यसरी पो बाँच्ता रहेछन् !
मिश्र वैजयन्ती, मोरंग/नेपाल
हिँड्न सिकेपछि हिँड्नुपर्छ
कहिले कसैले कता जाऔँ भन्छ
कहिले फेरि अर्कोले कतै जाऔँ भन्छ
आफ्नै बाटोमा मात्र हिँडिरहँदा पनि
गोरेंटो एक्लो एक्लो हुन्छ ।
पर देखिन्छ अर्को गोरेंटो
आकाश छुने हार्दिकताका हातहरु हल्लन्छन्
गोरेंटोले ल्याइदिन्छ छेउसम्म खुशीहरु
खुशी ओढेर जिन्दगी कटाउने सपना उनिन्छन्
यसैबेला,
आधुनिक तकनिकीले,
नयाँ गोरेंटो बनेपछि
पुराना गोरेंटाका छेउछाउमा उभिएका रुखमा
शायद गाउँदैनन् चराहरु,
गोरेंटामा छापिएका पाइतालाका डोबहरु
धुलो जमेर छोपिन्छ !
गोरेंटाहरु नयाँ नयाँ यात्री बोक्छन्
यात्रीहरु नयाँ नयाँ गोरेंटा खोज्छन्
कुन गोरेंटो कुन यात्री बोक्छ ?
लेखा छैन ।
कुनै यात्री अथवा गोरेंटाको
जय वा पराजय छैन ।
गोरेंटाहरु राम्रो यात्री देख्यो भने
प्वाँख फैलाइहाल्छन्
यात्रीहरु बलियो गोरेंटो देखे भने
पुरानो गोरेंटो त्यागिदिन्छन् !
कतिले मन छाम्छन् गोरेंटाको
कतिले विचार छाम्छन्
छाम्दा छाम्दै जीवनको पर्दा खस्छ !!