म पनि मान्छे नै हो साथी

चन्द्र अधिकारी ‘काका कान्छो’
केन्टुकी अमेरिका

म पनि त मान्छे नै हो साथी
किन कि तिमी जे खान्छौ
म पनि त्यही खान्छु
फरक यति मात्र हो,
तिमी र म मा
म आधा पाकेको खान्छु
तिमी पुरै गलाएर खान्छौ
तिमी गुलियो मन पराउॅंछौ
म तितोमा रमाई रहेको हुन्छु।

म पनि त मान्छे नै हो साथी
किन कि तिमी जे लगाउँछौ
म पनि त्यही लगाउँछु
फरक यति मात्र हो,
तिमी र म मा
तिमी पुरै देखाएर लाउँछौ
म पुरै लुकाएर लगाउँछु

म पनि त मान्छे नै हो साथी
किन कि तिमी जहाँ बस्छौ
म पनि त्यही बस्छु
फरक यति मात्र हो
तिमी र म मा
तिम्रो महलमा अत्तरको सुगन्ध छ
मेरो टहरामा आफ्नै पसिनाको बास्ना छ

म पनि त मान्छे नै हो साथी
किन कि
तिम्रो जस्तै मेरो पनि हेर्ने आँखा छ
फरक यति मात्र हो
तिमी र म मा
तिम्रो देख्ने आँखामा केवल ज्योति छ
मेरो आँखामा विवेकी दिव्य दृष्टिकोण छ
त्यसैले तिमी चार किल्ला मेरो भन्छौ
म आकाश धर्ती हाम्रो भन्छु।

म पनि त मान्छे नै हो साथी
किन कि मेरो पनि तिम्रो जस्तै सोच्ने चेतना छ
फरक यति मात्र हो
तिमी र म मा
तिमी आफ्नू भलाईको खातिर सोच्छौ
म हाम्रो भलाईको खातिर सोची रहन्छु
एक पटक अरूलाई आफू बनेर हेर
यदि तिमी त्यहाँ र म यहाँ जन्मेको भए
यसमा न तिम्रो न मेरो दोष
यो त केवल भौगोलिक त्रुटि हो साथी!
म यहाँ लठेप्रो मात्रै छु
तर तिमी त्यहाँ बख्खै लाटो बन्ने छौ
त्यसैले ..

Leave a Reply

Your email address will not be published. Required fields are marked *