म बाँच्ने शहर
जलन भण्डारी
एडिलेड-अस्ट्रेलिया
यो पश्चिमी शहर
जहाँ मेरो बाच्ने रहर,
घोडचडी खेल्छ साम्राज्यबादको,
खास्टो ओड्छ आधुनिकिकरणको,
कुठाराघात गर्छ पौराणिक सोचहरुको,
यो पश्चिमी शहर,
यहाँ मेरो गाँउमा झैं
भूमियोग्य हुँदैन,
मन्त्रमुग्ध तिलक पाती लगाइन्न
र त मेरो संस्कार रमाएन।
यो पश्चिमि शहर
जहाँ मेरो बाच्ने रहर,
यहाँ गोरु नारिन्न,
यहाँ लोक दोहोरि गाईन्न,
काली र गोरीसंग माया लाइन्न,
त्यसैले मेरा काले र गोरे रुझाएनन्,
यो पश्चिमी शहरमा,
यहाँ मेरो भाषा छैन,
यहाँ मेरो भेष छैन,
यहाँ मेरो हुलिया छैन,
त्यसैले मेरा पाइला रमाएनन्।
यो पश्चिमी शहर
जहाँ मेरो बाच्ने रहर,
यहाँ गाँउ बेंसिको मेलापातमा
काली र गोरीसंग लगाइने
एक
मुट्ठी माया छैन,
त्यसैले मेरो
माया भोकाएको छ,
यो पश्चिमी शहरमा,
यहाँ हतारको एक पल बिताउँने
सिकुवा, पिंढी र चौतारी छैनन्,
हतारको एक मुठ्ठी प्यास मेट्ने
झर्ना खोला र पंधेरा छैनन्।
यो पश्चिमी शहर
जहाँ मेरो बाच्ने रहर,
यहाँ सप्ताहा लगाईन्न,
यहाँ एक मुठ्ठी चरु पोलिन्न,
यहाँ यज्ञको त कुरै छाडौं,
त्यसैले मेरा ग्रन्थहरु गुफा
पसे,
यो पश्चिमी शहरमा।
“यहाँ हतारको एक पल बिताउँने
सिकुवा, पिंढी र चौतारी छैनन्,
हतारको एक मुठ्ठी प्यास मेट्ने
झर्ना खोला र पंधेरा छैनन्।”
जे. एन. सर, कति नोसटालजीक! बेलडाँगी देखि दमक र आमसटरडाम पुन निहाल्न लगायो यश कबिता ले.
लक्ष्मी प्रसाद ढकाल
साचो अभिव्यक्ति कविताको रूपमा छार्नुभेको छ | होनी त……. सबैलाई यस्तै लाग्छ |
सुशील पोखरेल
साँची नै, यी हलो कोदालो घाँस दाउरा गर्ने हात अनि बेंशीलाइ जोड्ने उकाली ओराली गर्ने बाटोमा रमाउने गोडाले आधुनिक उपकरणको सामना गर्नु पर्दा साथै नेपाली पनको भुटानी मनले पश्चिमी साम्राज्यवादको खास्टो ओड्नु पर्दा कता कता मैले मेरो संस्कार नै पो भुलें कि जस्तो भान हुँदो रहेछ I