मारेर मर्दैन त्यो

कुबेर कुईकेल (भुवानेटारे)
अमेरिका

माटोमा हतियार शत्रु हमला देखेर भाग्दैन त्यो
आमाको अपमान देख्न नसके यो ज्यान भन्दैन त्यो
योद्धा हो इतिहासमा रगतले गाथा भरीदिन्छ त्यो
धर्ती रक्षक वीर त्यो सहिद हो मारेर मर्दैन त्यो

छातीमा अपमानको जल भरी बाँचेर मर्दैन त्यो
लाछी काँतर तुच्छ जीवन निजी भिक्षा उ माग्दैन त्यो
तातो तोप र अस्त्र राइफल यो बोकेर थाक्दैन त्यो
धर्ती रक्षक वीर त्यो सहिद हो मारेर मर्दैन त्यो

यात्रामा कठिनाइ कष्ट छ ठुलो भोगेर डग्दैन त्यो
माथाको पसिना पुछेर कहिले थाकेर बस्दैन त्यो
आँखाको अगि शत्रु पक्ष दरिलो देखेर डर्दैन त्यो
धर्ती रक्षक वीर त्यो सहिद हो मारेर मर्दैन त्यो

माताको जिउ ज्यानको छ ममता भो पीठ थाप्दैन त्यो
छातीमा अघि शत्रुको दमनमा गोली उ थाप्दैछ त्यो
कात्रोको पगरी चिहान र चिता बोकेर हिड्दैछ त्यो
धर्ती रक्षक वीर त्यो सहिद हो मारेर मर्दैन त्यो

रक्षा लक्षित तेज देशहितमा दौडेर थाक्दैन त्यो
गोला बन्दुक तोप बम लौ खाएर मर्दैन त्यो
नाकामा जननी वचाउ दलमा लौ शत्रु ठोक्दैछ त्यो
धर्ती रक्षक वीर त्यो सहिद हो मारेर मर्दैन त्यो

घेरामा परियो भनेर डरले बाहाँ उठाउन्न त्यो
के ज्वाला रणभूमिको पवनमा भोगेर रोकिन्न त्यो
पक्का देश मयूखमा अमर यो जीवन्त बाँच्नेछ त्यो
धर्ती रक्षक वीर त्यो सहिद हो मारेर मर्दैन त्यो

धम्की शत्रु विपक्षको कहरले मैदान त्याग्दैन त्यो
माटो आँसु बलिन्द्र रक्त भलमा छोडेर भाग्दैन त्यो
जाबो जीवन मर्छ एक दिन यो बाँचेर झुक्दैन त्यो
धर्ती रक्षक वीर त्यो सहिद हो मारेर मर्दैन त्यो

छन्द-शार्दूलविक्रीडित

Leave a Reply

Your email address will not be published. Required fields are marked *