मिनिमिलिजम
युवराज घलेभाइ
सिक्किम, भारत
मिनिमलिजम एक अंग्रेजी शब्द हो । जब कोही मिनिमलिजमलाई अपनाउँछ,ऊ एक मिनिमलिस्ट बन्छ । मिनिमलिजमलाई एक दर्शनको रुपमा लिन सकिन्छ । कोही ” मिनिमलिस्ट ” भएमा, त्यसले जीवनलाई सरल राख्ने उसको रुचि बुझाउँछ । जीवनलाई सरल राखेर न्यूनतम ढङ्गमा जीवन यापन गर्नु नै ” मिनिमलिजम ” हो । जीवनका कतिपय भौतिक वस्तु त्यागेर ” मिनिमलिस्ट ” बन्न सकिन्छ । यसको कला मानिसको जीवनशैलीसँग प्रत्यक्ष रुपमा जोडिएको पाइन्छ । यस काइदाका जीवन अप्नाउने निक्कै कम व्यक्ति हुन्छन् । अहिलेको २१औं शताब्दीमा विज्ञान र प्रविधिमा भएको परस्पर विकासले मानिसलाई भौतिक सुविधा र आनन्दमा जकडेको कुरा छर्लङ्ग छ । मानिस प्रविधि र भौतिक सुविधा बिना अपुरो छ,अधुरो जस्तै छ । मानिस सुख-भोग गर्न पूर्ण रुपमा भौतिक वस्तुसँग जोडिएको पाइन्छ । माकुराको जालो सरी बुनिएको यस भौतिक दुनियाँमा मानिस किरा जसरी फसेको छ । मानिसलाई त्यसबाट उम्किन निकै नै गार्हो परेको देखिन्छ । यस्तो परिस्थितिमा मानिस भौतिक सुखलाई कम गर्दै मिनिमलिजम सिद्धान्त अपनाउन त्यति इच्छुक देखिँदैन ।
* यस सिद्धान्तले के भन्छ ?
यसले पूर्ण रुपमा भौतिक र प्राविधिक सुखबाट वञ्चित गराउने कुरा गर्दैन । यसले, मात्र जीवनमा आफूलाई अल्झाउने अनावश्यक तत्वबाट वञ्चित रहन प्रेरित गर्छ । जीवनबाट आफूलाई विचलित गराउने चिजहरु हटाउने र आफ्नो जीवनलाई महत्त्वपूर्ण कुरामा मात्र केन्द्रित गराउन प्रेरणा दिन्छ यस सिद्धान्तले ।
यस व्यावहारिक दर्शनका अनुयायी ” जोसुवा बेकर ” आफ्नो किताब ” सिम्पिलफाई ” – सिम्प्लिफाई ( Simlify ) – लेख्छन् , उनी आफ्नो छिमेकीका केही वाक्यबाट ‘ मिनिमलिजमतर्फ ‘ – आकर्षित भएका हुन् । बिदाको समयमा घरको ग्यारेज सफा गरिरहेका उनको परिवार थकित अवस्थामा देखेर उनका छिमेकीले भनेको एक वाक्य छ ” द मोर स्टफ यू , द मोर स्टफ वन्स यू “- The more stuff you own, the more yours stuff owns you. यो वाक्य उनको दिमागमा यसरी गढयो कि उनको मन,मस्तिष्क र आत्मा समेत यो कुराले अति प्रभावित भयो । यो एक वाक्यले उनको सम्पूर्ण जीवनको गति परिवर्तन गरिदियो । उनले यो कुराको चर्चा उनकी पत्नीसँग पनि गरें । त्यसपछि उनले ” मिनिमलिजमको विषयमा अनुसन्धान गर्न थालें ।” उनले त्यस विषयमा जति पढन थालें त्यस कुरालाई त्यति नै बढी चाहन थालें । त्यसकी एक मिनिमलिस्टको जन्म भयो “- उनी आफ्नो किताबमा लेख्छन् । साँच्चै नै , मिनिमलिजम के हो भनेर बुझ्न प्रमुखत : पहिले आफ्नो मनलाई विश्वस्त पार्नुपर्छ । आफ्नो मन विश्वस्त भए पश्चात् मन परिवर्तनदेखि कम डराउँछ । आफ्नो दैनिक जीवनशैलीभन्दा निकै नै फरक र शुरुवातमा कठिन हुन्छ । मिनिमलिस्ट जीवनशैली । सरल जीवन जिउनको खातिर मिनिमलिस्ट बन्ने गन्तव्यको पहिलो चरण नै परिवर्तन सहज गर्नु हो । जीवनमा आएको परिवर्तनलाई सरलरुपमा स्विकारे”मिनिमलिस्ट” बन्ने लक्ष्य केही सहज भएर जान्छ ।
मिनिमलिस्ट बन्ने यही शैली चाहिँ एकदम ठीक हो भन्ने नै हुँदैन । तपाईंको गन्तव्य अरु भन्दा फरक हुन्छ , त्यसैले ‘ मिनिमलिस्ट ‘ बन्ने शैली पनि फरक नै हुनसक्छ ।
मिनिमलिस्ट भन्नाले कम भनेर बुझ्दा गलत नहोला । तर ‘कम’ यस अर्थमा,नचाहिँदो भन्दा थोरै र अपुग भन्दा अलि बढी । जीवनका हरेक श्रोतलाई चाहे अनुरुप सिमित राखी जीवनयापन गर्नु नै मिनिमलिस्टको लक्ष्य हो ।
मिनिमलिस्ट जीवनशैली अप्नाउनुको फाइदा
यस जीवनशैली अप्नाउनुका धेरै फाइदा छन् । प्रमुखत: खर्च कटौती र पैसाको बचत नै पर्छ । यस जीवनशैलीमा नचाहिँदो कुरामा खर्च धेरै हुँदैन जसले बचतलाई बढावा दिन्छ र आर्थिक उन्नतितर्फ उन्मुख गराउँछ । अर्को फाइदा, जीवनको यस धारमा बगिरहँदा तनावले पनि त्यति तङ्ग गर्न पाउँदैनन् । अनावश्यक वस्तुहरुको बोझ घटाइ जीवनलाई तनावमुक्त बनाउन मिनिमलिजमका व्यावहारिक सूत्रहरु अति उपयोगी हुन्छन् । साथै, मिनिमलिजमले आफ्नो दैनिकीमा स्वतन्त्रताको पनि अभिवृद्धि गराउँछ । चाहिँदोभन्दा बढी भौतिक वस्तुहरुसँगको बन्धनलाई तोडन समेत यसले सहयोग गर्छ । यसले जीवनमा तनाव,दु:ख र झमेलाको फिल्टरको जस्तो कामपनि गर्छ । सँगसँगै यसले वातावरणलाई समेत संरक्षण गर्छ । जति थोरै सामग्री हामी किन्छौ र उपयोग गर्छौ,त्यति नै हाम्रो वातावरणमा क्षति हुन्छ । मिनिमलिस्ट जीवनशैलीले हाम्रो जीवनलाई उत्पादनशील समेत बनाउँछ । थोरै सामाग्री उपभोग गर्दा आफ्नो रुचि लागेको क्रियाकलाप बढी समय दिन सकिन्छ । यसले केही हदसम्म समयको समेत बचत हुन्छ ।
आफ्नो घरमा चाहिँदो ठिक्क मात्र सामानहरु हुँदा घरमा छुट्टै किसिमको आकर्षण कायम हुन्छ । मिनिमलिस्ट बन्नूका यस्ता अन्य कैयौं लाभहरु छन् I मिनिमलिस्ट बन्न कतिको कठिन छ ? जोसुवा बेकरलाई नै एक अन्तर्वार्तामा सोधिएको प्रश्न , को जवाफमा उनले भनेका थिए – ” मिनिमलिस्ट बन्न शुरुवातमा मलाई निकै कठिन लागेको थियो र म अझै पनि मिनिमलिस्ट बन्ने प्रक्रियामै छु । यो एक लामो चरणको प्रक्रिया हो । आजको भोली कोही पनि मिनिमलिस्ट बन्न सक्दैन । मिनिमलिजम भौतिक चिजहरुसँग मात्र सम्बन्धित छैन, यो प्रक्रिया भावनात्मक पनि छ । ” अर्को प्रश्न, भौतिक प्रविधिहरुले मिनिमलिजममा कत्तिको सहयोग पुर्याउँछन् । या प्रविधि हानिकारक छ ? – को जवाफमा उनले यसो भनेका छन् – ” दुवै हामी अहिले यस्तो समयमा छौं जहाँ प्रविधिले हाम्रो जीवन सिमित गरिदिएको छ, धेरै कुराहरुलाई प्रविधिले प्रतिस्थापना गरिदिएको छ । यसले समयको बचत त गर्ने भयो साथै प्रयोगमा आउने विभिन्न भौतिक वस्तुहरुबाट पनि छुटकारा दिलाउँछ । उदाहरणका लागि मोबाइल फोन अहिले विश्वप्रख्यात प्रविधि हो । यसको प्रयोगले हाम्रो जीवनमा प्रयोग हुने अन्य वस्तु जस्तै टेलिफोन,क्यालकुलेटर,घडी,क्यामेरा आदिबाट हामीलाई मुक्ति दिएको छ । यति हुँदाहुँदै पनि कुनै समयमा प्रविधि जीवनलाई बोझ समेत बन्न सक्छ । कूल मिलाएर मेरो विचारमा प्रविधि हानिकारक भन्दा फाइदाकारी नै बढी देखिन्छ ।”-
साथै अर्को मुख्य प्रश्न , यदि म मिनिमलिस्ट सिद्धान्त अपनाउन चाहन्छु भने मैले कसरी शुरुवात गर्ने ? – को जवाफमा उनी भन्छन् , ” शुरुमा तपाईले मिनिमलिजमको बारेमा अध्ययन गर्नुपर्छ । त्यस पश्चात् मिनिमलिजम मेरो लागि किन उचित छ भनि विश्वस्त हुनुपर्छ । शुरुआत सानो गर्नुपर्छ, शुरुआत आफ्नो दराजबाट गर्नु , अनि एउटा कोठा, अनि अन्य कोठाहरु । बिस्तारै तपाईलाई खुल्ला र स्वतन्त्रताको अनुभूति हुँदै जान्छ ।
मिनिमलिजमको सिद्धान्तमा एउटा भनाइ प्रख्यात छ – ” लेस इज मोर “- ( Less is more ) हुन पनि, जब विवरण थोरै हुन्छ तब कल्पनाशक्तिका लागि ठाउँ धेरै हुन्छ साथै थोरै तत्व हुनका लागि धेरै समय र रचनात्मकताको आवश्यकता हुन्छ । यसरी मिनिमलिजमलाई समावेश गरेर हामीले आफ्नो जीवनमा चिरस्थायी सुख र खुशी ल्याउन सक्छौं । हामीले जीवनमा चाहेका कुरापनि त तिनै होइनन् र ? हामी सबै खुशी हुन चाहन्छौं । मिनिमलिस्टले भौतिक वस्तुहरुबाट खुशी नखोजी,आफैबाट खुशी पाइरहेका हुन्छन् । मिनिमलिजमबाट मैले पनि धेरै कुरा सिक्ने र अनुभव गर्ने मौका पाएँ । आजको क्षणमा बाँच्ने, समयको सहि सदुपयोग गर्ने,आफ्नो रुचिलाई अपनाउने,वास्तविक स्वतन्त्रताको अनुभव गर्ने,आफूलाई मात्र भन्दा अन्य कुराहरुलाई पनि योगदान दिने,नचाहिँदो कुराहरुबाट छुटकारा पाउने । साथै जीवनको अर्थपूर्ण उदेश्यको खोजी गर्ने जस्ता महत्त्वपूर्ण ज्ञान मिनिमलिजमद्वारा मैले प्राप्त गर्ने मौका पाएँ । अब पालो तपाईहरुको । मिनिमलिजमलाई आफ्नो औजार बनाउनु होस् , आफ्नो जीवनको गति र जीवन जिउने तरीकालाई पूर्णरूपमा परिवर्तन गर्नुहोस् । मिनिमलिजमले जीवनमा ल्याएको परिवर्तन आफ्ना साथीभाइहरुसँग बाँडनुहोस् र अरुको जीवनमा पनि केही राम्रा परिवर्तनका लागि योगदान पुर्याउनु होस् ।