म जीवन रोप्छु
तेजमान रायका, जर्मनी-
अनिश्चित प्रायः रात !
अट्टहासपूर्ण रात !
मध्य रातमा ऐठन हुन्छ
म ब्यूँझन खोज्छु
एउटा ठूलो साहसपछि मेरो चेतना खुल्छ
तर अन्धकारमा किम्कर्तव्यबिमूढ हुन्छु !
निदाएको बेला सपनामा देखेको दृश्य फेरि स्मृतिमा ल्याउँछु
एउटा भयानक भीरमा म उभिरहेको हुन्छु;
मेरा पाइतालाले भर नपाएर
मेरो सिङ्गो शरीर कम्पन हुन्छ
भीरको एकातिर मृत्युप्रायः छ
अर्कोतिर अन्योलपूर्ण असहज बाटाहरू
म द्विविधामा पर्छु
मृत्यु रोजूँ या संघर्ष ?
मृत्यु मेरो परिभाषामा केवल यो नश्वर शरीरको अन्त होइन,
मान्छे बाँच्न नजानेर मर्न सक्छ
मान्छे बाँच्न नसकेर मर्न सक्छ,
मान्छे संघर्ष गर्न डराएर पनि मर्छ
त्यसैले, मान्छे आफ्नो मृत्युभन्दा पहिल्यै पनि मर्न सक्छ !
संघर्षका पनि अनेक आयाम हुन्छन्,
अनेक रूप हुन्छन्,
संघर्ष क्लिष्ठ र कठिन हुन्छ
कालो रातमा सपना र कल्पनाको परिदृश्यमा !
म झन् अलमलमा पर्छु
तर, एउटा अठोट गर्छु,
मृत्यु होइन म संघर्ष रोज्छु
निष्पट्ट अँधेरी रातमा पनि जीवन खोज्छु,
‘रात र दिन’ प्रकृतिको नियम हो-
यो अट्टहासपूर्ण रात अब मिर्मिरे भएर अन्त हुँदैछ
त्यसपछिको नयाँ बिहानीसँगै
सपना र कल्पनाको खेती होइन,
म जीवन रोप्नेछु
म जीवन रोप्छु !