मेरो दशैं

मञ्जु खड्का / एनएच, अमेरिका

नजिकियो चहाड
भित्रियो दशैं
खुसी र उमंगहरु
छैनन् मसँग,
विदेशी स्याउभन्दा
स्वदेशी नासपाती
स्वादिलो हुन्छ भन्ने
भनाइ सार्थक भयो ममा ।

सुख, चैन र ऐश्वर्य भए पनि
आज मेरो
नेपाली रहनसहन
गुमाउँदैछु
मेरो खुशीलाई
सुखसँग साट्न सकिन
त्यो मेरो दशैं,
रातो माटो खन्न जाने संगिनी,
कमेरो लिन जाने

हुलको सम्झनाले
यो मन पिरोलिइरहेछ,
लाग्छ त्यो मेरो
वास्तवमै अतीत भयो |

न मैंले माथ्ला घरकी
चमेलीलाई गुहारेर
आँगनको दूबो खुर्कनु छ,
न त रातो माटोले
घर पोतेर, कमेरोले सिँगार्नु छ
यहाँ त घडीको काँटाले

दिने चालसँग

मेरो प्रत्येक क्षण बितिरहेछ
दुई घण्टा बढी काम गर्ने
दाउमा छु
दुई पैसा कमाउने आशामा
मेरो जीवनरूपी रथ गुडिरहेछ।

आज अग्रजका
हरेक शब्दमा
मेरो यो रमाइलो दशैं
र बाल्यकाल
गाँसिइरहेको छ
बा ! आज सोह्रश्राद्धको अन्तिम दिन होइन ?
तेरो बाबैको तिथि हो,
घर चोख्याउनु पर्छ,
खाना चढाउनु पर्छ,
कुनाबाट आमै भन्दै थिइन्-
उनकै आवाजमा
म रमाइरा’थें ।
आखिर मेरा
अग्रजका आव्हानमा
रमाउनुका अलावा
के नै रह्यो र ?

न अब
बाबा-बाबैको तिथि सकेर
मास्टरकोमा
नयाँ लुगा लिन जान्छन्,
न त कट्वालको ढिकी
खाली हुँदैन,

चिउरा कुट्न
भनेर आमा आत्तिनु पर्‍यो!
न अब कसैले
हवल्दार बाबैको बारीमा
लिंगेपिंग थाप्छ,
न मेरी दिदी मलाई
पिंग खेलाउन लान्छिन्,
यस्तै छ मेरो दशैं यहाँ।

मेरो यो रमाइलो दशैं अल्मलिइरहेछ

अरु दिनको कुरै छाडौं ,
टीकाको दिन बिदा माँग्ने कुरामा

अन्कनाइरहेछु
एक दिन बिदा मागौं
दश घण्टाको तलब !
धेरै बेर सोच्न बाध्य भा’छु
त्यसैले त,
मेरो नेपाली रहनसहन
गुमाउँदैछु,

मेरो भाषा र संस्कृति
ओझेलमा नपरोस् भनेर
दशैंमा गरिने कार्यलाई
एउटा कागजमा ,
चित्रमा अंकित गरेर
मेरा भावी-पिढीलाई
दशैं मनाउन
सिकाउन बाध्य भएकी छु,
यस्तै छ,
मेरो परदेशी दशैं यहाँ ।

2 Replies to “मेरो दशैं”

  1. Naresh

    Thank you so much Manju for this very realistic art. You have created a representative art filled with the words of thousand minds. You have spoken the unspoken laments of people of the type. Yet, my words at this state would be do receive TEEKA on Vijaya Dasami albeit, late in the evening after your job.
    Within difficulties smile bliss and within tight schedule runs the real life. So go ahead and bring many more and help us(readers) of this esteemed site read more and more.

Leave a Reply

Your email address will not be published. Required fields are marked *