मेरो प्रार्थना
-शिवलाल दाहाल
खुदुनाबारी, झापा
मेरो कोठाका भित्तामा सरस्वतीको एउटा तस्वीर पनि छैन
जहाँ म हरेक विहान उठेर पुष्प गुच्छा अर्पण गर्न सक्छु
प्रार्थना गर्न सक्छु
मलाई वसन्त पन्चमी आएको पनि थाहा हुँदैन
तर
जव म खोलाका किनारै
रजहाँस उडेको देक्छु
तव मलाई सरस्वतीका वाहनको स्मरण हुन्छ
जव म बाटामा हिँड्दा
कतै सेतै फुलेका कपास देख्छु
तव मलाई सरस्वतीको सेतो
सफा पहिरनको सम्झना हुन्छ
जव म गाइनेले सारंगी रेटेर
गीत गाउँदै हिँडेको भेट्छु
तव मलाई सरस्वतीका वीणाको झझल्को आउँछ
मेरो प्रार्थना यही हो
मेरा कोठाका भित्तामा सरस्वतीको एउटा पनि तस्वीर छैन
जहाँ म हरेक विहान उठेर पुष्प गुच्छा अर्पण गर्न सक्छु
प्रार्थना गर्न सक्छु
मलाई वसन्त पन्चमी आएको पनि थाहा हुँदैन
गएको पनि थाहा हुँदैन।