मुख

कवि

मनोज बोगटी
दार्जीलिङ्ग, भारत

काँटी ठोकेका जस्ता देखिन्छन्‌ दाँतहरू।
जिब्रोको सुरक्षामा बसेको हो कि
जिब्रोलाई बन्दी बनाएको हो।

फुटेको ओंठभित्र
साङ्ली घसार्छन आवाजहरू।

भित्रबाट भद्दा गीतले मुन्टो निकाल्छ
साउती जस्तो बज्छ
पीढ़ा हो कि त्यो
बिरोध हो।

खिया पलाएका दाँतहरू
मञ्जनबिनै बस्छन्‌
ठँस्स गन्हाएर।

जब गेट जस्तो खोलिन्छ दॉंत
त्यहाँबाट भुर्र उड्छ
दबिएका पुराना सास
दुर्गन्धको पखेटाले।

खै गन्हाएको
व्रत बसेको गाउँलाई?

गान्धीजीलाई भजन बनाएर हिँड़ने साधुहरूको निधारको धर्का
कुन घर जलेको खरानीको हो?
घरै जलेको हो कि
जमीन।

पुरानो पीढ़ाको स्वाद
दाँतमा अझ अल्झेको छ कि क्या हो।

दाँतै फुक्लिएपछि जिब्रोले पाउने सास्तीको कथा
हामी मिलेर लेख्नु पर्छ होला
हो कि इन्द्रबहादुर राईज्यूमा पनि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *