म अनि नाङ्गिएका चेरी र आरुहरु

नारायण न्यौपाने / अरिजोना, अमेरिका

उही पुरानो घरको बार्दलीबाट
चिहाइरहेको छु
तुशारे शिशिरले नङ्गाएका
चेरी र आरुका बोटहरुलाई !

म पनि त तिमीहरु जस्तै नाङ्गिएको छु,
उजाड छ मेरो जीवन पनि तिमीहरु जस्तै
तिमीहरुलाई नङ्गाउने तुशारे शिशिर
अनि बर्सिएको निष्ठुरी हिउँ
मेरो जीवनमा पनि बर्सिएको छ !

कुनै बेला
तिमीहरु पनि ढकमक्क फुलेर
सबैलाई आफ्नो खुश्बू बाँढ्थ्यौ
तिम्रा हरियाली डालीहरुमा बसेर
कुहु-कुहु कोइलहरुले स्तब्ध पार्थे सबैलाई

तिम्रा समिप भएर हिंड्ने बटुवाहरु पनि
तिम्रा शितल छहारीहरुमा बसेर
लामो सुस्केरा हाल्थे !

झ्याउरे लयसँगै घन्किएको
धिङ्ताङ धिङ्ताङको तालमा
मानिसहरु मन्त्र मुग्ध हुन्थे !

तर
तर वसन्तराजका हल्लिएका हातसँगै
तिम्रा पनि यी सबै चिजहरु हराएर गए !
निष्ठुर वसन्तले आफुसँगै सबै लिएर गयो !

आज
तिमी पनि म जस्तै उजाड – उजाड छौ !
कोइलीहरुको कुहु – कुहु छैन तिमीसँग !
अनि
घन्किदैनन् झ्याउरेसँगै
धिङ्ताङ धिङ्ताङ मादलुहरु !!

तिमी र ममा धेरै समान्तर छ !
तर सबै होइन
तिमीहरु त नङ्गाएका मात्र छौ
म त मरिसकेको छु !!

वसन्तराजको आगमनसँगै
तिमीहरु फेरि उस्तै हुन्छौ !
हराएका सबै पुन: पाउने छौ तिमीहरुले !

किरणको न्यानो रश्मिसँगै
तिमीहरु फेरि मुस्कुराउने छौ
जवान बनेर !

अनि पाउने छौ तिमीहरुले
हराएका तिम्रा कोइली र बाटुवाहरु !

तर
तर मैंले त सबै गुमाएको छु
हराउनु र गुमाउनुमा धेरै फरक छ !
आशा छैन मलाई फेरि
नयाँ जीवन पाउँछु भनेर !

के एक चोटि मरिसके पछि
फेरि नयाँ जीवन पाईन्छ र ??
म सोधी रहेको छु
आरु र चेरीका बोटहरु लाई…………….

Leave a Reply

Your email address will not be published. Required fields are marked *