याद आयो

इन्द्र पि. ढुङ्गेल
काेलम्बस, अमेरिका

सिमाना सिमानामै रह्यो
आशा सबै झिनो भयो
अनि धेरै वर्षपछि फेरि पनि
मातृभूमि भूटानको याद आयो

सँगै धुलो र हिलोमा खेल्ने
यी पाउमा आज फेरि
जुत्ता फुकालेर हिलो खेल्ने
जाँगर फेरि उर्लेर आयो

सँगै खेल्ने सँगिनी दाइले
चकचक गरिस् भनेर पिटेको
अनि सँगै सुँक्क-सुँक्क गर्दै रोएका
यादहरू ह्वात्त बढेर आयो

तिमीसँग बोल्दिन अब म
अनि छोडेर अन्तै जान्छु
भनी बोलेका अबोध यादहरू
पिरोल्लिएर आयो

तिमी सन्चै छौ? भनी प्रश्न गर्ने
ती मेरी प्यारी सँगिनीको
मोबाइलको आवाज सँगै
उनीसँग रिसाएको याद आयो

यसरी मातृभूमिबाट उनीसँग
सधैँका लागि बिछोडिएर
घना जङ्गलमा मृगको पाठो झैँ
आत्तिएको याद आयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *