मिहे बिनाको दाइँ
आइ पी अधिकारी
‘यो घरको भात खाएर दुनियाँको लागि काम गर्छ, यसलाई पालेर के काम?’ मोहन गर्ज्यो । उसको रिस भाइ कृष्ण प्रतिको हो ।
मोहन भाइलाई कहिल्यै राम्रो दृष्टिले हेर्दैन । अपांग भएर पनि उसका लागि कृष्णले गरेको गुण मोहनलाई सम्झना छैन वा ख्याल गर्दैन । अर्थात मोहनको ठम्याई हो, कृष्णले उसका लागि केही गरेको छैन ।
कृष्ण बाहिर भित्र पनि गर्न सक्दैन । उसका निम्ति एउटा व्हील चेयर किन्ने कसैले सोचेनन् । शारिरिक रुपमा अपांग भएर पनि उसले आफ्नो विद्वताको परिचय दिएको छ । दैवले शारीरिक क्षमता परिवारका अरु सदस्यलाई दियो वल्की बौद्धिकता उसलाई । सानो चिटिक्क परेको परिवार भए पनि यो शारीरिक र बौद्धिक क्षमतालाई एकत्रित गरेर फाइदा लिन यस परिवारले सकेन ।
कृष्ण कम बोल्छ । धेरै पढ्छ र लेख्छ । छिमेकी सामाजिक कार्यकर्ताले उसलाई पढ्न पुस्तकालयबाट किलाब ल्याइदिन्छन, साताको एउटा । तिनले कृष्णलाई लेख्नको लागि कम्प्युटर पनि किनिदिएका छन् । यसबापत कृष्णले तिनका लागि केही काम गर्दिन्छ । यही कुरा मोहनलाई मन परेको छैन ।
मोहन एउटा व्यापारिक प्रतिष्ठानको बजार व्यवस्थान गर्छ । सानो भाइ र दुई बहिनीहरु पढ्छन् । मोहन मान्छेसित बोल्न खुब खप्पिस छ । तर बजार व्यवस्थापन रणनीति बनाउने ऊसित गतिलो सीप छैन । त्यसैले आफ्नो काम परेका बेला भने उ कृष्णसित नजिक हुन्छ, नरम हुन्छ ।
‘नयाँ कार बजारमा ल्याउनु छ । त्यसका लागि विज्ञापनका तरिका, कारको विवरण आकर्षक भाषामा तयार गरिदे है भाइ,” धेरै पछि कृष्णले दाजुको मुखबाट मीठो वचन सुन्यो । मीठो वचनले उसमा जागर थप्छ । काम गर्ने साहस आउँछ ।
‘कुन ब्राण्डको कार?’ उसले सोध्यो ।
‘सेन्ट्रो जिङ’ ।
दाजुको काम बाहेक कृष्ण भाइ बहिनीलाई पढाउँछ । होमवर्क गर्न मद्दत गर्छ । भाइबहिनीसित उसको राम्रो प्रेम छ । दाजु मोहन त्यति घरमा नबस्ने भएकाले कृष्णसित नै भाइबहिनीको बढी हेलमेल हुन्छ । यसले भाइबहिनीलाई मोहनभन्दा पनि कृष्णको नजिक ल्याएको छ । केही समय यता मोहनलाई यसरी झाङिदै गएको कृष्ण र भाइबहिनीको प्रेमप्रति पनि क्षोभ लागेर आएको छ । उसले डाह गर्न थालेको छ । ऊ चाहान्छ भाइबहिनी ऊप्रति नै नजिक रहुन् । भाइबहिनीमा विस्तारै कृष्णप्रति घृणा फैलाउने ध्याउन्नमा मोहन लागेको छ ।
सुरुका दिनमा घरको सबै खर्च-बर्च मोहनले सम्हालेको थियो । एक हिसाबले ऊ परिवारको हर्ता कर्ता नै हो । समय फेरिदै जाँदा कृष्णले पनि केही कमाउन थाल्यो । कृष्ण घरमै बसेर आउट सोर्सिङ मार्फत काम गर्थ्यो । उसको कमाईको पहोलो केही किस्ता मोहन आफै गएर बटुलेर ल्यायो । तर कृष्णले आफ्नो कमाइको अनुहार पनि देख्न पाएन । आफ्नो कमाई देख्न सम्म नपाउदा कृष्णको मन अमिलो भएको छ । न मीठो बोली वचन सुन्न पाउँनु छ, न त आफ्नो कमाई देख्न नै पाउनु । यद्यपि घरमा बोली सक्नु छैन । उसलाई थाहा छ, आफू यहाबाट निस्किए दाजुको जागिर पनि राम्रो चल्ने छैन अनि भाइबहिनीहरुको पढाइमा पनि असर पर्ने छ । उसलाई यो पनि थाहा छ, यस परिवारबाट बाहिर गएर उसले छहारी लिने ठाउँ पनि छैन । यसले पनि ऊ, कुटाई, मिथ्या वचन र गाली सहदै पनि बस्न बाध्य छ ।
कृष्णले विस्तारै स्ववलम्बी बन्ने निधो गर्यो । सामाजिक कार्यकर्ताले उसलाई यसमा हैंसे थपे । धेरै प्रयत्नपछि सरकारी सहयोगमा व्हील चेयर किनेपछि कृष्ण बाहिरको संसार देख्न सक्षम भएको छ । आउट सोर्सीङबाट कमाएको पैसा अब ऊ आफैं गएर ल्याउछ । सामाजिक गतिविधिमा पनि सहभागिता जनाउन थालेपछि दुनियाले उसको विद्वताको परिचय पाएको छ ।
दुनियाको सम्मानले कृष्णमा उर्जा थपे पनि मोहनको मनमा यसले नुन-चुक थपेको झैं भएको छ ।
‘दुइ पैसा कमाउन के सक्ने भएको थियो, कुकुरले गुहु लुकाए जस्तो लुकाउन थाल्यो । परिवारमा बसे पछि त परिवारको भलोको लागि काम गर्नु पर्छ । गाउँमा चटक देखाएर घरमा खान पाइन्न । खान र बस्न घर चाहिन्छ भने घरको काम गर्नु,’ मोहनले फेरि रिस पोख्यो ।
‘मैँले त्यस्तो नराम्रो काम के नै गरेको छु र?’ आखाभरी आसु पार्दै कृष्ण बोल्यो ।
‘ऊ अब त यो लङ्गडो मुख फर्काउन सक्ने भो । तिमीहरु के हेरेर बस्दै छौ?’ मोहनले भाइबहिनी तिर हेरेर भन्यो । सामाजिक गतिविधिमा सामेल हुन थालेपछि भाइबहिनीको पढाइमा उसले त्यति ध्यान दिन नसकेको कारण भाइ पनि ऊ प्रति रिसाएको जस्तो छ । उसले दाजु मोहनको पक्ष लियो, ‘हो त, घरको काम छाडेर गाउँ डुल्ने हो र?’
भाइको साथले मोहन हौसियो । बहिनीहरु टुलु टुलु हेर्न बाहेक केही गर्न सक्ने क्षमताका छैनन् । घरको सदादिनको झगडाले मन पिरोले पनि तिनीहरु मुख खोल्न सक्दैनन् । भगवानले महिलालाई दिएको चुप लागेरै दु:ख पचाउने क्षमता नै यी बिचरीहरुको सखा छ आज ।
‘यसलाई घरबाट निकाल्नु पर्छ,’ मोहनले एक लात बजार्यो कृष्णको व्हील चेयरमा । कष्ण भुइँमा लड्यो । व्हील चेयर उछिट्टिएर पल्लो छेउमा पुगेर बजारियो । कृष्ण घोप्टो परेर रुन थाल्यो। बहिनीहरु एक कुनामा सुकसुक गरेको आवाज आउन थाल्यो । भाइ अक्न न वक्न बनेर हेरिरह्यो । उसको बोलीले वातावरण कसरी अचानक बदलियो, ऊ आफैँलाई थाहा छैन । मोहन भने गाली गरेर थाकेको छैन । ऊ लडेको कृष्ण र टुटेको व्हील चेयरलाई हेर्दै फत्फताई रह्यो ।