मान्छे भित्रको मान्छे
भानु ढुङ्गाना
क्यानाडा
एकादेशको दुर्गम पहाडमा जन्मिएको
अर्को देशको मध्यम भू-भागमा हुर्किएको
सिङ्गै एउटा देशले भकुण्डो जस्तै खेलाउँदै गोल लगाउन उछिट्ट्याएको
वर्षौँ वर्षपछि,जहाजको बाटो हुँदै
बरफिला हिमाल पहाड नाघेर
एका -अर्का देशलाई छोड्दै अर्को देशलाई मोड्दै
समुन्द्रको छालमाथि कर्मभूमि बनाउँदै आढलिएको
म त पहाडको छोरो
हिमालको नाति
तराईको सालो
कच्छडको आड
मधेसको पहाड
गाउँको गोठालो
समाजको खेतालो
बाटाको भरिया
सडकको यात्री
जीवनको तोक्मा
सरकारको कुल्ली
देशको समाजको समृद्धिको
किसानको छोरो
तिमी जस्तो नपरेको गोरो
सहरमा पसेर नपढेको ,नपरेको छोरो।
म त
बुर्बुराउँदो माटोमा रसिलो अन्न फलाउने किसानको छोराको छोरो
गैरीघरेको दाइ
डाँडाघरेको भाइ
पल्लाघरेको भान्जो
एक हल गोरुको हली
हलो र जुवाको साथी
फ्याउरी र कोदालीको बाउसे
म त
असारको रोपाई र मङ्सिरको दाँइ
कसैको नगरेर बिझाई
धानका बालाको मालाको ह्याई र
कोदाका बालाको डालाको
स्याई- स्याईमा रमाएको मान्छे
म त
अलिमाथि पहाडको मान्छे
गाउँलेको छोरो
भन्ज्याङ र खोला -नालाको दर्सक-बारीका पाटा र खेतका गराको सर्जक
प्यूना र नालुङको पाले
यसो गर उसो गर भनेर अराएकाले बाले
कहिल्यै सिक्न नपाएको समयघाति प्रपञ्चको आलेटाले
म त
गरिब बाबुको धनी छोरो
सात समुन्द्रपारि दगुरी रहेको अर्धलास
एकोहोरो मान्छे।।
एकादेशको माथि पहाड
अर्को देशको तल तराई
जन्माई हुर्काई एका अर्का देशको
आड भरोसाको आदान प्रदानको मान्छे
ऐले कुहिराभित्र हराइरहेको काग झैँ
लाखौँ लाखभित्र हराइरहेको कराई रहेको दुर्गमको एकादेशदेखि
देखी- देखि, देखादेख सुगमको मान्छे
टोपी,धाेती,धरो मूलकुरो छोड्दै गएको मान्छे भित्र देखिरहेको मान्छे भित्रको मान्छे।