मेरो गन्तव्य

बुद्धमणि ढकाल
अमेरिका
म स्कूल छोडेर गाउँ गएँ र अरु गाउँलेसंगै आवाजमा आवाज थप्न हिंडे, तर सिमानापारि चाहि गइन | दिनदिनै म घरमा गोठालो भएँ ; दिनभर गाई -वस्तु चराउन जंगल जान्थें | फर्केर स्कूल जाऊं, मेरो हाइ स्कूल बन्द गरेर थिम्फु र पारो सारिएको थियो, नजाऊं गोठालो भएर बस्न सन्तुस्ट हुने थिइन म |
साम्रांगमा आन्दोलनको स्वरूप शान्तिपूर्ण थियो | जुलुसको दिन घरको एकजना अनिवार्य उपस्थित हुनुपर्ने उर्दी थियो पार्टीको | गाउँको बीच-बीचमा मानिसहरु जम्मा भएर बसेका थिए | बजार छेऊमा रहेको प्रहरी चौकी पुग्दासम्म ठूलै जमात भएको थियो प्रदर्शनकारीको | तर त्यहाँ न नारा उर्लेको थियो, न हात उठेका थिए, न कोहि ढुंगा हान्न बसेका | न इन्कलाब जिन्दाबाद, न फलानो मुर्दाबाद | प्रहरी चौकीमा सेनाको एक दस्ता योन्फुलाबाट खटाए बमोजिम उपस्थित थियो, हात-हतियारले सुसज्जित | भांगतार बाट डुंगपा र साम्द्रुप्जोंग्खरबाट आएका डिएसपीले गाउँलेको भेलालाई स- आदर सम्बोधन गर्न खोजे | सम्झना छ, ‘तपाईंहरुको मागको बारेमा हामी माथि कुरा गर्छौँ’ भन्ने आश्वासन बाँड्थे उनीहरु | पार्टीबाट जाहेर गरिएको तेह्र सूत्रीय माग पत्र पढेर सुनाउनेमा साम्रांग स्कूलमा नेपाली शिक्षकको काम गर्ने टि एन निरोला थिए | बि बि गुरुङ गाउँका हकिला र धनि मान्छे भए पनि उनलाई दुंग्पा र डिएसपीले बोल्न नदिई सभाबाट अलग्याएर राखे | त्यसै दिन बिहान साम्रांग बजार नजिक एकजना गाउँलेलाई सेनाले बक्खु नलगाएको निहुँमा धम्क्याएर जरिमाना तिराउन खोजेको बिषय अलि चर्को भएर उठ्यो | डिएसपी र दुंग्पाले त्यसमा माफी समेत मागेका थिए | अर्कोपटी, सरकारी गाडीका एक चालकलाई बक्खु लगाएको अभियोगमा पार्टीको ‘एक्सन ग्रुपले’ कारवाई समेत गरेको थियो |
म पनि उत्साहित भएर जुलुसमा भाग लिइरहेको थिएँ | पार्टीले पुर्व क्षेत्रको नाइके बनाएर डि बि राईलाई पठाएको रहेछ | बि बि गुरुंगले ( गक्ति मण्डल) आफ्नो जीप यातायातको सुविधाका लागि पार्टीलाई दिएका थिए | डि बि राई र अरु नेता हुन खोज्नेहरु त्यही जीपमा ओरपर डुल्थे वा पार्टीको काम गर्थे | साम्द्रुप्जोंग्खर जिल्लाका मेरा सहपाठीहरु, मकर , पदम , टिका ,अर्जुन आदि त्यही भेगमा खटिएका रहेछन, डि बि राईका साथमा | म उनीहरुको कित्तामा नपसी गाउँ भित्रै आन्दोलनमा सरिक हुँदा मलाई अर्घेलो सम्झेका थिए उनीहरुले | साजन दाईले एकदिन बजारमा भेटेर ‘ तिमी किन तल नआएको’ भनेर हकारेका थिए मलाई | तर म देशभित्र परिवर्तन ल्याउने आन्दोलन गर्न जनशक्ति बाहिर बस्नुहुँदैन र जे गर्नु छ भित्र बसेर गर्नु पर्छ भन्ने मान्यतामा अडेको थिएँ |
क्रमशः………………………………………………….

Leave a Reply

Your email address will not be published. Required fields are marked *