म खुसीको पसल थाप्न सक्छु

राज बराल
पेन्सिल्भिन्या, अमेरिका

सपनाहरू
जसले नीद चोरेका थिए
वस्तु सत्य थिए
म आज बुझ्दै छु
जब
खुसीका आँकुराहरु
साउती गर्छन्
अब
हुरी आउनेछ भनेर……

आज पनि बच्चा काढेर
झ्याँउ-झ्याँउ गरिरा’छन्
तिनै सपनाका सन्तानहरू,

तिनको पालन-पोषण गर्न
कति पनि झिँजो नमानी
बिताइरहेछु समय
वर्तमान धरातलको
चैन टुटाएर,
यस्तो लाग्छ कैले कहीँ
कि
म सपनाको बन्ध्याकरण गरिदिँउ ।

छाती भित्र स्पात नहुँदो हो त

सदैव बाँझो माथि
सिर्फ बुर्कुसी मच्चाउने थिए
प्रकृतिले चट्याङ छादेको बेला
म हृदयघातको सिकार हुन्थेँ
मेरो निरीह टाउकोमा नाच्नेहरूलाई
बधाई-शुभकामना दिन्थेँ ।

तर अहँ…..
मलाई नयाँ बाटो हिँड्नु छ
मेरो प्यारो छाती
तिनको भकुण्डे मैदान कहाँ हो र

मैले बाँच्न प्रलयलाई
प्रेम गर्नै पर्छ
आखिर खुसी त
अठोर र कठोर साधनाको भ्रुँण हो,
जब मलाई साधना र सङ्घर्ष नै प्यारो लाग्छ
म खुसीको पसल थाप्न सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *