मेरो घरको झर्के थाल

जय हुमगाई
क्यानाडा
मेरो घरको झर्के थाल
मेरो घरको झर्के थाल- म  सँगैको हुनुपर्छ
या म भन्दा नि जेठो हुनुपर्छ
की थोरै कान्छो  हुनुपर्छ
मेरो घरको झर्के थाल
म सँग सँगैको हुनुपर्छ।
हामी एउटै घरको सदस्य हौ
बराबर सदस्य हौ
हामी जहाँ जाँदा पनि सँगै जान्छौ
फरक यति छ हामी आफै जान्छौ
ऊ लगेर जान्छ
घरको बराबर सदुपयोग  गर्छौँ
सायद मेरो भन्दा बेसी उसले गरेको छ।
म त हरेक दिन बाहिर निस्कन्छु
ऊ भने सदा दिन घर भित्र छ
मेरो घरलाई हरघडी उसको न्यानो
साथ मिलेको छ।
मैले चाहेर पनि उसको साथ छोड्न सकेको छैन
अनि उसले पनि मेरो र
मेरो घरको साथ कहिले पनि
छोड्न सकेको छैन।
बिचरा ऊ अरू जस्तो हलुका
र सुन्दर फूल बुट्टाले सजिएको छैन
सायद त्यसैले होला ऊ दिनानुदिन
पसारो बन्दै अलि अलि गर्दै सर्दै सर्दै
कुनातिर पुगी सकेको छ।
आज उसको स्थान उजाडिएको छ
ऊ विस्थापित भएको छ
कालो र मैलो भएको छ
देख्दै घिनलाग्दो भएको छ
पानीको स्पर्श नपाएको वर्षौँ भैसकेको छ
देखेर पनि अनदेखा भएको छ।
बिचरा मेरो घरको झर्के थाल
साँझ बिहान रोएको छ
खुल्ला सँग  फिजारिएर बस्न पाएको छैन
एक माथि अर्को हुँदै बसेको छ।
खप्टिएको छ नेप्टेको छ
अलि अलि चेप्टिएको पनि छ
हावा समेत नपुग्ने ठाउँमा
कोचारिएर बसेको छ
नजर बन्दा भएको छ
बिचरा कति छटपटिएको छ
बाहिरी उज्यालोको पर्खाइमा तड्पिएको छ
दश औलाको स्पर्श कुरी रहेको छ।
बिचरा ऊ आफै सँग हारेको छ
केटा केटी देखी अपरिचित भएको छ
माया ममता गुमाएको छ।
यदि सम्मकी घरको एक अँधेरो कोठाको
कुनै  सुन्वाई बिनाको कैदी भएको छ।
बिचरा मेरो घरको झर्के थाल
अरूको सामु अपहेलित भएको छ
अपरिचित भएको छ
विस्थापित भएको छ
पसारो भएको छ
अनदेखा भएको छ
अहिले सम्म त यति मात्र भएको छ
मलाई डर छ की कुनै दिन
घोक्रे ठ्याक पारी घर बाहिर
 निकालिने त छैन
अनि पाएको त्यो कुनो पनि पो
गुम्ने त होइन?

Leave a Reply

Your email address will not be published. Required fields are marked *