माया
ऋचा तिवारी
काठमाडौ
ऊसँग परिचय इन्टरनेटमा भएको थियो । सामान्यः साथी थिए उनीहरू, सामान्य र्वातालाप भैरहन्थ्यो । ऊ विदेशमा थियो र उनी स्वदेशमा । उनीहरुका भावनाहरु एक अर्कामा पुग्न यहि वेतारको सम्बन्धले सहयोग गरिरहेको थियो ।
कहिले साहित्य अनुरागी बनेर उसले उनको कविता पढेको पनि रहेछ, तस्वीर हेरेको रहेछ । उनीसँग मित्रता गाँस्यो अनि बीच धेरै भावनाहरु साटिए । ऊ नेपाल आउन लागेको रहेछ अनलाइनमा नै नम्बर छाडेको उनले भेटिन् । नम्बर टिपोट गरिन् । भेट्ने आशा र कौतुहुल्ता छायो मनमा अनि शुरु भए भेटने व्यग्रता, आशाका किरणहरु छरिए ।
भेटियो । कस्तो कस्तो भावना आयो मनमा एउटा रेष्टुँरामा चियाको चुस्की सँगै शुरु भयो त्यो पहिलो भेट उनको । भेट्दाको खुशी र विछोडको मन भारीपन लिएर विदा गरी उनी छुट्टीन । ऊ पनि आफनो बाटो लाग्यो । पुनः अनलाइन र फोन सम्पर्कमा रहने माजुरीमा । अब सम्बन्धको गति बढयो विस्तारै । भावनाहरु साटिए, मनहरु साटिए । भेटघाटको शुरुवात्–एउटा नयाँ मान्छेको आगमन उनको मनमा साथी बनेर ।
दिनहरु क्रमशः उनका वित्दै गए । यो साथी उनको साथी मात्र थिएन, यो सम्बन्ध साथीभन्दा उचाइमा थियो, शिरानमा थियो । वहारहरु आए उनको मनमा, जीवनमा । दिनहरु खुशीका दिए हरेक पल, जीवन बाँचे जस्तो नव यौवन जस्तो प्रेममा समर्पित गहिरो प्रेम मायाको आशक्ति, मनको भाषा मिलन । हरेक पटक भेट्दा मनमा पैदा हुने झन्कार । समय बितेको पत्ता नहुने भयो उनीहरुलाई । पलपल जीवनको हरेक मोडहरुको ख्याल गर्दै सुख, दुःख, पीडा बाँच्दै जीवन निरन्तर उनीहरुको वग्दै गयो । एउटा माया गर्ने साथ मायालु हात, मायाको मन उफ ! उनी सम्झन्छिन् कहाली लाग्छ–कहिलेकाहीँ जीवन देखि । कतै यो समय सम्बन्ध टुट्ने त होइन भनी । हरेक पलपल डर–त्रासको छाँयामा बाँचीरहेकी हुन्थिन् । उनी कसैलाई गुमाउन पर्ने सम्भाव्यतामा पलपल मर्दै बाँच्छिन्, मायाको आशामा उसको । एउटा आदर समर्पण साथ कति ठुलो र गहन कुरा रहेछ मायामा बल्ल उनले बुझिन् ।
यसरी जीवनका लहरहरु वित्दै गए । समयका छालहरुसँग तर, आँधी आउन सक्ने डर पनि थियो । मायाको समुद्रमा कहिले काहीँ आँधी पनि आउने गरेको थाहा थियो उनलाई । हो, त्यस्तै भयो उनको मायामा । आँधी आयो । तर पनि विच्चलित भइनन् । एउटा प्रेमीका उसको जीवनमा भने अर्को महिलाको र सम्बन्धपूर्व प्रवेश बारे अनभिज्ञ उनी रहिछन् ।
त्यहि पनि उनले सम्बन्धलाई सामान्य पारिन् । उनको मनले विर्सन सकिनन्, न उसले सक्यो । त्यही पनि त्यो सम्बन्ध अगाडि बढ्यो । मायालाई कसले रोक्ने र छेक्ने, निर्वाध रुपमा उनीहरुले माया गरिरहे । अनन्तसम्म । कस्तो माया थियो, यो न कुनै लक्ष्य थियो न कुनै अन्त्य र शुरुवात् ।
त्यही पनि माया गरिरहे, एउटा परिधिमा रहेछ अटूट रुपमा । उसको हरेक खुशी र सुख, पीडामा उउटा मलम बनेर आएको थियो ऊ उनको जीवनमा । कहिलेकाहीँ लाग्दथ्यो, उनीहरु तसलिमा नसरिनको आत्मकथा–प्रेम र जीवनको पात्र रुद्र र तसलिमा जस्तो प्रेमी थिए, हरेक पीडामा साथ दिने । एउटा सागर थियो मायाको उनीहरुको मनमा । भेटघाट, माया प्रेम परिवारको बारेमा सबै कुरा ऊ सँग उनले निर्वाधरुपमा भन्दथिन् । उनी मनदेखि यो मेरो श्रीमान् नै हो भन्ने सोच्दथिन् । तर व्यवहारमा श्रीमानलाई गरिने कतिपय व्यवहारहरु वर्जीत थिए उनीहरुका लागि । सिन्दुर र पोतेबिनाका श्रीमान– श्रीमती थिए उनीहरु । मायाका जोडीहरु मायामा सीमा थियो उनीहरुमा । सीमासहित माया गर्दै गए तर, पनि ।
सबैलाई सबै थाहा थियो तर, थाहा नपाएजस्तो गरिरहेका थिए । उनले पनि साथ दिइन् । दिनहरु वित्दै गए । एक्कासी उनको जीवनमा परिर्वतनका मोडहरु आए । समयले कोल्टे पार्यो उनीहरुबीच दुरीका दिनहरु आए । उनीहरु टाढा भए यत्तिका समयसम्म सँगै रहेका उनीहरु कसरी टाढा हुने भन्ने मनमा थियो । धेरै जटिल थियो । त्यो समय उनीहरु मानसिक रुपले पनि अस्तव्यस्त भएर बाँचेका थिए । कहाँ कता किन एक्कासी यो निर्णयले उनको मनलाई लखेट्यो । त्यही पनि कसले के गर्न सक्ने र समयको अघि ? ऊ गयो एकान्तमा उनलाई छोडेर । अब उनको हालत के होला जो गयो । ऊ नयाँ ठाउँमा रमाउँछ तर, सँगै बितेका स्थानहरु देख्दा निः मन कहालिन्छ सम्झनाले । उनले उसको याद, कति याद गर्यो खै तर पनि।।। । क्षण र स्थानले जीवनमा महत्व राख्छ जीवनसँग जोडिन्छ । अझ कसैसँग बितेका पलको त के वयान सम्झँदा नै मन गह्रौ भएर आयो उनको । आँखाामा आसु छैन । तर, पनि मन रोयो आँसुबिनाको मनको रुवाइ कस्तो होला उनको । त्यो उनको मनको आँसुले उसको मन फर्कन सक्दैन भन्ने थाहा थियो । उनी एक्लोपन तिर गाँजिदै थिइन् ।
सधै रोएर उनी के गर्दथिन् । उता उसको व्यवहार मायामा फरकपन आउन थाल्यो । अब झन् सम्बन्धमा चिसोपन आयो । उनले महसुस गरिन् । तर, पनि ऊ त्यस्तो नसोच्न आग्रह गर्दथ्यो । खै के थियो त्यस्तो जसको कारण उनीहरूबीच असामान्य बन्यो ।
त्यस्तो माया गर्ने ऊ आज उनलाई किन फरक भयो सोच्न थालिन् । हरेक प्रसंगहरु सम्झीन्, कतै केही गल्ती थियो कि पत्ता लागेन। बिना कारण सम्बन्ध चिसो भइरह्यो । अब त्यही चिसोपन टाढा हुनुको अर्को कारण बनेर आइदियो । उनी एक्ली भइन् । शून्य सरी मनभरि त्यस्तै त्यस्तै तर्कना अब केही सोच्ने शक्ति आएन ।
वाध्यता र विवशताको शिकार बनेर उनी आफ्नो जीवनमा संघर्ष गर्दै साथको कामना मनमा, हृदयमा तर त्यो सम्भव नै थिएन । त्यही पनि उनी त्यति कठोर बन्न सक्दिन थिइन् कि सब क्षण विर्सेर । तर, अर्को जीवन रोज्दै कदापि सक्दीन थिइन् । उसले सक्छ तर, उनले सकिनन् । जीवनहरु परिर्वतन भए, क्षणहरु भावनाहरु मनहरु । कस्तो क्षण उफ् ! यो जीवनको हो यही क्षणले जीवनलाई कठोर बनाउँछ । गलत या सही निर्णयमा लान्छ ।
उनीहरु एक–आपसमा नितान्त अन्जान बन्न गए । अनि त्यो साथ जीवन बिलाएर गयो उनीहरुको जीवनमा इतिहासको पाना बनेर ।