मान्छेहरू मान्छेजस्ता देखिँदैनन् आजकाल

प्रतिमान सिवा
ओहायो, अमेरिका

अक्सर,
मान्छेहरू मान्छेजस्ता देखिँदैनन् आजकाल।

सतही भावनामा हेलिएर
प्राप्ति र सफलताको आकांक्षाहरूमा जेलिएर
कतै तिलस्मी कतै तरलतरल लाग्ने
अप्टिकल डिस्टोर्सनका सिकार बनेका,
बहकिने इलुसिभ वक्ररेखाहरु
भ्यानगग, पिकासोका क्युबिजम  र अमूर्त चित्रकला झैँ
एक आकारमा अनेक प्रकार देखिने मान्छेहरू
अक्सर मान्छेजस्ता देखिँदैनन् आजकाल ।

विनिर्मार्णवादले प्रेरित अभिप्रायहरूमा रमाउँदै
विनाशर्तका शर्तहरु टाँसेर
अति उत्तराधुनिक युगका आदिम प्राणीझैं
टुटफुटमा रमाउने
तोडफोडमा रमाउने
मान्छेहरू आजकाल जुट्न छोडेका छन्
कुकुरहरू आजकाल भुक्न छोडेका छन्
तिमी हाँस्छौ
म हाँस्छु
तर मान्छेहरू आजकाल हाँस्न छोडेकाछन्
अक्सर,
मान्छेहरू मान्छेजस्ता देखिँदैनन् आजकाल ।

कहीँ बुख्याँचाहरूजस्तै
कहीँ मूर्तीहरूजस्तै
कहीँ खिच्चाहरूजस्तै
कहीँ सैतानहरूजस्तै
कहीँ मसिहाजस्तै
कहीँ महात्माजस्तै
कही सन्तहरूजस्तै
कहीँ भुस्याहाजस्तै
अनेक अनेक देखिन्छन् मान्छेहरू यहाँ
तर मान्छेहरू,
अक्सर मान्छेजस्ता देखिँदैनन् आजकाल ।
इमानी हुँदाहुँदै बेइमानी बनेका
मान्छेहरू मान्छेजस्ता देखिँदैनन् आजकाल ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *