यो इतिहास सन्ततीलाई सुनाउनुपर्छ

तेजमान रायका-जर्मनी

कवि
कवि

सात समुद्र पारिको भूगोलमा
बादल पारिको देशमा !
जुन देशको मानचित्रमा
मेरो एउटा गाउँ छ
त्यो देश, त्यो गाउँ, म चाहेर पनि भुल्न सक्दिन ।
सपनीमा पनि त्यही गाउँको, त्यै देशको झझल्को आउँछ,
हरेक साँझ सुत्नअघि
मेरी छोरी त्यही ‘गाउँको कथा’ सुनाउनुस् न डेडी भन्छे !
अन्तहीन झैँ लाग्ने त्यो गाउँको कथा-
‘महासुर क्षेत्री’ र ‘सीता मोथे’का कथासँगै शुरु हुन्छ
शासक र प्रशासकहरू
मुख्य नायक र सहनायकको भूमिकामा रहेको चलचित्रझैँ
हत्या र हिंसाका श्रृंखलाबद्ध पटकथाहरू
नारीहरूको अस्मिता लुटिएको
सिँदुर खोसिएका परिघटनाहरू
म सुनाउँदै जान्छु ।
“अनि के भो ?”
छोरी निदाउनु विपरीत
मैले बिर्सन खोजेको विगत झन् आलो बनाइदिन्छे
छातीमा बजारिएको बुट सम्झाइदिन्छे-
“छोरी आज सुतौँ, अरू कथा भोलि भन्छु है”
“नाई ! अझै भन्नुस्, अनि सुत्छु”-
यसरी म कथाका अध्याय अघि बढाउन वाध्य हुन्छु !

कथाको श्रृंखला अघि बढ्छ
म छोरीले बोल्ने बोलीमा भन्दै जान्छु
“एक दिन गाउँमा आर्मी आउँछ
सबै केटा मान्छेलाई
लाठी र बुटले बेस्सरी हिर्काउँछ
कतिलाई बन्दुकको गोलीले मार्छ
कतिलाई पाता फर्काएर बाँध्छ
अनि जेल लान्छ
केटी मान्छेलाई नराम्रो व्यवहार गर्छ !”
“आर्मी भनेको राक्षस हो डेडी ?”
हँ ?….अँ !….उस्..तो !!…उस्…तै हो छोरी !!!

एउटा त्यस्तो देशको इतिहास
जहाँ दुई राजा, पाँच रानी छन् !
एकादेशमा भनेर शुरु हुने दन्त्यकथा भन्दा
कैयौँ गुणा काल्पनिक झैँ लाग्ने कथा
“आर्मी भनेको राक्षस हो ?”
त्यही कथाको जीवित पात्र भएर पनि
म छोरीको यो प्रश्नको जवाफ दिन असमर्थ हुन्छु !

“बीरे दादाको बाउ नि जेलमा छ, अँ?, याँ’ कैले आउँछ ?”
हो छोरी, बीरेको बाउ जेलमा छ !
अवोध छोरीसँग म झूट्टो बोल्न वाध्य हुन्छु
बीरेकी आमा, जो सोह्रौँ वसन्त पार नगरी
कुमारीत्व लुटाएर जीवन बँचाई
बलातकृत हुनुको तनावसँगै
पापीको नाशो गर्भमा बोकेर
देशबाट लखिटिन पुगी ।
न बिर्खेले आफ्नो बाउ कहिल्यै देखेको छ
न बिर्खेकी आमाले नै छोरोलाई यथार्थ बताउन सक्छे-
“तेरो बाउ तँलाई धेरै पापा र नाना लिएर आउँछ”
यो झूट्टो आश्वासन
बिर्खेले अब त बुझी सकेको हुनुपर्छ !
एउटा यस्तो कटुसत्य जसलाई लुकाएर
सिङ्गो समाजले आफ्नो इज्जत बँचाएको ठानिरहेको छ-
यो एउटा त्यस्तो देशको कथा हो
जहाँ वनस्पतिलाई बेर्नामै निमोठिन्छ
प्रकृतिको फक्रनै नपाई कोपिलामै हत्या गरिन्छ
जहाँ रूखहरू टुप्पाबाट उम्रन्छन्
जहाँ चितुवा र बाघ भेडीगोठको सुरक्षार्थ खटाइन्छन्
जहाँ भुस्याहा कुकुरहरू खुशीले हाँस्छन् तर मान्छेले रुनुपर्छ
एउटा त्यस्तो माटोको कथा
जहाँ गुम्बाका सङ्कीर्ण घेराभित्र
बुद्धलाई कैद बनाइएको छ
तर त्यहाँको माटोसँग हाम्रो नाता जोडिएको छ
त्यसैले यो कथा, यो इतिहास
हाम्रा छोरा नातिलाई सुनाउनु पर्छ
हाम्रा दर-सन्तानले सधैँ सम्झनु पर्छ
त्सयसैले यो कथा, यो इतिहास सन्ततीलाई सुनाउनुपर्छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *