मैले नेपाल देखें

छवि ढकाल
क्यानाडा

हुस्सु र कुहिरोमा निसासिएको
अनि बम र बारुदको धुँवाको
कालो मोसो दलेर रोइरहेको
मैले नेपाल देखें

औंसीको कालो रातमा
रुखो रोदन र क्रन्दन संगै
चिच्याइ चिच्याइ रोइरहेको
मैले नेपाल देखें

सगरमाथाको चिसो काखमा
जाडोले कठांग्रिएको अनि
चिर निन्द्रामा सुतिरहेको
मैले नेपाल देखें

साउने भेलमा अनि दुःखको बाढीसंगै
अविरल गतिमा बगिरहेको अनि
वैशाखको हुरीसंगै उडिरहेको
मैले नेपाल देखें

नेताका भोटहरुमा र भाषणहरुमा
पैसाका नोट अनि डलरहरुमा
जञ्जिरले बाँधिएको
मैले नेपाल देखें

धनीका महलहरुमा रक्सिका बोतलहरुमा
अनि सडकका पेटीमा टिल्ल भएर
मातेर लडिरहेको मत्तुसंगै सुतिरहेको
मैले नेपाल देखें

गरिबका छाप्राहरुमा र झुप्राहरुमा
अनिकाल ग्रस्त भएर खान नपाई
भोक भोकै प्याक्क परिरहेको
मैले नेपाल देखें

कर्मचारीका टाउके गिदीहरुमा
अनि नेताका ठूला भूँडीहरुमा
भ्रस्टचारको खाडलमा जस्तै कुहिएको
मैले नेपाल देखें

One Reply to “मैले नेपाल देखें”

  1. Dinesh Dhungyel

    great you have done pretty good work…….
    hope you will be able to establish the so far unknown bhutanese literature.
    thanks to all the members in this team.

Leave a Reply

Your email address will not be published. Required fields are marked *