यो सम्झनाको दीयो र सङ्घर्षको पुल्ठो कहिल्यै निभ्ने छैन

लेखक

डा. गोविन्दराज भट्टराई

पवित्र भूमि इजरायलबाट बेबिलोयिनहरूले यहुदी जातिलाई देश निकाला गरे । यसरी तीन हजार बर्षअघि नै एउटा सभ्य समाजले मन नपरेको जातिलाई उखेल्न सिकायो । मानव सम्भयताभरि यसरी उखेल्ने, खेद्ने खेदिने प्रक्रिया निरन्तर छन् । हाम्रा आँगनमा दुई दशकदेखि कहर काट्टै बाँचेको भूटानी–नेपालीहरू त्यसका उदाहारण हुन् । यसरी उच्छेदितको सङ्ख्याले सबै महादेश भरिएको छ— तामील, अफगानी, खालिस्तानी, तिब्बती, अझ भियतनामी, हाइटिअन, बुरुन्डी, टिमोरी, चिनिया आदि ।

झिटिगुट्टा बोकेर एउटा भूगोल नाघ्दै अर्कातिर, एउटा संस्कृति धर्मको पर्खालबाट उछिट्टिएर अर्कातिर मान्छे पोखिएका छन् । कोही मूलभूमि फर्के, कोही हजारौं वर्ष पनि फर्किन नसकी छन् । कतिका धर्म मेटिए, भाषा भूलिए, साँस्कृतिक परिचय बिलीन भयो । आज मानव सभ्यता विकसित भएको दिनमा झन्डै दुई अरब मानिस यस्ता उखेलिएका, चलायमान छन् । ती कुनै न कुनै प्रकारले यसरी उखेलिएका छन् । घरबाटै सरेका, सारिएका, भागेका, लखेटिएका, उखेलिएका छन् । तिनीहरूका पुराना डायास्पोरा बनिसकेका छन् । कति नयाँ बन्दैछन्, जहाँ विस्थापन र भग्न मानसिकता बोकेर मानिस अनिर्णयमा हुन्छन् ।

यसरी जातिहरू खेद्ने कर्ममा सधैँभरि सर्वत्र राज्य नै लागेको छ । भाग्ने पनि राज्यकै अत्याचारबाट भागेका छन् । भूटानी–नेपाली माथि शासकले विभेद गर्न थालेको शताब्दी पुग्न आँट्यो । उनीहरूले आफ्नो भूमिको दाबी गर्दै विद्रोह गरेको पनि चार दशक भयो । त्यहाँबाट निर्बासित भई खासगरी नेपाल पस्न थालेको पनि बीस वर्ष । तिनीहरूले शरणार्थी शिविरबाटै असन्तुष्टि जनाए, हामीलाई आफ्नो भूमिबाट नखेदिनु पर्थ्यो भने फिर्ता जान पाऊँ, अन्तर्राष्ट्रिय पुकारा गरे । केही विद्रोह र सङ्गठन पनि गरे, तर केही लागेन । अब भुटानी–नेपाली विश्वमानचित्रमा अन्तर्राष्ट्रिय बसाईं सरुवा भएका छन् । निकै वर्ष बिते अमेरिका, क्यानाडा, अस्ट्रेलिया आदि तेस्रो मुलुकतिर पुनर्वासको फाराम भर्ने, विदा लिएर त्यतै सर्ने, शिविरमै बस्ने, स्वदेश फिर्तिको लागि सङ्घर्ष र प्रतीक्षा गर्ने गरी विभाजित भए, विभाजत गरियो । विस्तारै झिटिगुन्डा बोकेर पश्चिमी मुलुक हिँड्नेहरू जातीय विलयनको झन्डा बोकेर उडे, बस्ने अझै अधिर छन् भने भूटानमा निरङ्कुशताविरुद्ध अब कुनै आन्दोलन नहुने हो कि जस्तो स्थिति बढ्दो छ । यतिखेर भूटान धेरै प्रशन्न छ, नेपाल ढुक्क छ, भारतवर्ष यो जातिले यति सङ्कटको इतिहास भोगेको थाहा नपाएझै गर्न थालेको छ । यसपाली थिम्फुको सार्क सम्मेलनमा तीनवटै देशले ठूलो मुक्तिको अनुभव गरे । शरणार्थीको कुरो उठाउनु परेन, उठेन । यसले गर्दा उताको (भूटानी) निरङकुशतन्त्रले गरेका अत्याचार पुर्ने चिहान खनिए, निर्वासनलाई पुल्ठो लगाउने भारतले मुक्तिको सास फे-यो । नेपालले एउटा सङ्कट सदाको लागि टरेको अनुभव ग-यो । एउटा जाति बिलयनतिर भासियो । कति अनिर्णयमा छोडिएका छन् ।

तर के एउटा भूमिबाट उखेलिएर अर्कोमा फेरि त्यहाँबाट पुछिएर तेस्रोमा जाने नेपालीले यी पीडादायी यात्रा बिर्सेलान् ? देशबिनाका जाति विश्वमा धेरै छन् । तिनको मानसमा सधैँ आफ्नो देशको खोजी भइरहन्छ, ती देश खोज्न छोड्ने छैनन् । पुनः स्थापनाको प्रयत्न भइरहन्छ । भारतका तामिलनाडु उत्तराखण्ड भए गोर्खाल्याडको खोजि हुँदैछ । एउटा जातिले आफ्नो धर्म, संस्कृति, समाज र सभ्यताको सम्पूर्ण तङ्खवको बीउ रोप्ने ठाउँको सधैँ खोजिगरिरहने रहेछ ।

के यसरी छरिएका शरणर्थीहरूले अतीत विर्सेलान ? उनीहरूले भुटानको सम्झना गर्लान कि जातीय आदिभूमि नेपालको ? यता नेपाल प्रवेश गरेपछि जन्मिएकाहरू बीस वर्ष नाघे, यहीँ स्नातक भए, नेपाली भाषा साहित्य संस्कृतिको आदि थलोमा आएर ती फिँजिए, झापा र मोरङका विद्यालयमा पढे, हुर्के, लेखे । राष्ट्रियताको परिचयमा ती अलग्ग भए तापनि वस्त्रमा, बोलीमा, व्यवहारमा, चेतना र संस्कृतिमा कसैले भूटानी भनेर चिन्ने छुट्याउने कुनै आधार बाँकी थिएन । यी एक भाषा संस्कृति, दुई देशका नागरिक हुन्— अङ्ग्रेजी बोल्ने अमेरिकी र अस्ट्रेलिअन झैँ ।

उनीहरूको सम्झनाबाट मातृभूमि मेटिएला ? उनीहरूले धेरै गुमाए तर धेरै सिके पनि । नेपालमा आएको तीब्र परिवर्तनको समयमा प्रत्यक्ष सहभागी जस्ता भएर हेरे, सघाए ।

वर्तमान विश्व परिवर्तित छ । स्पेस नै भूगोल भएको छ । नेपालबाट तेस्रो मुलुक बस्न भुटानी नेपाली बाध्य भए तापनि उनीहरूको हृदयबाट नेपालीपनको जातीय चेतना कदापि मेटिने छैन ।

अब स्पेस नै आफ्नो भूगोल हुने यो समयमा स्पेसबाट ती वितरित नेपालीले सङगठन गर्देछन् । आफ्नो अस्तित्व जोगाउन गरिएका दुइवटा महत्वपूर्ण कर्मको म उल्लेख मात्र गर्न चाहन्छु । पहिलो हो भुटनिज लिटरेचरडटकम  (Bhutaneseliterature.com) को सञ्चालन र अर्को झकास पुरस्कारको स्थापना । रमेश गौतम र साथीहरूको प्रयत्नले सञ्चालित यो डटकम भुटानी नेपाली अस्तित्वको कहिल्यै ननिभ्ने अखण्ड ज्योति सुरु भएको छ । यसलाई निरन्तरता दिने प्रण हामी सारा नेपालीले पनि गरेका छौँ । यसबारे म अर्कोपल्ट विस्तारमा बोल्नेछु । त्यसैगरी अर्का ऐतिहासिक कार्यको आरम्भ भएको छ— त्यो हो अन्तर्राष्ट्रिय झकास पुरस्कारको स्थापना । विश्वतिर निर्वासनमा छरिएका र नेपालमा शिविरतिर रहेका भूटानी नेपाली युवाबाट स्थापित प्रथम झकास पुरस्कार हालै दमकका प्रकाश आङदम्बेलाई प्रदान गरियो । भर्खरका युवाले स्थापना गरेको यो अन्तर्राष्ट्रिय पुरस्कारले उनीहरूको सांस्कृतिक साहित्यिक चेतनाको स्तरलाई देखाउँछ । यस प्रयत्नले उनीहरू नेपाली शब्दले, अक्षरले, विचारले संसारमा चिनिन र चिनाउन चाहन्छन् । आफ्ना दुःखका इतिहास लेख्न चाहन्छन् ।

२४ वैशाख २०६७ प्राध्यापक (अङ्ग्रेजी)

ट्याङ्लाफाँट, कीर्तिपुर त्रिभुवन विश्वविद्यालय
tu.govinda@gmail.com
काठमाडौँ, नेपाल

2 Replies to “यो सम्झनाको दीयो र सङ्घर्षको पुल्ठो कहिल्यै निभ्ने छैन”

  1. Yug Dabadi

    Very well analysed and and written piece of article. I am very pleased to see your article in bhutaneseliterature.com. Hope to read more in future.

Leave a Reply

Your email address will not be published. Required fields are marked *