मेलमिलाप

एकांकीकार

नन्दलाल आचार्य

(मञ्च दुई भागमा विभक्त छ । एक भागमा केही रुख र बुट्टाबुट्टी छन्, मौरीको घार छ । चराहरू स्वतन्त्ररूपले रुखका हाँगामा रमाइरहेका छन् । छत्तीस वर्ष उमेर भएको अशोक हातमा गुलेली र काँधमा झोला भिरेर चरा मार्ने ध्याउन्नमा यताउती गरिरहेको देखिन्छ । मञ्चको अर्को भागमा चारजना राधा, ज्ञानिता, मनोज र हरिश नाम गरेका दशबाह्र वर्षका केटाकेटीहरू खेलिरहेका देखिन्छन् । केही बेरमै उनीहरू कोलाहल शब्दका साथ एकअर्कामा हात हालाहाल गर्न थाल्छन् । लुगासुगा च्यातच्युत हुन्छ । त्यत्तिकैमा अशोक रिसले मुर्मुरिँदै आउँछ र उनीहरूलाई भकुर्न थाल्छ ।)

अशोकः  तिमीहरू अरूको पेटमारा रहेछौ । तिमरूको हल्लाले मेरा शिकार उडे ।

राधाः  (रुञ्चे मुहार पार्दै) बिराउनु केही छैन । झगड़ा हामी बीचको हो । किन कुट्नु भयो ?

ज्ञानिताः  नबिराउनु नडराउनु । हामीले कसैको पेटमारेका छैनौं ।

मनोजः (गाला सुम्सुम्याउँदै) यो सार्वजनिक ठाउँमा बसेर हल्ला गर्दा पनि पिटाइ खानु हामी माथि गरेको अत्याचार हो ।

अशोकः (कुट्न झम्टिँदै) अझै पुगेन । हल्ला गर्छौ ? सबका मुखमा ताला लगाइदिन्छु । बातले नमाने लातको प्रयोग गर्नुपर्छ भन्ने मलाई थाहा छ । बिना कुटाइले शान्ति नै आएन है ।

हरिशः हामीले कुटाइ खाँदा कसरी शान्ति आउँछ त ?

अशोकः तिमीहरू मूर्ख हौ । जे गर्दा पनि भएन । बन्दै नबोल । शान्ति आफैं आउँछ । शान्तिले चरा डाक्छ । मेरो यो गुलेलीले चरा खसाल्छ । चराले यो झोला भरिन्छ । त्यही भरिएको झोलाले म र मेरो परिवारको पेट भरिन्छ । (चारैजना हाँस्छन् । अशोक अझ रिसाउँछ ।)

ज्ञानिताः उँ, कुटाइले न शान्ति आउँछ, चराको मासुले न पेट भरिन्छ !

राधाः दाइ, एउटा कुरा भन्छु, नरिसाउनुस् है ?

अशोकः (केही नरम हुँदै) भन, दाइ भन्यौ मलाई, भन, जे भन्नुछ चाँडो भन ।

राधाः  हामी एकअर्कामा लड्यौँ, त्यही मौकामा हामीलाई मज्जाले भकुर्नुभयो । हामी एक भएको भए तपाईं मीठो बोलीमा आफ्नो कुरा राख्नुहुन्थ्यो, हो कि हैन ?

अशोकः  तिमीहरू झगडालु भएको देखेर नै मेरो रिसको पारो तातेको हो । झगडालुहरूलाई शान्त पार्ने ओखती नै पिटाइ हो ।

मनोजः आज त पिटाइ खाइयो, भोलि एक मत भएर हामी तपाईंमाथि जाई लाग्यौंभने निः ?

हरिशः हामीले गल्ती गर्यौं। मिलीजुली खेलेको भए, एकले अर्काको विचार बुझ्न चाहेको भए तपाईंको थप्पड खानुपर्दैनथ्यो ।

अशोकः भोलिको कुरा नगर । म मात्र आजका लागि हुँ । भोलि जस्तो आउला, त्यस्तै टर्ला ।

राधाः त्यसो भनेर कहाँ हुन्छ ? हामीले भोलिका लागि आज बाँच्नु परेको छ । आज मात्र हैन, भोलि पनि बाँच्नु परेको छ ।

ज्ञानिताः हो त, भोलि बाँच्न सकियो भने पो त्यो सच्चा बचाइ हो ।

अशोकः उमेरले काँचा छौ, कुराले पाका जस्ता छौ । कहाँ सिक्यौ यी कुरा ?

राधाः  किताब पढ़ेर ।

ज्ञानिताः गुरुबा, गुरुमाले बताएर ।

मनोजः मलाई चाहिँ हजुरबा’ले भनेर ।

हरिशः मलाई त गरिमा दिदीले भनेर ।

अशोकः आफूले त समयमा आँखा देखिएन । बाबु, आमाको कुरा मानिएन, स्कूलको मुख देखिएन । जे गरे पनि म लायककै छु । तिमीहरू जस्तो अर्काको भाग खोस्दै र लुगा च्यातचुत पार्दै हिँड्ने काम मबाट कहिल्यै भएन ।

राधाः लायक त मान्छे त्यत्तिखेर हुन्छ, जब उसले सिर्जनात्मक तबरले जीवन जिउन सिक्छ ।

अशोकः म त आफनै पाखुरीले  बाँचेको छु । चरा मार्छु, झोला भर्छु । बजार लगेर बेच्छु । चामल, तरकारी किन्छु र पुनः झोला भर्छु । त्यही झोला लगेर श्रीमतीलाई दिन्छु ।

राधाः  उसो भए चराले ज्यान दिँनाले तपाईं र तपार्इंको परिवारको पेट भरिँदोरहेछ, हैन ?

अशोकः हो, ठीक भन्यौ । मेरो काम नै त्यही हो । आफ्नै श्रमले जीवन चलाएको छु ।

राधाः अहँ, मेरो बुझाइमा त्यो श्रम हैन, हत्या हो , हत्या । तपाईं हत्यारा हुनुहुँदो रहेछ ।

अशोकः जाबो दुई, दुई थप्पड के लगाएथें म हत्यारा भइहालेंत ? मैले तिमीहरूको ज्यान त लिएको छैन नि ?

ज्ञानिताः अहिले भर्खरै भन्नुभएको हैन ? चराले झोला भर्छु, चरा नै म र मेरो परिवारको चारो हो भनेर ?

मनोजः दाइले बुझ्नुभएको रहेनछ । चरा मार्नु पनि हत्या हो । हत्या गरेर बाँच्नु कायता हो ।

अशोकः यी वनका चराको वकालत नगर । यी अबुझ प्राणी मार्नु हत्या हैन ।

हरिशः  हो, हत्या हो । प्राणी मार्नु हत्यारा बन्नु हो ।

राधाः  तपाईंलाई काटे खून आउँछ, पिटे दुख्छ । त्यस्तै यी वनका चरालाई पनि हुन्छ ।

ज्ञानिताः तपाईंको घरमा श्रीमती होलिन्, छोराछोरी होलान् । त्यस्तै यी चराका पनि हुन्छन् ।

मनोजः अझ, तपाईं नभए परिवारको विचल्नी हुन्छ, त्यस्तै यिनीहरूको पनि हुन्छ ।

हरिशः  हो, तपाईंको गुलेलीले खसाएका कत्ति चराका बचेराहरू बाबुआमाको बाटो हेरेर गुँडमा नै भोक र तीर्खाले छटपटाई, छटपटाई मरे होलान् ।

अशोकः भो, धेरै भाषण नछाँट । आदर्शको खेती गर्ने यो जमाना हैन ।

राधाः आदर्श हाम्रो गहना हो । हामी मानव हौ, दानव हैन । मानवले मासु हैन अन्न र सागसब्जी खानुपर्ने हो । हामी दानवको श्रेणीमा खसिसक्यौं ।

ज्ञानिताः मलाई पनि त्यस्तै लाग्छ, हाम्रो पेट मुर्दाघर भइसक्यो । अमृतको घडामा दुई बिर्को विष हालिदिए, त्यो विषै बन्छ रे । त्यस्तै अरू प्राणीको ज्यान लिएर र मासु खाएर हाम्रो शरीर अपवित्र भइसक्यो ।

मनोजः साँच्चै मुर्दाघर शरीरमै भएको कारणले होला हामी विवेकशून्य भइरहेका छौँ ।

अशोकः तिमीहरू पढेलेखेका मान्छे भएर आफूलाई विवेकहीन ठान्छौ, लाज लाग्दैन ?

हरिशः केको लाज ? सत्य बक्न लाज हुँदैन । गल्ती पनि गर्ने र पश्चात्तापमा पनि नपर्ने आजका मान्छेको यही काइदाले त मानवता धरापमा परेको छ ।

राधाः  हो, त नि । जस्तो कर्म त्यस्तै फल । विवेकहीन कर्म विवेकशून्य फल ।

ज्ञानिताः हामी विवेकी नहुँदा हौं त यत्रो वैज्ञानिक सफलता र चमत्कार कहाँ पाइन्थ्यो ?

मनोजः त्यही त, वैज्ञानिक सफलता र चमत्कारको दुरुपयोग गर्दा त हामी मानव, मानव हुनबाट बञ्चित छौं । आफूआफैँबाट त्रसित छौँ । त्रासको साम्राज्यभित्र त्राहीमाम भएर बाँचेका छौं।

हरिशः अझ, हामी पलपल मरिरहेका छौं।  हामी पलपल मृत्युपीडा भोगिरहेका छौं ।

अशोकः (हाँस्दै) खै त, सारसौँदै छौ त ? कहाँ मर्यौ ?

राधाः जमिनमा ढल्नु, श्वास नफेर्नु मात्र मर्नु हैन । मान्छे भएर बाँच्न नसक्नु पनि मर्नु हो । भोलिका लागि जिउँदो रहने काम नगर्नु पनि एक प्रकारको मरण हो ।

अशोकः भोलि किन बाँच्नुपर्यो ? आज छौं मोजमस्तीका साथ बाचौं । मरेपछि डुमै राजा । भोलि हाम्रो साथमा छैन , त्यसका लागि दिमाख नचाउँनु व्यर्थको कुरा हो ।

ज्ञानिताः  तपाईं संकुचित घेरामा अल्झन खोज्नुहुँदो रहेछ । के तपाईंलाई भौतिक रूपले हामी सामु नभएका तर जनजनको मनमा नाम भएका मान्छेको नाम आउँछ ?

अशोकः त्यत्ति पनि नजान्ने हरिलठ्ठक नै सम्झ्यौ कि क्या हो मलाई । पढेर नजाने पनि परेर जानेको छु नि । राइटदाजुभाइ, शेक्सपियर, आइन्सटाइन, लक्ष्मीप्रसाद, पारिजात, बी.पी. कोइराला, मदन भण्डारी, कृष्ण सेन इच्छुक आदि, आदि ।

राधाः  जान्नु नै भएको रहेछ । कोही आधुनिक यन्त्र उपकरण बनाएर बाँचे । कोही साहित्य सिर्जना गरेर बाँचे । कोही निरंकुशताका विरुद्ध देश र जनताका लागि लडेर बाँचे । कोही विज्ञानलाई मानवहितमा ल्याउन जीवन अर्पेर बाँचे ।

ज्ञानिताः हो त, चन्द्रसूर्य रहुँञ्जेल र मानव अस्तित्व छउँञ्जेल उनीहरू बाँचिरहन्छन् ।

मनोजः अझ, उनीहरूले लगाएको ऋणले हामी थिचिइरहेका छौँ । त्यो ऋण चुक्ता गर्नुको साटो हामी कृतघ्न भएका  छौं ।

अशोकः कुरो र कुलो जता लग्यो उतै जान्छ । तिमीहरूको गफले पेट भरिन्न । म त हिँडे । (ऊ जान्छ । केटाकेटीहरू पुनः खेल्न थाल्छन् । अशोक घुम्दैफिर्दै अर्को मञ्चमा पुग्छ । गुलेलीले चरा मार्न खोज्छ । सफलता प्राप्त गर्न सकिरहेको हुँदैन । त्यत्तिकैमा उसको आँखा मौरीको घारमा पर्छ ।) (मनमनै) ओहो, महले भरिएको चाका रहेछ । यो मह काड्न पाए त खुब मह खान पाइन्थ्यो । मह बेचेर मनग्यै पैसा कमाइन्थ्यो । गर्जो पनि   टर्थ्यो ! (हातले टाउको समाउँछ र एक क्षण घोरिन्छ ।) गुड आइडिया । (गोजीबाट प्लाष्टिक निकाल्छ र घारको ठीक तल पर्ने गरी ओछ्याउँछ । अनि गुलेलीले ताकेर चाकाको फेदमा हान्न थाल्छ । चाकाबाट मह चुहुन थाल्छ । खुशी हुँदै ऊ मह चाट्न थाल्छ । त्यसै बखत एक गोला मौरी आउँछन् र उसलाई चिल्न थाल्छन् । ऊ बाफ रे बाफ भएर भाग्न थाल्छ ।  भाग्दा भाग्दै अर्को मञ्चमा पुग्छ । केटाकेटी आनन्दले खेलेको भेट्टाउँछ ।)

अशोकः बाफ रे बाफ, मलाई बचाओ, बचाओ ।

राधाः (खेल्न छाडेर) के भो, दाइ, तपाईंलाई के भो ?

अशोकः चिल्यो, बेस्कन चिल्यो ।

ज्ञानिताः  ए मौरीले पो चिलेछ । हेर, मुख सुनिन थालेछ ।

अशोकः  गुलेलीले घारमा तीनचार पटक के हानेको थिएँ, मेरो बाउको विहे पो देखाइदिए है ।

मनोजः त्यही त अरू प्राणीमाथि गिद्धेदृष्टि लगाउन छाड्नुस् भनेको ।

हरिशः हामी सानाका पनि राम्रा कुरा मान्दा फाइदै हुन्छ । सानाहरूले भनेका भए पनि त्यसमा रहस्य लुकेको  हुनसक्छ ।

अशोकः भो, अब अरू लज्जित नपार । मेलमिलापमा दम हुँदोरहेछ । एकएक गरेर ती मौरी आएका भए म किचिपिची पार्दिन्थेँ । एक हुल भएर यत्ता पनि टोके उत्ता पनि टोके ।

ज्ञानिताः ए, चेत्नुभो ? अनि झोला र गुलेली खै त ?

अशोकः झोला र गुलेली दुबै कहाँ पुगे । पत्तो पनि छैन । मलाई अब ती चाहिन्नन् पनि । ज्यान बच्यो त्यो नै ठूलो कुरा हो ।

हरिशः तपाईंको सुखका लागि अरूले दुःख पाउँदा उनीहरूलाई कस्तो महसुस भयो होला ?

अशोकः अब म छातीमा हात राखेर भन्छु, म सुख खोज्छु । त्यस खोजाइमा कसैको दुःख भोगाइ हुन्न । म विवेकको मद्दत र पाखुरीको सामर्थ्यले नयाँ जीवन सुरुवात गर्छु । तिमीहरू र मौरीले मेरो आँखा खोलिदियौ । अब यी आँखा कहिल्यै बन्द हुँदैनन् । (केटाकेटी पनि खुशी हुन्छन् । अशोक पनि जोशिलो देखिन्छ । पर्दा विस्तारै खस्दै जान्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *