाट उत्पन्न हुने) जस्तै कुखुरा, कमिला, चरा-चुरुंगी आदि र
३) जरायुज ( वंशाणुगत क्रममा बीजद्वारा जन्मिने बुढो हुने र मर्ने) जस्तै मानव र वृक्ष-वनस्पति आदि I
यी तीन प्रकारका जीवनमा चौरासी लाख योनि (जीवन) समाविष्ट छन् भनेर हाम्रा शास्त्रहरू बताउँदछन् I यी सम्पूर्ण जीवनहरूमा मानव जीवन सर्वोत्तम जीवन हो, किनकि ईश्वरले चेतन शक्ति मानवलाई मात्र प्रदान गरेको छ I अत: मानवलाई चेतनशील प्राणी भनिन्छ I पशु र मानवलाई अलग गराउने तत्व नै चेतना हो I पशु र मानवमा सबै गुणहरू मिल्दैनन्, मात्र-आहार, निद्रा, भय-हर्ष, मैथुन यी सामान्य वस्तुहरू दुवैमा पाइन्छन्, तर चेतना, वाक् शक्ति (बोल्न सक्ने शक्ति) र धर्म (मानवीय गुण) मानवमा मात्र पाइन्छ I नीतिकारहरू भन्दछन् –
आहार निद्रा भय मैथुनञ्च सामान्यमेतत् पशुभिर्नराणाम् I
धर्मो हि तेषामधिको विशेष धर्मेण हीन: पशुभि: समान: II
अर्थात् आहार, निद्रा, भय, मैथुन यी मानव र पशु दुवैमा पाइन्छन्, धर्म (चेतना) नै एउटा यस्तो तत्त्व छ, जसले पशु र मानवलाई अलग गराउँछ I यहाँ “धर्म” शब्दको अर्थ गुण, स्वभाव, कर्तव्य बोधता र चेतना हो I यी सबै तत्त्वहरूलाई समग्रमा बुझाउने एउटै मात्र तत्त्व हो ज्ञान तत्त्व, शिक्षा तत्त्व I अतः मानव भएर मात्र भएन शिक्षित मानव बन्न सक्नु पर्यो I
शिक्षा विना मानव मानव रहँदैन, ऊ पशु कहलाउँछ I कर्तव्य-अकर्त्तव्यको, भक्ष्य-अभक्षको, ग्राह्य-त्याज्यको, वाणीमा पवित्रता-अपवित्रताको, साधु शब्द-अपशब्दको, विचार पूर्वक प्रयोग गर्नु नै मानवीय चेतनाको प्रतिफल हो I यदि यी गुणलाई शिक्षाले दिन सकेन भने शिक्षाको अनर्थ हुन्छ, अतः शिक्षालाई जीवनमा उतार्नु पर्ने हुन्छ I यदि शिक्षा जीवनमा उत्रिएन भने पशु र मानवमा अन्तर न देखिने हुनाले शिक्षा अवश्य पनि नैतिक दर्शन, मातृ भाषा, संस्कृति र परम्परामा आधारित हुन आवश्यक देखिन्छ I
शिक्षाको सामान्य अर्थ र उद्देश्य:-
ज्ञानका अर्थमा अनेकौँ शब्दहरू पाइन्छन् जस्तै- शिक्षा, बुद्धि, प्रकाश, मनीषा, धी: प्रज्ञा, मति आदि आदि I यी सम्पूर्ण शब्दहरू मानव जीवनसँग सम्बन्धित छन् I पारिभाषिक शब्दावलीको शृङ्खलामा धर्म-स्वभाव-गुण-ज्ञान-शिक्षा-नैतिकता-कर्तव्य-व्यवहारिकता गर्दै गर्दै परिणतिमा सुख, शान्ति, समृद्धि, उत्कर्ष र चरमोत्कर्ष (मोक्ष)मा पुग्दा मात्र अज्ञान, अन्धकार, दु:ख, अभाव शून्यतादेखिको अपूर्ण यात्रा पूर्ण हुन्छ मानव जीवनमा I यो यात्राका क्रममा ज्ञान (शिक्षा ) नै प्रमुख कारण हो I भनिएको छ- “ऋते ज्ञानान्न मुक्ति:” अर्थात् ज्ञान विना कुनै पनि कष्टबाट मुक्ति (छुटकारा) मिल्दैन I अर्को कुरो “सा विद्या या विमुक्तये’ भन्दै अद्वैत दर्शनका प्रतिपादक शङ्कराचार्य शिक्षाको उद्देश्य सानातिना दुखबाट मात्र हैन, जन्ममरणरुपी महादु:खबाट नै मुक्त हुनु मानव शिक्षाको परिणति हो भन्छन् I अतः मानव जीवनमा शिक्षाको ठूलो महत्त्व छ I
जीवनमा नीति (न्याय), मानवीय गुण, (संस्कृति र परम्परा अनुरूप गुण) परोपकारको भावना, समाज सेवाको भावना र जीवनको सर्वाङ्गीण विकास गर्नु शिक्षाको उद्देश्य हुनुपर्दछ I यदि शिक्षामा यी उपर्युक्त तत्त्वहरू समाविष्ट भएनन् भने सही अर्थमा शिक्षा स्तरीय शिक्षा बन्न सक्दैन I अर्को महत्त्वपूर्ण तथ्य शिक्षामा नैतिकता र अनुशासन पाठ्यक्रमका रूपमा हुन आवश्यक हुन्छ, अनि मात्र जीवन दर्शनलाई त्यो शिक्षाले पूर्ण रूपमा बुझाउन सक्दछ I
त्यस्तै शिक्षा अथवा ज्ञान भनेको व्यक्तिको व्यक्तिगत आर्जनका साथै समाज र राष्ट्रको उन्नति पनि हो I यस शिक्षारूपी धनलाई कमाएर मानव कदापि घाटामा जाँदैन, अपितु सदैव उन्नति तर्फ नै अघि बढ्छ ! किनकि भनिन्छ –
नचौरहार्यं नच राजहार्यं न भ्रातृभाज्य़ं नचभारकारी I
व्यये कृते वर्द्धतएव नित्यं विद्या धनं सर्व धनप्रधानम् II
अर्थात् ज्ञानरूपी धनलाई न राजाले नै हरण गर्न सक्छ, न त दाजुभाइमा अंशबन्ट झैँ बाँडिन्छ I यो त यस्तो धन हो जसलाई जति खर्च गर्यो त्यति बढ्ने सबै सम्पत्तिहरूको राजा हो I त्यसैले मानवले शिक्षा लिन र दिन सदैव स्वाध्याय छोड्नु हुन्न I -“स्वाध्यायान्मा प्रमद” हाम्रा उपनिषदहरू पनि यही आदेश गर्दछन् I
पद्धतिका आधारमा शिक्षाको भेद:-
समग्रमा हेर्दा संसारमा शिक्षाका दुई भाग देखिन्छन् I आध्यात्मिक पृष्ठभूमिमा आधारित शिक्षा र भौतिक पृष्ठभूमिमा आधारित शिक्षा I यस कुरालाई पूर्वीय शिक्षा र पाश्चात्य शिक्षा भनेर पनि बुझिन्छ I पाश्चात्य शिक्षा प्राथमिक स्तरमा (किन्डर गार्टेन) पद्धतिमा आधारित छ भने पूर्वीय शिक्षा नैतिकतामा र आदर्शमा आधारित छ I पाश्चात्य शिक्षा इंग्ल्याण्डबाट विकसित भएको हो भने पूर्वीय शिक्षाको केन्द्र भारत हो I
पूर्वीय शिक्षा दर्शन (आध्यात्मिक विज्ञान ) र साहित्यमा आधारित हुनाले यसले मानव जीवनको आन्तरिक विकासलाई प्रमुखता दिन्छ I तर, पाश्चात्य शिक्षा भौतिक विज्ञानमा आधारित भएकाले मानव जीवनको बाह्य आवश्यकतालाई पुरा गर्ने काम गर्दछ I वर्तमान परिस्थितिमा दुवै शिक्षा पद्धतिमा एक अर्काको समावेशको खाँचो छ I पूर्वीय शिक्षामा केही हदसम्म आधुनिक विज्ञानलाई समावेश गर्ने प्रयास हुदैछ, तर पाश्चात्य पद्धतिले विज्ञानको होडमा अगाडी भएता पनि मानवीय भावना र संवेदना अनि नैतिकतालाई समावेश गर्न सकेको छैन I विज्ञान तर्क र प्रमाणका वैशाखीमा अडिएको छ त्यसैले त्यहाँ नैतिकताले स्थान पाउन सकेको छैन, किनकि नैतिकता आदर्श, विश्वास र भरोसामा टिकेको हुन्छ I अतः आधुनिक विज्ञान मानवीय संवेदनादेखि धेरै टाढा छ I हामी दिनानुदिन देखिरहेका भोगिरहेका छौँ, पाश्चात्य शिक्षाको परिपाटीमा नैतिकता र अनुशासनहीनताका दुष्परिणामहरु I आज शिक्षाविदहरु र स्थानीय शिक्षा विभागका हातेमालोमा पद्धतिमा संशोधन गरिनुपर्ने र पाठ्यक्रममा नैतिक शिक्षा, अनुशासन मानवीय संवेदना र प्राचीन विज्ञानको समावेशी अनुसन्धान हुनु पर्ने आवश्यकता छ I अन्ततो गत्वा यी विषयहरूमा सामुदायिक तहमा हामीले हाम्रा बाल बालिकाहरूका निम्ति स्वयं प्रयास नगरे अन्य कुनै तात्कालिक उपाय देखिँदैन I अतः प्रवासमा रहेको नेपाली भाषी समाजले अब मातृ भाषा, धर्म, संस्कृति, परम्परा, नैतिक शिक्षा, अनुशासन र जीवन दर्शनका प्रत्येक विन्दुहरूलाई सामुदायिक तहमा समाजकै आफ्नै शिक्षा केन्द्र स्थापित र पाठ्यक्रम तैयार नगरी धर छैन I
शिक्षाको अग्रिम दिशा :-
आज आवश्यकता छ आधुनिक शिक्षाका साथ साथै प्राचीन विज्ञानका ज्ञान रहस्यलाई पनि अध्ययन गर्ने I वेद, उपनिषद र गीतादि शास्त्रहरूमा निहित मानवीय गूढ शिक्षा र विज्ञानलाई पनि साथ साथै नलगेमा मानव सभ्यताले कोल्टो फेर्ने अवश्यम्भावी छ I अर्को ठुलो खतरा के देखिन्छ भने नैतिक मूल्यको पतन हुँदै छ I अत: पूर्वको नैतिक मूल्य र पश्चिमको विज्ञान साथ साथ चलेमा मानवले पुन: स्वर्ण युगमा प्रवेश गर्नेछ I
साथै हाम्रो मातृभाषा, संस्कृति र परम्परासँग जोडिएको शिक्षालाई पनि साथ साथ अध्ययन गरेनौँ भने प्रमुख रूपमा दुइटा खतराहरू परीलक्षित हुन्छन् I १- भाषा-संस्कृति र परम्पराको लोप हुने खतरा र २-आफू स्वयम् अपाङ्गो गुने खतरा I मलाइ लाग्छ आधुनिक शिक्षाको वातावरण सर्वत्र भएकाले र विद्यालयीय पाठ्यक्रममा पनि टेक्नोलोजी छाएको हुँदा यसलाई त्यति ठुलो मेहनत गरिरहनु नपर्ला किनकि वातावरण छ,तर हाम्रो अस्तित्वसँग जोडिएको शिक्षाका निमित्त हामीले विद्यार्थी, अभिभावक, शिक्षाविद् ,चिन्तक, समाज सेवक, लेखक र धार्मिक एवं सांस्कृतिक नेतृत्व वर्गले कम्मर कस्न विलम्ब भैसकेको छ I
यस दिशामा अनुसन्धानदेखि लिएर अध्ययन-अध्यापनको वातावरण तयार गर्न अत्यन्त कठिन कार्य हो, यसमा समय दान र चिन्तन अनि परिश्रमको आवश्यकता हुन्छ I यहाँ सबै भन्दा ठुलो समस्या अनुसंधाताहरुको समय दान र अध्येताहरूको जमात एवं वातावरण निर्माण हुन न सक्नु हो I अतः सबैको यस विषयमा ध्यान केन्द्रित हुन आवश्यक देखिन्छ I
हामीले जीवन दर्शनलाई आरम्भिक विन्दुबाट नै उठान गर्न आवश्यक छ I त्यसैले यहाँ संक्षेपमा नैतिक शिक्षा र संस्कारगत शिक्षाका कुरा गर्नु सबैका निम्ति लाभकारी हुनेछ , तर यसलाई जीवनमा उतार्न सक्नु पर्दछ I
हाम्रा बालबालिकाहरूले परिवार र आफन्तबाट अलग्गिनु हुँदैन, किनकि हाम्रो संस्कृति भनेको बहुपरिवारवादमा आधारित छ, त्यसो हुँदा उनीहरूलाई उपनिषदका यी सूत्रहरूबाट सिक्न प्रेरित गर्नु उचित देखिन्छ I उपनिषदले हामीलाई बताउँछ –
“मातृ देवो भव ! पितृ देवो भव ! आचार्य देवो भव ! “
अर्थात्- माता, पिता र गुरु देवता समान हुन् अथवा जिउँदा देवता नै हुन् I माता भनेकी आफ्नी जन्म दिने आमा, पिता भनेका आफूलाई पालन-पोषण गर्ने बाबा, र आचार्य भनेका शिक्षक अथवा ज्ञान दिने गुरु यी तीनजना हाम्रा लागि देवता समान हुन् ! किनकि जीवनमा सबै भन्दा ठुला र महत्त्वपूर्ण वस्तुहरूमा यी तीन वस्तुहरू पर्दछन् I अतः माता, पिता र गुरुको सेवा, सम्मान र सहयोग गर्नु पर्दछ I
जन्म दिने आमाले १० महिनासम्म गर्भमा अत्यन्त कष्ट सहेर यस संसारमा हामीलाई जन्म दिनु हुन्छ अनि आफ्नो रात-दिन एक गरेर सुसार-सयार र लालन-पालन एवं हजारौँ कष्टहरू सहेर हुर्काउनु हुन्छ I त्यसैगरि पिताले भरण –पोषण, शिक्षा–दीक्षा र संस्कारादि कर्महरू सम्पादन गराई जीवनमा अघि बढ्ने बाटो देखाइदिनु हुन्छ I त्यसैगरि शिक्षक आफ्ना (गुरुले) शिक्षा, दीक्षा र ज्ञान दिएर जीवनलाई प्रकाशित गराउनु हुन्छ I अतः यी तीन व्यक्तिहरू जीवनमा अत्यन्त महत्त्वपूर्ण हुन्छन् I यिनीहरूलाई सर्वदा सेवा, सहयोग, सत्कार र सम्मान गर्दै माया र सुख दिनु पर्दछ I यो हाम्रो प्रथम कर्तव्य हो I यदि कुनै कारणवश सुख दिन सकिएन भने पनि दुःख कदापि दिनु हुँदैन I यदि यसो गर्न सकियो भने हामी हाम्रा जीवनका तीन प्रकारका ऋणहरूलाई घटाउन सक्दछौँ, किनकि जीवनमा मातृ ऋण, पितृ ऋण, र गुरु ऋण यस्ता ऋणहरू हुन् जसलाई कदापि पूर्ण गर्न सकिँदैन I
जीवनका कुनै पनि महत्त्वपूर्ण कार्यहरू थालनी गर्नु भन्दा पहिला आफ्ना गुरुलाई सुनाउनु पर्दछ र उहाँको आशीर्वाद लिनु पर्दछ, त्यसै गरी आफ्ना माता -पिताहरूको आशीर्वाद लिएर मात्र अघि बढ्नु पर्दछ, यसो गर्नाले सही बाटो र सही कार्यको चयन गर्न सकिन्छ भने अर्को कुरो गलत बाटामा जानबाट बच्न सकिन्छ I अतः यी त्रिमूर्तिको आशीर्वादले हाम्रो जीवन सही बाटामा हिँड्दै सुख, शान्ति र समृद्धितर्फ लाग्दछ, तर यदि यी त्रिमूर्तिलाई कष्ट दिइयो भने आफ्नो सर्वनाश हुन्छ I