म अनि मेरो बुढोपन

जय हुमगाई
क्यानाडा

नौ महिना सम्म
भित्र बसेर आमाको
पेटमा लातले
मार्दै मडारिँदै
सकुशल
गर्भलोकमा बिताए
पछि
म जन्मन तयार भएछु
आमालाई म जन्मने
बिराम लागेछ
आई-या आई-या
मरे मरे भन्दै रून
लाग्नु भएको हुनुपर्छ
कति असनिया मेरो
जन्मले भोगाएको हुनुपर्छ
जबरजस्त बल
लगाएर झन्डै
मृत्युको मुखमा
पुग्नु भएको हुनुपर्छ
र मलाई जन्माको
हुनुपर्छ,थाह नदी
म सँगसँगै मेरो
बुढेसकाल पनि जन्मिएछ

र त्यै दिन देखि म
बुडो हुन थालेछु
नत्र किन दुई
दिनको हुँदै
हि ईस टू डेस
ओल्ड भनिएको होला?
कोक्रामा झुल्दै
को खाई नानी
हाम्म भन्दै
बिस्तारै उठ्दै
लड्दै आफू
भन्दा ठुलाका
औला समाउँदै
म बढ्दै गएछु।

साथी भाइ बनाएछु
अझ ठुलो भएछु
बोल्न सिकेछु
काम गर्न सिकेछु
हुँदा हुँदै लाठे भएछु
अनि अर्काकी
छोरी सँग
बिहे गरेछु अझ
धेर जिम्मेवारी थपिएछ
यस्ता यस्तै
मेरा अनेक रहरहरूले
जन्मलिएछन र मलाई
लालायित बनाएछन् अनि
बिस्तारै ती
उकक्कुस-मुक्कुस रहरहरू
कम हुँदै गएछ
घोर्ले जवानी
बाग जस्तो बैसा
लुते स्याल भएछ
उमेर छँदाको माया-प्रेम
डाँडा पारीको घाम
भएछ लालायित
हराएछ
स्नेह र प्रेमको ओइरो
बिन पानीको कुवा भएछ
कसिलो दरो सपक्क परेको
जीउ कुप्रो झुत्रो
बाङ्गो लुलो लङ्गडो भएछ
तिन गज फाल हान्ने
खुट्टा जिउ नथाम्ने भएछ
माम्सपिण्ड थल्थलिएर
हड्डी छाला बिचको
सम्बन्ध फितलो भएछ
चिल्ला पोटिला मोही खाने गाला
सुपारी खाँदा मात्र
पुटूसह देखिन भएछ
बुलबुले कालो कपाल
बगरको सेतो
काँस घारी भएछ
पहिरो गएको पाखो जस्तो
टिल्ल तालु भएछ
उडेको चरो समाउने
जाँगर अनिकालको
ढिकी जस्तो भएछ
उखुको लाँक्रो चबाउने
दाँत सातु खाँदा
रमाउने भएछ
भरिला दाँत खसेर मुख
माटिकोरिको
दुलो जस्तो भएछ
तेजिला सियोमा धागो
छट्ट
छिराउने आँखा
आफैलाई नदेख्ने भएछ।

मिठा कुरा सुन्ने कान
उल्टो सुन्ने भएछ
तांगखुलेको डाँडो
जस्तो नाक अब चस्मा
थाम्ने टेकुवा भएछ।
अपुरो लाग्थ्यो प्रेम कहानी
अहिले पूर्ण हुन थाले छ
उसले देख्ने मैले हेर्ने
रहर अब घट्दै गएछ।
मैले सुन्ने उसले
सुनाउने कहानी पनि
रित्तो रित्तो हुँदै गएछ
उनको माया मेरो कस्सम
धेरै फितलो भएछ।

मिठो खाने राम्रो लाउने
रुचि आज घट्दै गएछ।
यो खा त्यो खा भन्ने डक्टर
यो नखा त्यो नखा
भन्ने भएछ
रसिलो बोली फुटाउने कण्ठ
थर्काउने भएछ
बोलेका कुरा नबुझ्दा
घरमा परिवार
रिसाउने भएछ।
पेट अनि खुटा हुँदै
शरीर सारा पोल्ने भएछ।

घुम्ने डुल्ने रहर
अहिले कुना पसी
सुत्ने भएछ
गफ गर्दा मज्जा लाग्यो
अहिले झर्को लाग्ने भएछ
बकवास लाग्छन् गीतहरू
महा-भारत पुराणहरू
प्यारो भएछ
निचोडमा भन्नु पर्दा
पक्का अब बुडो भएछ।

बिचार बुढोपन
डाँडा पारीक
घाम भएछ।

घरको न
घाटको भएछ।

आफैँले
बनाएको घरमा
छिर्न नपाउने भएछ।

समाएमा नुहाउन नसक्दा
गनाउने भएछ।
फोरी
बुडो पर जा
भनिने भएछ
गन्ती मन्तीमा नआउने
कुरा कानी नगरिने
खाए खा नखाए मर
भनिने भएछ।

बिडमबना
यस्तै छ बुढो हुन
कठिन छ॥

Leave a Reply

Your email address will not be published. Required fields are marked *