मुगलान माथिको छोटो चर्चा

मधु घिमिरे
पेन्सिलभेनिया,अमेरिका

“मुगलान” उपन्यास डा. गोविन्दराज भट्टराईद्वारा लिखित एक अत्यन्त मार्मिक, हृदय विदारक र कारुणिक नेपाली उपन्यास हो I यस उपन्यासमा टन्न पैसा कमाएर घर फर्किने सुन्दर सपनाहरू मन मगजमा पोको पारी पल्टनमा भर्ती हुन जाने हाम्रा सोझा नेपाली युवकहरूको जीवन सङ्घर्षको आँधीमय आरोह अवरोहको कारुणिक कथा अत्यन्त मर्मस्पर्शी ढङ्गमा चित्रण गरिएको छ।
यस उपन्यासको मुख्य पात्र कान्छो सुतार हो। एक दिन धेरै गाउँलेहरू नुन तेल र बर्खे सामान एकै चोटि किन्न भनेर दोर्लिङ् बजार गएका हुन्छन्।अपसोच कान्छो सुतार र ठुले दोर्लिङ्गबाट बेपत्ता पर्छन्।उनीहरू पल्टनमा भर्ना हुने सुन्दर सपना हृदयमा सजाई मुगलान प्रतिको अपार मोह बोकेर एउटा ट्रकमा सिलगढी आइपुग्छन्।सिलगढी सहर देखेर दुई अनजान युवकहरू आश्चर्यचकित एवम् भयभीत बन्छन्। रिक्सावालाहरूको तानातानले ठुले र सुतार कान्छो हैरान हुन्छन्। यतिकैमा एक जना रिक्सावाला म पनि नेपाली हुँ भन्दै उनीहरू सामु टुप्लुक्क आइपुग्छ।त्यही रिक्सावालाले उनीहरूलाई रेल स्टेसनसम्म सित्तैमा पुर्‍याइदिन्छ।रेल चढ्नको लागि टिकट लिनु पर्छ भन्ने थाहा नपाएर यिनीहरू रेलको डिब्बाबाट निकालिन्छन् र रातभर प्लेटफार्ममा बिताउँछन्।जम्मा तीन कोरी रुपियॉं बोकेर हिँडेका दुई जवानको एक कोरी रुपियॉं ट्रक भाडामा सकिन्छ र दुई कोरी राति नै पाकेटमारले लगिदिन्छ।यत्रो विशाल सहरमा दुई सोझा युवकहरू बेसहारा र निर्धन भएर मुगलानमा पहिलो रात बिताउँछन्।

बिहानै, हिजो सित्तैमा रेलस्टेशन सम्म पुर्‍याइदिने रिक्सावाला अर्को एक व्यक्तिका साथ प्लेटफार्ममा आउँछ र “पल्टन “ हिँडेका ठुले र कान्छो सुतारलाई २० रुपियॉंमा बेच्छ। उनीहरूलाई किन्ने मानिसको नाम रनु दाइ हुन्छ। अब कान्छो सुतार र ठुले रनु दाइको जिम्मामा हुन्छन्। रनु दाइले दुवैलाई खाना खुवाउँछन् र जिपमा चढाएर राईनी दिदीको होटेलमा पुर्‍याउँछन् जहॉं उनीहरू जस्तै अरू चौध जना केटाहरू “पल्टन”का निम्ति भनेर भेला गरिएको हुन्छ जसको कथा व्यथा सबै एउटै हुन्छ।राईनी दिदीको होटेलमा सबैलाई “सरकारी रासन” खाने सुअवसर मिल्छ।कान्छो सुतार ठुले र अरू चौध जनालाई चालिस रुपियॉं प्रतिपल्टनका दरले जम्मा सोह्र जना पल्टनेहरूलाई रनु दाइले ठेकेदारलाई बेचिदिन्छन्।अब उसो यी सोह्र जना नव जवानहरू ठेकेदारको जिम्मामा हुन्छन्। ठेकेदारको मोटर सोह्र जना पल्टनेहरूलाई लिएर हिँड्छ।। मोटरबाट देखिएका सुन्दर फौजी क्याम्प र फौजीहरूलाई देखेर उनीहरूलाई पनि पल्टने बन्ने अटुट सपना साकार भएको आभास हुन्छ।ठेकेदारको मोटर पल्टनेहरू बोकेर माल बजार अनि वानर हाट हुँदै भुटानको फिन्चेलिङ् बजार पुग्छ जहॉं पाल टॉंगिएको हुन्छ र ती सबै जवानहरूले रात त्यहीँ बिताउँछन्।फिन्चेलिङ बजारमा सोह्र जनाको नाम र धेरै ठाउँमा छाप र हस्ताक्षर भएका कागज सहित ठेकेदारले ड्राइभरलाई जिम्मा लगाएर ठेकेदार वापस फर्किन्छ।ड्राइभरले मोटर मनोहर बाटोमा गुडाउँदै गुडाउँदै त्रिवेणी ( पारो, थिम्पु, हा)लेखेको मार्ग पार गरेर पल्टनेहरूलाई जिम्दारको जिम्मा लगाइन्छ ।यहॉं अरू पल्टनेहरू धेरै हुन्छन् र नयॉं आएका पल्टनेहरूका लागि भनेर अर्को तम्बु पनि थपिन्छ।

पुगेको अर्को दिन देखि पल्टनेहरू बाटो खन्ने कठोर काममा खटिन्छन्।उनीहरू सबै जनाको नाम रजिस्टरमा दर्ता गरिन्छ र काम हेरेर महिनाको एक सय देखि दुई सयसम्म तलब दिने वचन जिम्दारको हुन्छ। उनीहरूलाई खानाको लागि सस्तो दाममा क्यान्टिनबाट चामलका साथै लुगा, जुत्ता अनि कहिले कहिले छुट्टी पाउने पनि आश्वासन दिइन्छ। राम्रो काम गर्नेको तलब बढ्ने र कोही पनि लुकेर भागेमा त्यसको ज्यान खतरामा पर्नेछ भन्दै जिम्दारले खबरदारी पूर्ण अभिव्यक्ति जाहेर गर्दछ।उनीहरूको सपना चक्नाचूर भएको अनुभव हुन्छ।जिम्दारको अभिव्यक्ति सुनेपछि पल्टनेहरूमा देखिएको नैराश्यताको उपन्यासकार यसरी वर्णन गर्नुहुन्छ: “ उसको कुरा सुन्दासुन्दै सबैको मन अमिलियो, धमिलियो। उनीहरू पानी पानी भएर गए।सबका गोडा थरथराउँन थाले अनि शरीर कॉंपेर आउन थाल्यो।उनीहरूलाई दिएको आश्वासन र उनीहरूको सपना यति टुक्रा होला भन्ने कसैले सोचेका थिएनन्।सबै शब्दहीन भए । कसैले एक शब्दसम्म पनि न त विरोध न त स्वीकार जनाउन सक्यो ।” यसरी नव जवानहरूको पल्टन गएर धेरै पैसा कमाउने सपना बालुवामा पानी खन्याए सरि बन्न पुग्दछ।
जम्मा दिनको दश घण्टा काम गर्दा पॉंच महिनामा रासनको खर्च काटेर मात्र चालिस रुपियॉंको कमाइ हुन्छ।काम, काम अनि काम कसैलाई बाटो खन्ने सिवाय अरू कुरा सोच्ने एक मिनेट पनि फुर्सद हुँदैन। यस्तै कठोर कामका कारण सात जना मरे, ठुले हरायो, हिउँले कत्तिको लास ढाक्यो। विडम्बना बाटो खन्ने काम कहिल्यै रोकिएन।भाग्ने प्रयास गर्नेले कोर्राको मार खाने, आधा रासन मात्र पाउने र तलब पनि काटिने हुन्थ्यो।भाग्ने उपायको कल्पनासम्म पनि गर्न सकिँदैन थियो।

बाटो खनाईको कठोर यातना सहन नसकेर कान्छो सुतार र कार्कीले दुई वर्ष पछि भाग्ने निर्णय गर्छन् ।उज्यालो हुनुभन्दा करिब एक घण्टा अघि सुटुक्क ओछ्यान छोडेर कार्की र सुतार कान्छो अनुमानका भरमा ओरालो लाग्छन्।जानुपर्ने दिशाको अत्तोपत्तो हुँदैन तर अन्दाजीको भरमा दक्षिण दिशा तर्फ लम्कन्छन्। विकट,भयभीत र अनजान बाटाको यात्रा लामो र हृदय विदारक छ। उनीहरूसँग दुई वर्षमा कमाएको तीन/ तीन सय रुपियॉं र अलिकति चामल मात्र हुन्छ।अनकन्टार जङ्गलको कहाली लाग्दो र त्रासदीपूर्ण यात्राको छैटौँ दिनमा मात्र मानव बस्ती देखिन्छ।सातौँ दिनको कठोर यात्रामा कार्की पुरै बिरामी पर्दछ।कार्कीको असहनीय र हृदय विदारक मृत्युको वर्णन उपन्यासकार यसरी गर्नुहुन्छ: “अनन्त यात्राको क्रम सुरु गर्नुपर्ने ठानी भित्तापट्टि सुतेको कार्कीलाई उसले( सुतार कान्छाले) बोलायो, उसले सुनेन। हातले तानी हल्लायो, अझ हल्लिएन अनि बोरा भित्र हात लगेर छामिहेर्‍यो तर अपसोच त्यो अघि नै कार्की चिसिइसकेछ। उसका काला, गाडिएका आँखाहरू निश्चल भएर आकाशतिर फर्केका थिए डरलाग्दो गरी ।”कार्कीको मृत्युले सुतारलाई पर्नु सम्मको चोट पर्छ।सुतार कान्छो किंकर्तव्यविमूढ बन्छ,उसका आँखा पटक्कै ओभाउँदैनन् र मुटु टुक्रा टुक्रा भएको अनुभव हुन्छ।दुई चार वटा दाउरा, सुकेका ठुटा भेला पारी सुतारले कार्कीले कमाएको दुई वर्षको कमाई तीन सय पनि छातीमा राखेर भावविव्हल बन्दै कार्कीको मृत शरीरमा आगो सल्काइदिन्छ। कार्कीको सत्गति सकेर रुँदै रुँदै सुतार गन्तव्यहीन मार्ग तर्फ जङ्गली कन्दमूल र जामुना खॉंदै अघि बढिरहन्छ बढिरहन्छ।दश दिनको कठोर र कहाली लाग्दो यात्रामा मात्र सुतारको करुणा पुञ्ज “पाखे काइँलो”नामक एउटा गोठालोसँग भेट हुन्छ।

सुतार कान्छाले पाखे काइँलोलाई दश दिनको अकल्पनीय र कठोर यात्राको विवरण सुनाउँछ।उसको कारुणिक यात्रा विवरण सुनेर पाखे काइँलाको गह भरि ऑंसु हुन्छ र उसलाई भरपुर सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्दछ।।पाखे काइँलाको न्यानो सत्कारले सुतार कान्छो बिस्तारै बिस्तारै तङ्ग्रिँदै जान्छ ।शरीरका घाउहरू पुरिँदै जान्छन् र जिन्दगीको यात्रा तह हुँदै जान्छ। रहँदै बस्दै जॉंदा सुतार कान्छो पाखे काइँलाको परिवारको आत्मीय सदस्य बन्न पुग्छ।सुतार कान्छाले गोठ देखि घरसम्मका सारा काम इमानदारितापूर्ण फत्ते गरेको देखेर गाउँ घरका मानिसहरू खुबै प्रशंसा गर्न थाल्छन्।सुतार कान्छाले दोर्खा देखि साम्छी बजारसम्मको सुन्तला खेपेको र साम्ची बजारको वर्णन उपन्यासकार यसरी गर्नुहुन्छ:”बजारको कलिलो अनुहार थियो।ती दिनमा घरहरू भरखर बन्दै थिए।साम्चीसम्मका ढाकरमा सुन्तला लिएर जानेहरू त्यहॉंबाट निस्केर उँधोतिर फैलेका मैदानलाई हेर्दै लामो सास फेर्थे। साम्ची बजारको डिलमा उभिएर हेरेको क्षणमा सुतारलाई त्यस्तै भयो।उसको कता कता पुरानो भएको स्मृतिपट उघ्रेर आयो।सिलगढीदेखि पनि टाढा उतै उतै बादलपारिको देशमा स्थित
आफ्नो घरको स्मृति उर्लेर आयो। घर फिर्ने भए बाटो त थाहा लाग्यो तर उसलाई घर फिर्नुको मात्र मोह थिएन।” त्यस बेलामा ढाकरमा सुन्तला बोकेर ठिटाहरूले ठिटीहरूलाई लक्षित गर्दै गाएको सुन्दर गीतको भाका उपन्यासकार यसरी प्रस्तुत गर्नु हुन्छ:

“पर्ख बैनी,तिमीलाई देखेर
आउँदै छु म सुन्तला बोकेर। ……कुर्ररै………”
यस गीतको प्रत्युत्तर पनि तत्कालै गीतकै भाकामा यसरी आउँथ्यो।
“मनको कुरा कसरी कहनी
साम्सी बजार हिँडेको मै पनि।………….उलिलिली…….कुर्रै।”

उपन्यासमा दोर्खादेखि साम्चीसम्मका मनमोहक ठाउँहरूको दृश्यको वर्णन अत्यन्त सुन्दर ढङ्गमा गरिएको छ। उपन्यास पढ्दै जॉंदै आफू पनि ती सुन्दर प्राकृतिक छटामा स्पर्श गर्दै हिँडेको आभास हुन्छ।
लगनशील,मिजासिलो र कर्तव्यनिष्ठ सुतार कान्छोसँग पाखेकी छोरी ठुलीको विवाह हुन्छ।पाखेका बाआमाको अन्तिम इच्छा पनि नातिनी ठुलीको कन्यादान गरेर मात्र मर्ने हुन्छ।विश्वासिलो अनि आफ्नै घरमा धेरै समय बसेको सुतारलाई ठुलीको हात सुम्पन पाउँदा पाखे काइँलाको घरमा हर्षोल्लास छाउँछ। पाखे काइँलाको छिमेकी साल्बोटेले पाखे काइँलालाई फसाउन अनेकौँ यातना दिने गर्दछ। साल्बोटेको षडयन्त्रले गर्दा पाखे काइँलालाई पुलिसले पक्रन्छ र उसको घर आगलागी हुन्छ।यसपश्चात् कान्छो सुतार भागेर चेङ्बारी चिया बगानमा काम गर्न पुग्छ। चेङ्बारी बगानमा काम गर्दा गर्दै सुतार कान्छाको भेट पुरानो साथी मोक्तानसँग हुन्छ।चिया बगानमा सुतारले मेसिनको काम गर्छ। पाखे काइँलाकोमा काम गर्दा जम्मा गरेको पैसा र ५ वर्ष बगानमा काम गरेको पैसा जोड्दा सुतार कान्छासँग धेरै पैसा हुन्छ। “हुने हार दैव नटार” भने झैँ एक दिन उसको पुरानो साथी मोक्तानले सुतारले कमाएको सबै पैसा चोरेर फरार हुन्छ। जिन्दगीको सम्पूर्ण आर्जन चोरी हुँदा सुतार कान्छालाई पर्नु सम्मको पिर पर्छ अनि पुरै बेहोस भएर लड्छ।यस्तो अकल्पनीय बज्र पातबाट बौरिन सुतार कान्छालाई धेरै दिन लाग्छ।

चिया बगानमा काम गर्दा गर्दै हङ्से (ठुलीको दाइ)को माध्यमबाट ठुलीको र सुतारको भेट हुन्छ।ठुलीसँगको भेटपश्चात् सुतारको मानसपटलमा उज्यालो घाम उदाएको महसुस हुन्छ।ठुली र सुतार अब बगानमै काम गर्न थाल्छन्। जो होचो उसकै मुखमा घोचो भने झैँ काम गर्दा गर्दै एक दिन सुतारको हात मेसिनले काट्छ र ऊ पुरै बेकामे हुन्छ।सोचाइ, सोचाइ अनि सोचाइका कारण सुतार पुरै पागल हुन्छ र एक दिन जङ्गलतिर गएर उसको इहलीला उतै समाप्त गर्छ। यसरी नै मुगलान उपन्यासको नायक कान्छो सुतारको जीवन दोर्लिङ्गमा सुरु भएर चेङ्बारीमा अन्त्य हुन्छ।

“मुगलान” उपन्यास नेपाली साहित्यको एक स्वर्णिम रत्न हो। आज भन्दा करिब ४८ वर्ष अघि लेखिएको भए ता पनि यसको महत्त्व आज पनि उस्तै जाज्वल्यमान छ। उपन्यास जति पढ्यो त्यति आँखा रसाउँदै जान्छन्।एक पटक पढेर चित्त बुझ्दै बुझ्दैन। फेरि पढूँ फेरि पढूँ झैँ लागिरहन्छ। यस उपन्यासमा प्रयोग भएका शब्दहरू ठेट नेपाली शब्दहरू छन्। तत्कालीन नेपालीभाषी भूटानीहरूको चाड पर्व,रीतिरिवाज, पोसाक,रहनसहन, संस्कार र संस्कृतिको अत्यन्त मिजासिलो शैलीमा वर्णन गरिएको छ।उपन्यासकारको मनमोहक प्रस्तुतीकरण शैली, बिम्ब र प्रतीकको सक्दो प्रयोग, पात्रहरूको चरित्र चित्रण र वर्णित परिवेशको रीतिस्थितिको सत्य सत्यको सम्बन्धले यस उपन्यासले एउटा सशक्त र ओजपूर्ण कृतिको रूपमा फराकिलो स्थान ओगट्न सफल भएको छ। सुतार कान्छाको माध्यमबाट यस उपन्यासले दिन खोजेको सन्देश के छ भने हामी परदेशीको जिन्दगी कहॉं सुरु भएर कहॉं अन्त्य हुन्छ भन्ने यकिन हुँदैन !जीवन सङ्घर्षशील छ,जस्तै कठोर परिस्थितिसँग पनि जुधेर सामना गर्नु पर्दछ अनि मात्र हाम्रो जीवनमा सूर्य उदाउँछन्। यसका साथ साथै हामी संसारको जुनै कुनामा पुगेता पनि आफ्नो संस्कार, संस्कृति र भाषा कहिल्यै भुल्नु हुँदैन र परदेशमा नेपालीले नेपालीलाई ठगी गरेर अप्ठेरो अवस्थामा पुर्‍याउँछन् साह्रै होसियार हुनुपर्छ भन्ने अरू दुई सशक्त सन्देश हुन्।मुगलान उपन्यास हजारौँ हजार युगसम्म अमर रहोस्।मेरो यही शुभकामना छ।यस्तो अनमोल कृतिको सिर्जना गर्ने सर्जक डा. गोविन्दराज भट्टराईज्यूमा कोटि कोटी नमन एवम् उत्तरोत्तर प्रगतिको कामना गर्दछु।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *