मुगलान बारे मेरो भनाइ
डा. कमला साङ्कृत्यायन
दार्जिलिङ, भारत
(डा. कमला साङ्कृत्यायन (सन् १९२०–२००९) महापण्डित राहुल साङ्कृत्यायनकी धर्मपत्नी स्वयम् पनि एक सुविख्यात स्रष्टा,समीक्षक र साहित्य साधक हुन् । ४० वर्षअघि उनलाई भेट्न म दार्जिलिङ पुगेको थिएँ । त्यसपछि उनले लेखेर पठाएको ‘मुगलानबारे मेरो भनाइ’ मेरा पुराना कागजमा लुकिरहेको पाएँ । ३९ वर्षपछि यो लेख उनै विदुषीको सम्मानमा यहाँ प्रस्तुत गर्दछु । यसको पाण्डुलिपि मसित सुरक्षित रहेको छ— गोविन्दराज भट्टराई)
फेरि दस वर्षपछि मैले श्री गोविन्दराज भट्टराईद्वारा लिखित मुगलान उपन्यासको तेस्रो संस्करणलाई आद्योपान्त पढेँ । दस वर्षअघि पढ्दा मेरो हृदयमा यस उपन्यासले जस्तो प्रभाव पारेको थियो, त्यही प्रभाव मैले आज पनि अनुभव गरेँ । समालोचना शास्त्रको दृष्टिले साहित्य लेखनका दुई पक्षहरू हुन्छन्— भावपक्ष एवम् कलापक्ष । मुगलान उपन्यासलाई समालोचना शास्त्रको कसीमा कस्ने हाम्रा विद्वान् समालोचकहरूले त्यसमा कलापक्षको अभाव भएको सङ्केत गरेका छन् । तर यहाँ मलाई लाग्छ— यस उपन्यासले जुन कथ्य भनिरहेको छ, यसको कथामा जुन यथार्थता छ, त्यसलाई शास्त्रीय नियमहरूको बन्धनमा बाँधेर भन्न खोज्दा कथावस्तुको सरलता, मार्मिकतालाई बाधा पर्न जान्छ । ठूले, कार्की, सुतार जस्ता निर्धा, सरल हृदय भएका मुगलानिएका पात्रहरूको मार्मिक जीवन कथालाई उपन्यासकारको निष्ठापूर्ण, सोझो एवम् यथार्थ शैली नै उपयुक्त ठहरिन्छ । यसो हुनाले मुगलानका पाठकहरूले ठूले, कार्की तथा सुतारको जीवनको करुणापूर्ण यथार्थलाई राम्ररी बुझ्न सक्तछन् ।
औपन्यासिक तत्त्वहरूसित हाम्रा शास्त्रीहरूले खुट्ट्याएको समालोचनामा यो उपन्यास सफल नभएको भए आज दश वर्षभित्रै यसको चतुर्थ संस्करण प्रकाशित हुन लाग्नु सम्भव थिएन । मेरो विचारमा त यस उपन्यासको तात्त्विक दृष्टिले समीक्षा गर्ने समीक्षक बुर्जुआ समीक्षकहरू हुन् । जसले मानव जीवनको ती मर्मस्पर्शी अनुभवहरू कटुसत्य एवम् करुण यथार्थताको अनुभव गरेका हुँदैनन् ।
मुगलानमा दारिद्य्रको पिर मार्का, भोक तिर्खा, मनुष्यको सोझोपन, मानवको दानव रूप सबैको यथार्थ चित्रण भएको छ । मुगलान हामीलाई यति मन पर्नुको एउटा बेग्लै कारण छ । हाम्रा पितापुर्खाहरु पनि यसरी नै पैसाको अनुहार हेर्ने लक्ष लिएर मुगलान (भारत) पसेका थिए । आज भन्दा ८०–८५ वर्ष अघि । ठूले, कार्की, सुतार आदि मानिस झैँ हाम्रा पितापूर्खाहरुले दुई नम्बर ओखलढुङ्गादेखि गुन्द्री बजार (दार्जिलिङ) तथा कालेबुङसम्म आइपुग्न भुटेको मकै हाँक्दै पैदल हिँड्दै २२ दिन लगाएका थिए । अन्तर यति नै हो कि उनीहरूले कालेबुङलाई मुगलान भन्ठानेर त्यहीँका स्थानीय बासिन्दा भएर बसे । तर पिर मार्का जीविकाको निम्ति सङ्घर्ष सबै कार्की र सुतारका झैँ रह्यो । अघि अघि पहाडबाट पैसा कमाउन भनेर मुगलान पस्नेहरुकोजुन अवस्था हुन्थ्यो, त्यसको अक्षरशः सत्य चित्रण मुगलान उपन्यासमा भएको छ । अचेल पनि मुगलानको आकर्षणले पहाडका मानिसहरू पैसा कमाउन आउने गर्दछन् । ठूले, कार्की र सुतार जस्ता मानिसहरू अझै पनि सङ्घर्ष गर्दैछन् । तर उनीहरूले असली मुगलानलाई राम्ररी चिनेका छन् । अन्तर यतिमात्र छ कि अचेलका कार्की अथवा सुतार जस्ता पहाडी युवकहरू टाउकामा नाम्लोको डाम भएता पनि हातमा घडी र ट्रांजिस्टर लिएर हिँडेका छन् । समय एकैनास रहँदैन ।
तिनताक भोटाङमा गै डिपाइटे (सडक निर्माण कार्यमा कुल्लीको काम गर्ने मानिस) हुँदैन थिए । द्वितीय विश्वयुद्धको बेलामा पनि मुगलानका ब्रिटिस शासकहरूले कुहिमा (नागाल्याण्ड) देखि मणिपुरसम्म बाटो खन्ने, रोडा कुट्ने काममा जोताउन भनेर कालेबुङतिरबाट भर्तीमा जानु पर्छ, भन्दै छल कपट गरेर कतिपय १५–१६ –१७–१८ वर्षे ठिटाहरूलाई डिपाइटे बनाएर पठाए । यो १९४३ साल तिरको कुरा हो । ब्रिटिस सरकारले यी सिधा साधा निष्कपट एवम् महत्त्वाकाङ्क्षी ठिटाहरूप्रति पनि यस्तै दानवी शोषण ग¥यो र उनीहरूको जीवन नष्ट भएको छाँट देखेर दुईवर्षपछि छुट्टी दिई पठायो । फर्कँदा यी निर्धा युवकहरूको खल्तीमा एउटा पैसा थिएन, लाउने लुगाहरू फाटेर तारतार भएको, खेसरी दाल मात्र खाएको हुनाले हात गोडा बेकामे भएको पेटको रोगले ग्रसित तथा आफ्नो नाङ्गोपनलाई छोप्ने पर्याप्त वस्त्र पनि नभएको अवस्थामा कति दिन पैदल तथा गाडीमा यात्रा गरेर आआफ्ना घरमा आइपुगेका थिए । त्यो भर्ती चाहिँ कुल्ली भर्ती रहेछ भनेर ती ठिटाहरूले कुहिमा पुगेर मात्रै थाहा पाएका थिए । यी ठिटाहरूमा एक जना मेरा आफ्नै दाजु पनि थिए । चाहे भोटाङ होस, चाहे अङ्ग्रेजहरूमा होस, जहाँ बुर्जुवा समाज हुन्छ त्यहाँ मानवको रूपमा दानवहरू पनि हुन्छन्, त्यहाँ यस प्रकारको शोषण अवश्य हुन्छ जसको स्वरूप हामीले मुगलान उपन्यासमा देखेका छौँ । शोषणको जाँतोमा पिसिएका सर्वहारा गरिब पात्रले कि त विक्षिप्त हुनुपर्दछ, नत्र आत्महत्या गर्नु पर्दछ । यस्तो ज्वलन्त समस्या र कटु यथार्थलाई मुगलानले समेटेको छ । भोटाङको पृष्ठभूमिमा लेखिएको मुगलान नै यस्तो प्रथम उपन्यास हो ।
मुगलानको अर्को विशेषता छ— यसमा गरिएको प्रकृति चित्रण । उपन्यासकारको सूक्ष्म दृष्टि प्रकृतिमाथि बराबर रहेको छ । मानव जीवनको कटु यथार्थलाई पूर्णतः प्रमाणित गर्न प्रकृति चित्रणले पनि सघाउ पुर्याएको छ । भोटाङका डाँडा–काँडा, पर्वत पाखाहरूको प्राकृतिक वर्णन पढ्दा हाम्रा आँखाको सामु कुनै चित्रपटमा देखाइएको प्रकृतिझैँ देखिन्छन् ।
उपन्यासकारको यो पहिलो कृति हो, यसकारण यसमा लेखनलाई तात्त्विक दृष्टिले हेर्दा कतिपय कमीहरू छन् भन्ने आरोप लगाइएको मैले पढेको सुनेको छु । तर मैले अघि नै भनिहालेँ— औपन्यासिक तत्त्वहरूको शास्त्रीय बन्धनमा नबाँधिएको भए ता पनि यस कृतिको उचित मूल्याङ्कन गर्ने हाम्रा प्रबुद्ध पाठकहरू छन् । हाम्रा लेखक श्री गोविन्दराजज्यूका जस्तै अहिलेका हिन्दीका प्रतिष्ठित उपन्यासकार श्री राजेन्द्र यादवप्रति पनि आरम्भमा हिन्दीका दिग्गज समालोचकहरूले पनि यस्तै आरोप लगाएका थिए ।
श्री राजेन्द्र यादवको प्रथम उपन्यास, यथार्थ कथा वस्तुमा आधारित उपन्यास थियो जसको शीर्षक थियो— प्रेत बोलते हैँ । उनको यो यथार्थवादी कृति लोकप्रिय हुन्छ भनेर लेखकलाई पूर्ण विश्वास थियो । तर तिनको यो विश्वास चकनाचुर भयो । पुस्तक प्रकाशित भएको एक डेढ वर्षभित्रैमा पुस्तकका प्रतिहरू सस्तो दाममा दिल्लीका फुटपाथमा विक्री भए । यसका सर्जकलाई मनमा आघात लाग्नु स्वाभाविक थियो पछि दस वर्षभित्रमा उनका कतिपय उत्कृष्ट कृतिहरू छापिए लेखकको लेखनी परिमार्जित भयो । त्यसपछि उनले आफ्नो प्रेत बोलते हैलाई सम्पूर्ण कथासहित पुनर्लेखन गरेर । शीर्षक राखे सारा आकाश औ १९५२ सालदेखि आजसम्म यसका प्रायः बीस संस्करणहरू प्रकाशित भए र पुस्तकलाई धेरै कलेजका पाठ्यक्रममा पनि राखिएको छ । पुस्तकको आधा अंश माथि आधारित सारा आकाश नामक कलात्मक फिल्म पनि प्रदर्शित भएको छ ।
मुगलानका हाम्रा लेखकको पनि लेखनी अब परिमार्जित भइसकेको छ, र सुतारको जीवनकथाको उत्तरार्द्ध अंश भन्न अझ बाँकी नै रहेको छ । त्यस कारण उहाँले औपन्यासिक तत्त्वहरूको आधारमा सुतारको सम्पूर्ण कथालाई लिपिबद्ध गरिदिनु भो भने सुनमा सुगन्ध थपिने छ । मुगलान भाग्यशाली छ । अब यसको चतुर्थ संस्करण प्रकाशित हुन लागेको छ भन्ने खबर सुन्दा मन प्रसन्न हुन्छ ।
श्री गोविन्दराज भट्टराईज्यूको तिखारिएको कलमद्वारा निकट भविष्यमा पनि यस्तै सफल यथार्थवादी कृतिहरूको सृजन अवश्यै हुनेछ भन्ने म पूर्ण आशा राख्दछु ।
राहुल निवास
२१ कचहरी रोड
दार्जिलिङ (भारत)
दिनाङ्क ३० अगष्ट १९८१