म ‘स्काफोल्डर’

हरि पराजुली
झापा-नेपाल

थोरै आशा धेरै भरोसा
धेरै मेहनत थोरै प्राप्ति
एउटा शून्य बस्तीबाट

एउटा भीड सल्बलाउँछ
त्यही भीडमा म हराउँछु
कहिले यता, कहिले उता
असफल घेराहरु तोडेर
लम्कन्छु  लमतन्न …..
सुदर्शन चक्र झैँ घुम्छ  ”स्पानर”
नियमित सिर्फ हातका औंलाहरुमा
आकाशमा देवताहरु बस्छन् रे,
म आकाश छेड्ने प्रयासमा छु
“स्टेन ” बड्छ आकाशतिर
मानौ, अब
आकाश छेडिने छ
उदांगो बन्नेछ  पृथ्वी
खस्नेछन् देवताहरु आकाशका
यत्र तत्र …..
लाखेश !
म वार्ता गर्नेछु ती निर्दयी देवताहरुसँग
मिटिङ्ग गर्ने छु ,
के देवताहरुमात्र माथिल्लो तहमा मोज गर्ने ?
खोइ हामी निरीह मान्छेहरूको बाच्ने आधार ?
खोइ हामी स्थिर मान्छेहरूको चढ्ने सिँढी ?
कहाँ छन् मान्छेहरुमा स्वतन्त्रताका स्वर्गहरु ?
के हामीमा स्वर्ग प्राप्त गर्ने अधिकार छैन ?
म स्वर्ग जाने एक्सिस ल्याडर बनाइरहेछु
हुक लगाएर  ’हर्नेशहरु” स्टेनमा
डबलहरु  बाँधेर बिचारको
लेबल हेरिरहेछु ”लेजर ” समय को
चौकट स्टेनहरु,
ब्रेसबाधेर हातकढी  झैँ
न चट्पटाउँछ मान्छे न चट्पटाउँछ मन
जीवन सिर्फ डवलकानटहरुमा अल्झेर
जवानी तेर्स्यार ”ट्रांसम्हरू ”
भविष्य बाँधिरहेछ ” सिन्गल्हरुले”
छापेर फट्टा लमतन्न
“प्लेटफाम” सिँढीको लागि
बिस्तार विश्रामको लागि
झर्नु झुण्डिनु बाँच्नको लागि
चढनु बढ्नु, गन्तव्यको लागि ।
ए मेरा आफन्तजनहरु !
अनौठो छ मेरो मजा,
मृत्यु उत्सव
फुटेका अभागी कर्महरु
प ..र ..दे ..श …
विदेशिनुको छट्पटाहट
पसिनाका समुन्द्र शरीरमा
आकासे महल विदेशमा
फगत आँसु भित्रिन्छ स्वदेशमा।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *