यसरी बोल्छ इतिहास-१

बी.पी.कश्यप

विश्वका दुई आणविक शक्तिसम्पन्न राष्ट्रहरू, चीन र भारतका बीचमा रहेर पनि सार्वभौम अस्तित्व धान्दै आएको हिमाली देश भूटान बहुजातीय र बहुभाषिक राष्ट्र हो । विश्वले भरखरै देखेको, मानव सभ्यताले खुट्टामात्र टेकेको, विकास र समृद्धिले घुम्टो उघारेर हेर्नमात्र थालेको राष्ट्र भए पनि भूटानको इतिहास ईशु क्रिष्ट जन्मनुभन्दा निकै अघिदेखि शुरु भएको अधिकांश इतिहासकारहरूले मानेका छन् । यस इतिहास निर्माणको क्रममा विभिन्न वर्ग र जातिसहित नेपालीभाषी भूटानी नागरिकहरूको पनि अग्र सक्रियता रहँदै आएको कुरा इतिहासले नै पुष्टि गरेको छ । यद्यपि, भूटानको निरंकुश राजतन्त्रात्मक शाही सरकारले सन् १९९० यता करिब १६ प्रतिशत नागरिकहरूलाई देशबाट लखेटेर नेपालीभाषी भूटानी नागरिकहरूको अस्तित्वलाई नामेट पार्ने आशय देखाएको छ । इतिहासका विभिन्न कालखण्डमा भूटानको स्वतन्त्र अस्तित्वमाथि देखापरेका खतरालाई साहसपुर्वक सामना गरेर देश बचाउने नागरिकहरूलाई अन्ततः तत्कालीन सरकारले देशबाटै उच्छेद गरेर चैनको सास लिएको भान हुँदैछ । भूटान सरकारको यस्तो रवैयाप्रति भारत सरकारको बलियो आड-अडेसो रहेको निर्वासनमा रहेका अधिकांश भूटानी संघ-संस्थाहरूले आरोप लगाउने गरेका छन् र, यो आरोप धेरै सत्यमा आधारित पनि  छ ।

यसै पनि दुई ठूला राष्ट्रहरूको बीचमा रहेको देश भूटानलाई छिमेकी देशका हरेक गतिविधिले प्रभाव पार्ने कुरा सामान्य नै हो । त्यसमाथि, भूटानको शासनसत्तामा भारतले प्राचीनकालदेखि नै आफ्नो बोलवाला कायम गर्दै आएको छ । प्राचीन इतिहासले संकेत गरेअनुसार करिब सातौं शताब्दीसम्म भूटान भारतको एउटा स्वायत्त प्रान्तको रूपमा रहेको बुझिन्छ । लिखित आधारहरू केही नपाइए तापनि किंवदन्तीहरूको आधारमा भन्न सकिन्छतत्कालीन प्राचीन सभ्यताको प्रभाव फैलाउँदै जानेक्रममा धार्मिक क्रियाकलापको माध्यमबाट भूटानको राजनीतिक र सामाजिक परिपाटीमै पनि भारतले आफ्नो प्रभुत्व जमाएको थियो ।

इतिहासमा उल्लेख भएअनुसार ईशापूर्व सातौं शताब्दीतिर, कोचबिहारका एकजना सांगलदीप नामक व्यक्तिले वर्तमान भारतका बंगाल र बिहारमा कब्जा जमाएर भूटानलाई समेत अधीनमा लिएका थिए । त्यसपछि धेरै शताब्दीसम्म भूटान भारतीय शासकहरूकै अधीनमा रह्यो ।

सातौं शताब्दीको मध्य वा कोचबिहारका राजा भाष्कर बर्मनको मृत्युपछि सन् ६५० मा कामरुपबाट भूटान नछुटेसम्म यहाँ भारतीय नायकहरूले शासन गरेका थिए । कामरुपबाट अलग हुनासाथ भूटानमाथि तिब्बतको आक्रमण हुनथाल्यो । आधा कोचबिहार (असम) र आधा तिब्बतले लुछालुछ गर्दागर्दै भूटान स-साना इलाकाहरूमा विभाजित भइसकेको थियो ।

धार्मिक आचरणकै भए पनि राजनीतिक खुबी बोकेका तत्कालीन भारतीय विश्सविद्यालय नालन्दाका गुरु पद्म सम्भवले आठौं शताब्दीको मध्यतिर भूटानको रंगमञ्चमा प्रवेश गरे । त्यसताका बुम्थाङ-खेन्पालुङका राजा खिजिखार र सिन्धुका राजा नागुची प्रमुख क्षेत्रीय शासकहरू थिए । लडाकू प्रवृत्तिका यी राजाहरू युद्ध गरिरहन्थे । आ-आफ्ना राज्यविस्तार गर्ने क्रममा पुनाखादेखि अहिलेको पूर्वी भूटान सीमासम्म राजा नागुचीले हत्याइसकेका थिए । यो सिलसिलामा नागुचीका छोरा असम मैदानका अर्का राजा नाबुदाराबाट मारिएका थिए । छोराको मृत्युले शोकमा परेका राजा नागुचीलाई भेटेर गुरु पद्म सम्भवले बौद्धधर्मको दीक्षा दिए । त्यसपछि त्यो क्षेत्रमा गुरुको आगमन भएको र सबैले उनको सेवा गर्नुपर्ने आदेश राजा नागुचीले जनतामा जारी गरेका थिए भन्ने तथ्यहरू इतिहासमा पाइएका छन् । राजा नागुचीको स्वागत-सत्कारले अभिप्रेरित भएर गुरुले भूटानमै बसेर बौद्धधर्मको प्रचार गर्ने अठोट लिए र उनले नै यसरी सांस्कृतिक एकताको खुकुलोपन पैदा गरिदिएकाले भूटानमा एकप्रकारको आंशिक शान्ति छाएको थियो भन्ने पनि इतिहासले पुष्टि गर्दछ । तर, त्यो शान्ति स्थिर रहन भने सकेन । सन् ८०३-८४२ सम्म तिब्बतमा शासन गर्ने राजा लाङदार्माले पुरानो धार्मिक व्यवस्था र परिपाटीलाई भताभुंग बनाई वर्गीय समाजको व्यवस्था लागू गरिदिएकाले गुरु पद्मको प्रभावबाट भूटानमा चालू धर्मपरस्त व्यवस्था पनि सँगै परिवर्तन भयो । वर्गीय व्यवस्था भए पनि तिब्बती शासनमा परिपक्वता र उपयुक्त नियन्त्रण नभएर जता-जतै लडाइँ-झगडा शुरु भयो अनि भूटानमा समेत त्यसको प्रत्यक्ष प्रभाव पर्‍यो ।

ठीक त्यसैबेला तिब्बतमा वर्गीय विभेदको परिणाम र मुख्यतः धार्मिक आस्थाको विभिन्नताबाट उत्पन्न लडाइँ शुरु भइसकेको थियो । जित्नेहरूले त्यहाँका धार्मिक अखडाहरूमा कब्जा जमाउनु र हार्नेहरू त्यहाँबाट कुलेलम ठोकेर भूटानतर्फ बाटो लाग्नु त्यसबेलाको सामान्य सिलसिला नै थियो । आजको झैं त्यतिबेला राजनीति छिप्पिइसकेको थिएन । नत्र त, तिब्बतबाट राजनीतिक आस्थाकै कारण भागेका दलाई लामालाई बोकेर अमेरिका र भारत चीनविरुद्ध उर्लिए झैं त्यसबेला पनि हुनसक्थ्यो ! तत्कालीन तिब्बतमा बौद्धधर्मका चारवटा पन्थ शाक्यपा, गेलुग्पा, कार्ग्युग्पा र निङ्मापाका बीचमा भएका ती आन्तरिक लडाइँले मानिसहरूलाई शान्तिक्षेत्रको खोजी गर्न बाध्य पारेको थियो । यही सिलसिलामा तिब्बतको ड्रूक-रालोङ गुम्बाका उत्तराधिकारी बनाइएका फाजो ड्रूगोम सिग्पोलाई धार्मिक सन्यास लिन भूटानको चेरो दोर्दोममा पठाइएको कुरा इतिहासका विभिन्न प्रसंगमा उल्लेख गरिएको छ । फाजो ड्रूगोम सिग्पोले ड्रूक-रालोङको उत्तराधिकारी पद पाएकोमा इर्ष्या गर्दै रहेका ल्हापा लामा ठूलो असन्तुष्टि लिएर, सिग्पोभन्दा पहिले नै भूटान पसेका थिए । सिग्पो र ल्हापाबीच भूटानभित्र घमसान युद्ध चर्कियो । तर, तिब्बतको संस्थापन पक्षले सहयोग गरेका सिग्पोका अघि असन्तुष्टिका कारण स्वयं-निर्वासित भएका ल्हापाको केही जोड चलेन, उनी सिग्पोदेखि भागेर ज्यान बचाए । त्यसपछि सिग्पो भूटानमा शक्तिशाली बन्दै गए । उनले भूटानमा दोगोन जोङ (ढुंगाको किल्ला) बनाएर आफ्नो अड्डाको रूपमा प्रयोग गर्नथाले । आजका निरंकुश शासकहरू पनि आफूलाई तिनै फाजो ड्रूगोम सिग्पोका सन्तान भएको दाबी गर्दछन् अनि आफ्ना पुर्खा सिग्पो तिब्बती ड्रूक-रालोङको उत्तराधिकारी बनेर भूटान आएकाले आफ्नो वंशलाई उनीहरू ‘ड्रूक्पा’ भन्दछन् । सिग्पोले भूटानमा प्रचार गरेको धार्मिक मतलाई ड्रूक्पा पन्थ वा ड्रूक्पा कार्ग्युग्पा मत भनिन्छ । तिब्बतका तत्कालीन क्षेत्रीय शासकहरूले भूटानमा आआफ्नो प्रभुत्व बढाउँदै लाने सिलसिलामा आआफ्नै पन्थका शक्तिशाली लामाहरूलाई भूटान पठाउने गरेका थिए भने त्यही द्वन्दमा कमजोर साबित भई भागेर आउनेहरू पनि भूटानमा प्रशस्त थिए । यसरी, भूटानमा आएर आफ्नो श्रेष्ठताका लागि संघर्ष गर्ने एउटा अध्याय नै शुरु भएको थियो ।

यसै क्रममा सन् १५९४ मा जन्मेका नावाङ नाम्गेल सन् १६१६ मा ड्रूक-रालोङबाट लिङ्सी घाँटीको बाटो हुँदै भूटान पसे । धार्मिक व्यक्तित्व भए पनि उनी राजनीतिक परिदृश्य र व्यवहारिक चातुर्यका धनी थिए । त्यसैले धार्मिक र प्रशासनिक दुवैक्षेत्रमा प्रभुत्व कायम गर्ने उपायस्वरूप सन् १६३७ मा उनले स्वयंलाई ‘शाब्ड्रूङ’ (शरणमा जान, शरण लिन योग्य वा दिव्यशक्ति सम्पन्न तथा क्षमाशील व्यक्तित्व)को उपाधि ग्रहण गरेको घोषणा गरे । त्यसपछि उनले भूटानको समूल शासन-सत्ता हातमा लिएर सिंहासनमा बस्ने काममा मात्र सन्तुष्टि लिएनन् । प्रान्त र इलाकाहरूमा विभाजित भूटानलाई एउटा सिंगो राष्ट्रको रूप दिने र विकासक्रमको थालनी गर्ने जमर्को पनि उनले नै गरेका हुन् । धार्मिक क्षेत्र सम्हाल्ने ‘देवराजा’ र प्रशासनिक क्षेत्र सम्हाल्ने ‘देसी’-हरूको नियुक्ति गरेर भूटानलाई नवीनतम शासनको गोरेंटो प्रदान गर्ने शाब्ड्रूङ १६५१ मा संसार छोडेर गएपछि भने भूटान फेरि पुरानै परिपाटीको द्वन्द र वैमनस्यताको भुमरीबाट गुज्रिन थाल्यो ।

क्रमश:……..

2 Replies to “यसरी बोल्छ इतिहास-१”

  1. chudamani sapkota

    राम्रोछ, मलाई मनपरो, यसमा रेफेरेंचेस र दिरेच्त कुओट पनि भये सुनमा सुगन्ध थपेकोजस्तो हुने थीयो .

  2. Sushil Pokhrel

    बिपी ज्यु,
    तपाइको खोजमूलक लेख निकै महत्वपूर्ण छ | भूटानको इतिहास जस्कसैले पनि पढ्न र बुझ्न चुक्नु भनेको अँध्यारोमा आफुलाई राख्नु हो | हल्का, चाखलाग्दा छोटा कथा, कविता र चुटकिलालाई मात्र रुचाउने हाम्रो बनिमा अब निश्चय नै परिवर्तन आउनु पर्छ भन्ने मेरो आशय छ. |
    नेपाली भाषी भूटानीहरु प्रति भारतीय मिडिया र सरकारको नकारात्मक शोचका पछि भूटानले खर्चेका हजारौ रुपिया हुन् | भारतीय विस्तारवादको मारमा हामी परेका छौ अनि हाम्रो अस्तित्व मेटाउने कामका पछि कहिँ न कहिँ भारत पनि जिम्मेवार छ |
    यस्ता खोजमूलक विषय पस्कने तपाइको योगदान को कदर गर्दछू. |
    धन्यवाद,
    सुशील पोखरेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *