यो र त्यो
यथार्थ यही हो,
‘यो’ यहाँ छ,’त्यो’ त्यहाँ छ,
वर छ ,पर छ अनि सर्वत्र छ ।
यस धरातलका हरेक अंगहरुमा ब्याप्त छ,
कुना कन्दरा सर्वत्र मौलाएको छ ।
छ त्यो भयानक शहरमा अनि गाउँमा पनि ।
नयन खोली प्रष्ट हेर त,
अवलोकन गर्न सक्छौ,
त्यो विस्वव्यापी,
ग्रामीण अनि शहरीय आकारको ,
कसैबाट अलग हुन नसक्ने,
लत्याउँदा समेत सँगै रहिरहने,
अपहेलना गर्दा पनि पछ्याइरहने,
साथ दिँदा थप शक्ति दिने,
सम्मान गर्दा बड़ो सम्मान दिने,
त्यो आश्चर्यचकित यथार्थ !
म विश्वस्त छु अनि ढुक्क पनि,
तिम्रा ती नेत्रहरुले देखिरहेका होलान्,
उनका ती मन र मुटुहरुले पनि,
तिनका ती करकमल र पाउहरुले,
वहाँका विवेक र निर्मल मगजहरुले ,
अनि,
हजुरका ती भावविभोर आत्माहरुले ।
‘त्यो’ त्यति पर छ
तर, हेर त कति विकसित र लगनशील छ,
न्यायिक र उच्च छ ।
चुचुरामा बसी राज गर्छ,
अह्राउँछ अनि डोर्याउँछ ,
अन्त्यमा,
सिंहासनमा बसी गजक्क पर्दै
बोलाउँछ अनि निर्देशन गर्छ ।
तर, लाग्दैन आफू नजिक भएको ‘यसलाई’
‘आफ्नो’ निम्जोपनको बिज्ञापन हुदैंछ ।
सोच्दैन ‘यो’ आफू कति लूटखसोटमा छ ।
त्यसैले,
‘त्यहाँको’ शिखर चड्दो छ,
‘यहाँको’ भीरबाट खस्दो छ,
‘त्यो’ बढ्दो छ, ‘यो’ घट्दो छ ।
यसो हेर्छु अनि सोच्छु
‘त्यसको’ र ‘यसको’ उमेर !
मनले भन्न खोज्छ ,
खास्सै फरक त छैन है,
तर हेर त,
‘त्यो’ कति जवान र पारखी छ,
मिजास छ अनि एक छ ।
तर झट्ट हेर्दा,
‘यो’ वृद्ध छ र जुम्सो पनि,
खस्रो छ अनि छरपष्ट छ ।
त्यसैले ‘यो’ विलिन हुनसक्छ !
सजग बन्नु नै छ,
मगज जगाउनु छ,
विवेक भर्नु छ, तेज थप्नु छ ,
अनि,
‘त्यो’ र ‘यो’ उस्तै बनाउनु छ !
नत्र,
‘यो’ नाश हुनेछ, ‘त्यो’ अझ फैलनेछ,
‘यसको’ शाश्वतीकरण हुने छैन,
‘त्यसको’ समीप पुग्ने छैन,
अनि,
फरक रहिरहने छ,
‘त्यो’ माथि र ‘यो’ तल
‘त्यो’ शिर अनि ‘यो’ पाउ हुनेछ,
फलत:
‘यो’ थिचिनेछ, मिचिनेछ,
हुँदा हुँदै ‘यो’ कुल्चिइनेछ !
(जय समाज )