मोदीको भ्रमणः चीन-भारत मित्रताको खलपत्रे अनुहारमा फेयर एण्ड लभ्ली
भक्त घिमिरे
हालचालै (गत मार्च महिनामा) दक्षिण एशियाली महाशक्ति राष्ट्र भारतका महामहिम नरेन्द्र मोदी छिमेकी देश भूटानको भ्रमणमा गएर फर्किए । गत जनवरीमा सम्पन्न भूटानको निर्वाचनमा चुनावी अनुगमन गर्न थिम्पू पुगेका भारतीय विदेशसचिव विजयमोहन क्वात्राको इन्तजाममा मोदीको यो भ्रमण साध्य भएको थियो ।
सन् २०१४ मा आफ्नो प्रथम भ्रमणताका उनले गरेको सम्बोधनमा भूटानलाई ‘लद्दाख’ भनेर हुनपुगेको गम्भीर त्रुटी यसपटक मोदीले दोहोऱ्याएनन् । शायद योपालि उनलाई ‘अर्डर अफ् द ड्रुक ग्याल्पो’ उपाधिले सम्मानित गरिने जानकारी पहिले नै सार्वजनिक भएकाले उनी पूर्णतयारीका साथ त्यहाँ पुगेका कारण पहिलेझैं बेपर्वाह त्रुटी यसपटक भएन । उनको भ्रमण र सम्बोधनपश्चात यसबारे धेरै विश्लेषकहरुले आ-आफ्नै पाराको आँकलन गर्लान् । भारतको सहायताले अब भूटानमा विकासको नदी बग्ने, चीनको प्रभावबाट भूटान सुरक्षित रहने बखान पनि गर्लान् । तर, भारतका राजनीतिक नायकहरु भूटान पुगेर गफ हाँक्ने काम कुनै नयाँ कर्म होइन भन्ने सबैले बुझ्नु आवश्यक छ ।
ब्रिटिशकालीन समय (सन् १७७२) देखि नै भूटानमा भारतको दब्दबा रहँदै आएको छ भने त्यो रवाफ केवल सत्ताशक्तिको वरिपरि मात्र घुमिरहेको छ । ब्रिटिशकालदेखि स्वाधीन भारतका नायकहरु, सरकार प्रमुखहरु लगातार रूपमा आजसम्म भूटान आउँदै-जाँदै गरिरहेकै छन् ।
यद्यपि, भारतीय चासोका कारण कहिल्यै पनि भूटानका नागरिकहरुले वास्तविक राहत पाएका छैनन् । यही शृंखलामा उनिएको एउटा चाखलाग्दो कथानक सम्मिलित छ जुन पढेपछि पाठकहरुले सही अर्थमा भारत-भूटानको मैत्री सम्बन्धभित्र के गुन्द्रुक उमालिँदैछ भन्ने निर्क्यौल गर्न सक्नुहुनेछ । म यहाँनेर त्यस्ता धेरै कथानकमध्ये त्यो विशेष एउटा प्रसंगमात्र उल्लेख गर्न चाहन्छु जसमा शासनको निकट रहेका भारतीय नारीहरुको सरोकार र दाउपेचमार्फत भूटान आजसम्म क्षतविक्षत बनेको छ ।
महाभारतको कथामा एउटा प्रसंग छः जस अनुसार द्रौपदीको एउटै उपहासका कारण दुर्योधनले महायुद्ध रचाएका थिए । इन्द्रप्रस्थको राजदरवारमा युधिष्ठिरको राज्याभिषेक हुँदा पाण्डवहरुले वरिपरिका धेरै राजाहरुलाई निम्तो गरे ! निम्तो मान्न हस्तिनापुरका युवराज, धृतराष्ट्रपुत्र दुर्योधन पनि आएका थिए ।
दानव मयासुर जस्ता विख्यात प्राविधिज्ञको कलाकौशलले बनेको इन्द्रप्रस्थ दरवारमा संगमरमरको भुइँमा पानीको रंग थियो । त्यसमाथि हिँड्नुपर्दा दुर्योधनले पानीले भिज्ला भनी आफ्नो धोतीको सप्को उचाले । अलि पर माटोको रंग झल्किने तलाउ थियो । हिँड्दा हिँड्दै दुर्योधन तलाउमा डुब्न पुगे । यो देखेर द्रौपदीले बार्दलीबाट उपहास गर्दै भनिन्,“यिनको पनि दृष्टिगोचर क्षमता बाबु धृतराष्ट्रको भन्दा बढी रहेनछ ।” यो सुनेपछि दुर्योधनले इन्द्रप्रस्थलगायत पाण्डव खलकको समूल नष्ट गर्ने प्रतीज्ञा गरे र यसैको परिणतिमा महाभारतको युद्ध भयो ।
हुनलाई त वास्तवमा महाभारत कसरी भयो, किंवदन्ति नै सही, हामीले सुनेको वा पढेको यति नै हो । हाम्रो बेलाको महाभारतमा पनि लगभग यस्तै यस्तै हुनपुगेको छ । अर्थात् नारीजनित विषयवस्तुबाट उठेको राजनीतिक प्रसंगले नै लाखौंलाई थात-बासबाट विस्थापित गरेको छ ।
अब थालौं त्यो प्रसंग के हो भन्नेतर्फ ! यहाँहरुलाई कति स्मरण छ, ब्रिटिशहरुले भारत छोडी जानअघि नै सन् १९४६ मा भारतको तर्फबाट भूटानलाई भारतीय महासंघमा सामेल हुन आग्रह गरिएको थियो । भूटानका तत्कालीन प्रतिनिधि राजा एस.टी. दोर्जीले सो प्रस्तावलाई खारेज गर्दै कडा शब्दमा राष्ट्रिय कंग्रेसका नेता जवाहरलाल नेहरुलाई पत्र पठाएका थिए । दोर्जीको सो पत्रमा ‘अहिले नै निर्णय गर्न अनिवार्य नभएर धैर्यतापूर्वक पछि सोच्न सकिन्छ’ भनी नेहरुले सान्तवना दिएका थिए । भारत स्वाधीन भएपछिका प्रथम प्रधानमन्त्री नेहरुले सन् १९५८ मा औपचारिक भ्रमण गर्दै थिम्पू पुगेर ‘दिल्लीको लोकसभामा थिम्पूबाट प्रतिनिधि पठाउने’ कंग्रेसको पुरानो प्रस्ताव घुमाई-फिराई पुनः दोहोऱ्याएका थिए ।
बघिनी माईः नेहरूपुत्री इन्दिरा युग
त्यसको लगभग २० वर्षपछि सन् १९६६ मा तत्कालीन प्रधानमन्त्री गुल्जारीनन्दको सत्ता पल्टाएर सर्वप्रथम प्रधानमन्त्री बनेकी बघिनी माई इन्दिरा गान्धीले आफू प्रम भएको दुइवर्षपछि (सन् १९६८ मा) भूटानको भ्रमण गरिन् । इन्दिरा गान्धी अधिकतम महत्वाकांक्षी राजनीतिज्ञ थिइन् जो पाकिस्तानलाई टुक्य्राएर दुइ देश बनाउने (सन् १९७१ मा पूर्वी पाकिस्तानलाई बंगलादेश बनाउन इन्दिराको निर्विकल्प योगदान थियो) सफलताबाट विश्वचर्चित समेत बनिन् । यही बेला उनले स्वतन्त्र सिक्किममाथि कब्जा जमाएर भारतमा गाभिन् भने त्यसपछि उनका कुटिल नजर नेपाल र भूटानमाथि पनि केन्द्रित थिए ।
यहाँहरुले विचार गर्नुभएको होला, संयोगले एकैचोटि सन् १९७२ मा भूटान र नेपाल दुवै देशमा क्रमशः जिग्मेसिंगे वाङ्चुक र विरेन्द्रवीरविक्रम शाहले राजकाजको जिम्मेवारी पाएका थिए । तर, वाङ्चुकको गद्दी आरोहण सन् १९७४ मा र शाहको गद्दी आरोहण सन् १९७५ मात्र भएको थियो । गद्दी आरोहित औपचारिक राजा नभएको त्यो संक्रमणकालमा इन्दिराले सुरक्षा खतराको त्रास देखाएर ती दुवै देशलाई आफ्नो अधीनमा लिने गोरेंटो बनाउँदै थिइन् ।
त्योबेला नेपाल राजा महेन्द्रको ‘राष्ट्रिय पञ्चायत’ फालेर बहुदलीय व्यवस्था ल्याउने दिशामा द्वन्द्वरत थियो । पश्चिम बंगाल र विहारमा अड्डा लिएर शमशेर, कोइराला, भट्टराई र सिंहहरुको योजनामा नेपाली कंग्रेसले विमान अपहरणदेखि सशस्त्र युद्धकै घोषणा गरी नेपाली राजनीतिको भुत्भुते उधिनिरहेको बेला थियो ।
त्यही समय भूटान पनि सन् १९६४ मा जिग्मे पाल्देन दोर्जीको हत्याबाट उत्पन्न द्वन्द्वग्रस्त स्थितिमा गुज्रिरहेको थियो । थिम्पूबाट राजपरिवारकै निकट केही भारादारहरु भागेर नेपालमा शरणार्थी बनेका थिए । ‘दोर्जीको हत्या दरवारकै सदस्यहरुबाट नियोजित रूपमा गरिएको’ भनेर आशी टासी दोर्जीले आरोप लगाइरहेकी थिइन् जो नेपालमा शरण लिनेमध्ये एक थिइन् ।
यस्तो तरल स्थितिलाई माध्यम बनाएर इन्दिरा गान्धीले यी सबै देशहरु आफ्नो कब्जामा लिने अठोट गरेपनि उत्तरी छिमेकीको सम्भावित प्रतिक्रियात्मक कदमको परीक्षा लिने ध्येयमा पहिले सिक्किमलाई मात्र निमोठिन् । त्यो समय कस्तो थियो भने पाकिस्तानसित पहिले नै दुइवटा युद्ध गरिसकेको भारतका लागि यसपटक (सन् १९७१) मा पाकिस्तानलाई फुटाएर बंगलादेश बनाउने युद्धमा गरिएको निकै ठूलो लगानीले राजकोष टाट पल्टिने अवस्थामा पुगेको थियो ।
उसबखत अमेरिका लगातार पाकिस्तानको पक्षमा उभिएको थियो भने सिक्किम विलयको सवालमा नेपाल, सिक्किम, भूटान र भारतका दुइ उत्तरी राज्यहरु- लद्दाख र नेफा (NEFA-Northeast Frontiers Agency-New name-Arunachal Pradesh) समेत आफ्ना अभिन्न अङ्ग भएको बताएर चीनले सनसनी पैदा गरिदिएको थियो । “तिब्बत हत्केला भए पाँच औंला पनि उसैका हुन्छन्” भन्ने भौतिक विज्ञानको सिद्धान्त प्रयोग गर्दै चीनले भारत, भूटान र नेपालसमेतको सार्वभौमिकता र सीमाविवादको विजारोपण गरेको थियो ।
चीनबाट आएको यस्तो खरो प्रतिक्रियाकै कारण बघिनी माई इन्दिराले तत्काल नेपाल र भूटानलाई स्वतन्त्र रहन दिने अल्पकालीन निर्णय गरिन् ! अब सिलसिलेवार स्थितिको संयोग कस्तो पऱ्यो भने दर्बिन्दर सिंह पर्मार र जगजित सिंह चौहानले लण्डनबाट संयुक्तरूपमा घोषणा गरेको पृथकतावादी खालिस्तान विद्रोह सँगै बंगलादेशको सैन्यविद्रोहमा राष्ट्रपति शेख मुजीबर रहमानको वंशनास भएको देखेपछि अत्तालिएकी इन्दिराले विरोधीहरूलाई तह लगाउन भारतमा संकटकाल घोषणा गरिन् । संकटकाल घोषणाकै कारण उनको राजनीतिक वर्चस्व तहस-नहस हुनपुग्यो जसले गर्दा सन् १९८४ मा उनको ज्यान पनि गयो । खालिस्तानी विद्रोहका सदस्यहरुले बीच सडकमा उनको निर्मम हत्या गरिदिए ।
इटालियन पुत्रीः भारतीय बहु सोनिया युग
यसरी भारतीय राजनीतिबाट बघिनी माई इन्दिरा अस्ताएपछि शुरु भयो अर्की नारी सोनिया गान्धीका कारण उत्पादित वितण्डा ! सन् १९६८ मै तत्कालीन विमानचालक राजीव गान्धीसित विवाह गरी इटलीबाट भारत भित्रिएकी सोनिया सन् १९८४ मा इन्दिराको हत्यापछि सत्ताविरासत पाएका आफ्ना पति अर्थात् नयाँ प्रम राजीव गान्धीसित नेपाल भ्रमणमा आएकी थिइन् ।
नेपालमा पशुपतिनाथको दर्शन गर्न पुगेका बेला सोनियालाई मन्दिर प्रवेशमा रोक लगाइयो । नारायणहिटी राजदरवारमा अतिथि सत्कार हुँदा रानी ऐश्वर्याले सोनियासित हेलमेल गर्न हिच्किचाहट देखाएको पनि आरोप थियो । यही कारणबाट रुष्ट गान्धीले पछि अरु नै लेपपोत कारण देखाएर नेपालमाथि नाकाबन्दी समेत लगाए ।
त्यही बेलाको हाराहारीमा उता दार्जीलिङतिर सुवास घिसिङले पृथक वासभूमिको मागमा सशस्त्र गृहयुद्ध नै चलाइरहेका थिए । आसाम क्षेत्रमा भारतबाट स्वतन्त्र, सार्वभौमसम्पन्न आसाम देश निर्माणको उद्देश्य राखेर चक्चकी मच्चाइरहेको उल्फा (ULFA) विद्रोह उत्कर्षमा पुगेको त्यो बेलामा दार्जीलिङले पनि हात मिलायो भने उत्तरपूर्वी क्षेत्र नै भारतको हातबाट फुत्केला कि भन्ने चुनौतीको त्रासमा राजीव गान्धी थिए । एक त सोनिया गान्धीलाई ‘विदेशी’ उपमा दिएर विपक्षी दलहरुले संसदमा समेत आगो फुकिरहेकै थिए । त्यसमाथि ‘उनी अहिन्दू भएकाले भारतीय मूलधारमा कहिल्यै समावेश हुन नसक्ने’ हिन्दू कट्टरपन्थीहरुको दाबी राजीव गान्धीका लागि फलामे चिउरा समान भइरहेको थियो ।
यही सिलसिलामा हँस्यौली-ठट्यौलीझैं लाग्ने अर्को एउटा घटना पनि भयो । घटना कस्तो भने सिक्किममा त्यो बेला नरबहादुर (एन.बी.) भण्डारी नेतृत्वको संग्राम परिषद सत्तामा थियो । तर, श्रीमती भण्डारी दिलकुमारी कंग्रेस आईको टिकटमा चुनाव लडेर लोकसभामा निर्वाचित भइन् । यस कुरामा मुख्यमन्त्री एन.बी.भण्डारी आक्रोशित भएर गान्धीविरुद्ध खरो वयानवाजी गर्ने क्रममा उनले,‘आफ्नी श्रीमती सीताकै रूप भए पनि दिल्लीको रावणले हरेर लगेको’ समेत भन्न भ्याए ।
शाह बानो बेगम मुद्दामा सर्वोच्च अदालतले इस्लामको शरीयतविरुद्ध सैंवाधानिक इजलासको फैसला गरेपछि मुसलमानहरुलाई हातमा लिन गान्धीले संसदबाट अध्यादेश नै पारित गराएर सर्वोच्चको फैसला उल्टाए भने यता हिन्दूहरुलाई खुशी पार्न उनले सन् १९४८ देखि बन्द रहेको अयोध्यास्थित राम मन्दिरको ताला पनि खोलिदिए । आज त्यही राममन्दिरको विषयले भारतको मूलधार राजनीतिलाई डोऱ्याएर हिँड्ने सिलसिला चलिरहेको छ ।
हिन्दू-मुसलमान द्वन्द्व, दीर्घकालीन कश्मिर विवाद, उत्तरप्रदेश र बिहारको क्षेत्रीय गुण्डागिरी राजनीति, श्रीलंकामा सेना पठाएर त्यहाँको तमिल विद्रोह दमन गरिदिएको आक्रोशमा दक्षिण भारतको आवेग र यता आसामको पृथकतावादी व्यथाले आफ्नै परिवेशमा थिल्थिलो भइरहेकै बेला नेपालमा सोनियाप्रतिको अपमान हुनु, सिक्किममा भण्डारीले रावण सम्बोधन गर्नु अनि दार्जीलिङ क्षेत्रमा सुवास घिसिङको ‘चट्याङले बज्र हान्दै गर्नु’ले समग्र क्षेत्र (नेपालभित्र र बाहिर)-का नेपाली पृष्ठभूमिका समुदायहरुप्रति गान्धीमा आशंका पैदा भएको धेरै राजनीतिक विश्लेषकहरुले अनुमान गरेका छन् । संकटको घडीमा ढाडस नपाएर नेपाल र क्षेत्रीय परिधिमै नेपाली पृष्ठभूमिका समुदायबाट अपेक्षाविपरीत नतिजा देखिएपछि राजीव गान्धीमा नेपाल र नेपाल बाहिरका सम्पूर्ण नेपाली (हरू) प्रति सन्देह पैदा हुनु स्वाभाविक पनि थियो कि !
यिनै घटनाक्रमको नतिजास्वरूप राजीव गान्धी भूटान पसेर त्यहाँका नेपालीभाषी नागरिहरुसित होशियार रहन जिग्मेसिंगेको कान फुकेका थिए । सन् १९८५ मा जब भूटानले विभेदपूर्ण नागरिकता ऐन बनाइरहेको थियो, सो बखत गान्धीको भूटान भ्रमण भएको थियो भने सन् १९८८ मा त्यो ऐन लागू हुँदै गर्दा पनि गान्धी भूटान पुगेका थिए । भनिन्छ, भूटानको तत्कालीन सरकारले कथित रूपमा राजीखुशीले देश छोडी गएका भनिएका नागरिकहरुलाई क्षतिपूर्तिस्वरूप दिएको आर्थिक राहत पनि ‘गान्धीकै पहलमा जुटाइएको बजेट’ थियो । केही अनुसन्धाताको अनुगमनमा भारतको अर्थ मन्त्रालयबाट रकम निकासाका यस्ता दस्तावेज फेला परेका बताइन्छ ।
दक्षिण भूटानी नागरिकहरुलाई चालबाजीपूर्वक देशनिकाला गरेपछिको चरणमा टेकनाथ रिजाल भूटानको जेलमा छँदा भूटानमा जेलहरुको अनुगमन गर्न पुगेको अन्तर्राष्ट्रिय मानवाधिकार सरोकार टोलीमा सामेल कपिल सिब्बलले रिजाललाई ‘तिमीहरु नेपालमा खान नपाएर भूटान पसेका, आफैं बसेको देशविरुद्ध जाल रचेको, राजाविरुद्ध षड्यन्त्र गरेको’ लाञ्छित आरोपहरु लगाएको कुरा रिजालले आफ्नो पुस्तक ‘निर्वासन’ मा उल्लेख गरेका छन् । कपिल सिब्बल कंग्रेस आईका ख्यातिप्राप्त नेता हुन् जो कंग्रेसको सत्तामा धेरैपटक कानून मन्त्रीसमेत बनेका थिए । यसरी नै नेपालका शरणार्थी शिविरबाट स्वदेशगमनका लागि हिँडेका भूटानीहरुलाई मेचीपुलमा छेकेर हिंसात्मक रवैया अपनाएको भारतीय प्रशासनलाई उक्साउँदै ‘शरणार्थी शिविरमा रहेका मानिसहरु भूटान फिर्ता गएमा भूटानको जनसांख्यिक सन्तुलन बिग्रिने’ दाबी गर्ने प्रणव मुखर्जी पनि कंग्रेस आईकै वरिष्ठ नेता थिए ।
कुरो त्यतिमा सीमित छैन । यूएनएचसीआर र करितासजस्ता राहत-दातृ संस्थामा अनेकौं गुप्तचरहरु समावेश गराएर शरणार्थी समस्यालाई अझ तन्काउन पनि भारतीय कुटनीतिज्ञहरुको राम्रै भूमिका रह्यो । तपाइँ आदरणीय पाठकहरु, याद गर्नुस् नः सन् २००४ देखि २०१४ सम्म दिल्लीको केन्द्रिय सत्ता कंग्रेस आईकै हातमा थियो जतिबेला शरणार्थी पुनर्वाशको योजना चरम उत्कर्शमा पुग्यो र, भूटानको नागरिक स्वतन्त्रता, न्यायिक अधिकारको आन्दोलन अन्यौलग्रस्त बनाइयो ।
वैदेशिक नीतिमा कंग्रेसी र भाजपायीबीचको भिन्नता
यी तमाम वर्णन गरिरहँदा भारतको कंग्रेस आईमात्र नेपाली पन, नेपाली मनका विरुद्धमा रहेछ भन्ने अर्थ लाग्ला ! केही मान्छेहरुले ‘कंग्रेस आईको सत्ता मात्रै हाम्रो विरुद्धमा थियो, वर्तमान भारतीय सत्ताधारी दल भाजपा त हितैषी हो’ भन्दै गरेका मैले सुनेको छु । वास्तविक कुरो त्यस्तो होइन । सत्ता सञ्चालनमा आन्तरिक बेमेल भएर, सैद्धान्तिक मतान्तर भएर उनीहरुको परराष्ट्र (वैदेशिक) नीतिमा कुनै फरकपन आउँदैन ।
सन् १९९६ मा दिल्लीको जन्तर-मन्तर इलाकामा धर्ना दिन पुगेका भूटानीहरुलाई राहतस्वरूप आफ्नो गाडीमा चामलको बोरा, तरकारीका पोका हालेर पुऱ्याउन आउने तत्कालीन विपक्षी दलका नेता, कवि छविका राजनीतिज्ञ अटलबिहारी बाजपेयी प्रधानमन्त्रीको कुर्सीमा बसेपछि तिनै भूटानीका विरुद्धमा प्रशासनिक आदेश जारी गर्थे । भाजपासँगै सत्ता समीकरणमा क्रियाशील जर्ज फर्नान्डीस निर्वासित भूटानी नेता रोङथोङ क्युनले दोर्जीको उन्मुक्तिका लागि रातभरि तिहार जेलको ढोकामा धर्ना दिएर बस्थे । तर, संसदमा छिरेपछि उनी तिनै क्युनले दोर्जीका विरुद्धमा ‘दिल्लीबाट बाहिर जानै नपाउने’ नजरबन्दको सिफारिश गरेर फर्कन्थे । पंक्तिकार स्वयं र अनेकौं भूटानीहरुले अनुभूत गरेको कुरा हो यो ।
सन् १९९२ मा भाजपा नेता मुरली मनोहर जोशीको अगुवाइमा कन्याकुमारीदेखि श्रीनगरको रथ-पैदल यात्रामा सहभागी बनेर भाजपाको राजनीतिक चिन्तनबारे धेरै भित्री कुरा बुझ्ने अवसर यस पंक्तिकारले प्राप्त गरेको छ । सो यात्राका दौरानमा अजयमोहन विष्ट (योगी आदित्यनाथ), वरिष्ठ नेताद्वय लालकृष्ण आडवाणी र मुरली मनोहर जोशी, युवानेता राजनाथ सिंहजस्ता अनेकौं नेताहरुसित १९ दिनको सहयात्रा, सहभोज र बिछौनाको साझेदारीमा यस पंक्तिकारले अन्तरंग सम्बन्ध स्थापित गरी व्यापक चर्चा गर्न भ्याएको छ ।
अहिले अफ्गानिस्तान, पाकिस्तान र बंगलादेशबाट भारत छिर्ने हिन्दूहरुलाई सहजरूपमा भारतीय नागरिकता प्रदान गरिने कानून आन्तरिक रूपमा उनीहरुले उतिखेरै तय गरिसकेका थिए । कश्मिरको विशेष दर्जा कायम रहने कानून ३७० उनीहरुको अन्तरसहमतिमा उतिबेलै खारेज भएको हो । राममन्दिरको निर्माण उतिबेलै सिद्ध भएको हो । केवल क्रियागत रूपमा यी सबै कुरा सम्पन्न हुन पछिसम्म समय लागेको मात्र हो ।
उनीहरुकै रेखदेख र सक्रियतामा भारत वरपरिका एकलकाँटे देशहरु, भारतकै उत्तरपेटीका जनजातीय राज्यहरुमा सकेसम्म केन्द्रीय राजनीतिक मूलधारमा वर्चस्व रहने समुदायलाई घूसपैठ गराएर गोप्य सूचना बटुल्ने र तत् तत् क्षेत्रको सामाजिक सत्ता समेत आफ्नो अधीनमा ल्याउने जमर्को उतिबेलै शुरु भएको हो । नेपालमा मधेशी पहिचानको विवाद चर्किएको बेला ‘एक करोडजति भारतीयहरु नेपालभित्र रहेका’ भनेर भाजपायी गृहमन्त्री राजनाथ सिंहले सार्वजनिक मन्तव्य नै दिएका थिए जसलाई यहाँहरुले उदाहरणको रूपमा लिन सक्नुहुनेछ ।
वास्तवमा भाजपालाई राजनीतिक सत्ताबिनाको स्वच्छ दार्शनिक चैतन्यप्रभावी हिन्दूत्व चाहिएको होइन । अरु देशबाट आउने बुद्धिष्ट र हिन्दूहरुलाई भाजपा स्वागत गर्छ तर, भूटानबाट विस्थापित बौद्धावलम्बी र हिन्दूलाई आड-अडेसो गरे थिम्पूको सत्ताशक्तिसित उनीहरुको तालमेल बिग्रन्छ, सत्ताको सतरञ्जमा चालिएका चीनियाँ गोटी ठोकिएर वरपर सर्न सक्छन् ! दाउपेचको मैत्रीपूर्ण लेनदेनमा, सीमा राजनीतिको नाफा-घाटामा ठेस लाग्नसक्छ । त्यसैले मोदी अहिले चीन-भारत मित्रताको पोतो लागेको खलपत्रे अनुहारमा भूटानमार्फत ‘फेयर एण्ड लभ्ली’ दल्ने उद्देश्यले मात्र थिम्पू गएका हुन् । यस भ्रमणबाट जनजनमा सरोकार राख्ने खास्सै उल्लेख्य, अभूतपूर्व उपलब्धि हुने आशा गर्नु व्यर्थ छ ।
सन्दर्भ स्रोत:
A. Personal Experiences
B. Theory of so-called demographic Imbalance, a statement given by Congress leader Pranav Mukherjee: once Foreign minister and the President of India
https://reliefweb.int/report/nepal/bhutanese-refugees-intl-issue-india-admits-first-time
C. https://www.indiatoday.in/mail-today/story/india-concerned-about-madhesis-in-nepal-after-the-atrocities-against-the-community-rajnath-singh-290980-2015-08-30
D. Emergency Chronicles: Indira Gandhi and Democracy’s Turning Point: By Gyan Prakash
E. Modern Bhutan: Ram Rahul: Head, Department of Central Asian Studies, School of International Studies, JNU
F. Himalayan Kingdom BHUTAN: Tradition, Transition and Transformation: AC Sinha
Sarai chitta bujhdo, satya, tatyha sahit bichar pokhnu bhayeko ma stambhakar lai dhanyabad chha.
Good write up.. but the Mujibur Rehman episode by itself was not the cause for imposing Emergency in India by Indira Priyadarshini.
It was more to do directly with the result of Supreme Court’s verdict (1975) on case filed by Raj Narayan against 1971 election malpractice/fraud, which nullified Mrs Gandi’s election and literally made her term as ‘illegal’ Prime Minister.
Hope that gets corrected.
त्यो पनि सही हो दाजै । यद्यपि, मुजीब्बर रहमानमाथि इन्दिराको भरोसा अकाट्य थियो । आफ्नै सक्रियतामा पाकिस्तानबाट फुटाएर बंगलादेश निर्माण गरिदिने प्रियादर्शिनी गान्धीमाथि रहमानको पनि अत्यधिक भरोसा थियो । भारतभित्रै ‘मुक्ति वाहिनी’ सेना गठन गराएर रहमान नेतृत्वाधीन ढाका-स्ता स्थापित गरिदिएको गुण तिर्न उनी गान्धीप्रति अनुगृहित थिए । पाकिस्तानको जेलबाट छुटेपछि उनी दिल्लीको बाटो हुँदै गान्धीलाई भेटेरमात्र ढाका छिरेका थिए ।
पछि पाकिस्तानी सेनाले सत्ताविद्रोह गरी रहमानसत्ताको सर्वनाश र रहमान परिवार नै नष्ट गरिदिएपछि गान्धीलाई मानसिक झट्का लागेकै थियो । अमेठी चुनावको नतिजा रद्द भएर उनी ‘अवैध प्रधानमन्त्री’ घोषित भएको कुरालाई त उनले मध्यावधी चुनावमार्फत साम्य पार्ने बाटो लिइसकेकी थिइन् । जे होस्, यी सबै घटनाक्रमहरु एउटामात्र कारक विषयबाट उत्पन्न भएका होइनन् भनेर बुझ्नु जरुरी छ ।