मेरो रोपाइँ
विश्वासको बर्सात,
भरोसाको चिल्लो आली
अविश्वासको झार ताछिएको
सुकिलो मनको कान्लो
अनि कोमल भावले दब्दब् भएको
चिटिक्क परेको
यो मनको गह्रामा
धड्कनको संगीतमा
मनमनै असारे गाएँ
खुशीले निथ्रुक्क भिजेँ
यो असार पन्ध्रमै,
छुपुछुपु रोपाइँ गरेँ
सम्बन्धका कैयन गाभाहरु
यो मनको फाँटमा रोपिदिएँ
एक गाभो उसको नाममा
बाँकी केही,
हर आफ्नाको नाममा
अघिसम्मको हिलाम्मे मन
फिक्का हरियो भयो
केही दिनमै गाडा हुनेछ
सबको ध्यान तान्नेछ
अनि फल्नेछ,
फूल्नेछ,
झुल्नेछ
अनि, त्योपछि के त ??
काटिनेछ ?
या मासिनेछ ?
नाईं होइन,
कबै मासिन्न यो
यसमा
माया, प्रेम अनि सद्भावको अन्न फल्नेछ
पोटिलो बिज बन्नेछ
मनको अर्को डब्बा,
जहाँ,
उसहित,
हामी सबै आत्मीयहरु
ओत लागेर बसेका छौँ
त्यो ओभानो मनको डब्बामा
त्यो अन्न राख्नेछौँ
त्यहाँको भकारी भर्नेछौ
हामी सबै मिलेर
साथले दाइ गर्नेछौं
आत्मीयतासँगै,
धानको भकारी बाँध्नेछौँ
सम्बन्धको प्रगाढता थप्नेछौँ
अर्को असार कुर्नेछौँ
फेरि हातेमालो गर्नेछौं
विश्वासको झरी छोप्नेछौँ
मनको गह्रामा फेरि रोपाइँ गर्नेछौं…।