यो सहर हो प्रिया
हिमशिखर अधिकारी
ओहायो, अमेरिका
यो सहर हो प्रिया …
तिमी यो सहरमा पाइला टेक्दै नटेक्नु
यहाँको बालुवाको कण-कणसँग
जोगिएर हिन्नु पर्छ ,
माटोको स्पर्श हानिकारक छ,
विषाक्त छ, मन्द विष जस्तै,
जीवनको होस कि जगतको
हावा पनि पोल्युटेड छ..
यो पाइला र माटोको स्पर्शसँगै
जिन्दगीको धरातल डगमगाउने सहर हो प्रिया !
यहाँका अग्ला अट्टालिकाहरू
सभ्यताका परिचायक हुन्,
घामको उदाउँदो किरण टक्क ठोकाएर
परावर्तन गर्दै
आँखा तिरमिर गराउने सिसाहरू
मन, मस्तिष्क र हृदयका नौलो परिभाषा हुन्
माकुराका जालो जस्तै
गुजुमुजु फैलिएका सडकहरू
दुई हृदय र सम्बन्धको प्रतिविम्ब हुन्
यहाँ सम्बन्ध दमको रोगी हुन्छ
हृदय जतिबेला पनि ‘मेजर अट्याक’ को सिकार
सभ्यता कुनैबेला पनि गर्ल्याम्म ढल्न सक्छ
यो कन्ट्री साइडको प्रेम पनि
एकाध माइलको यात्रा पछि हराउने सहर हो प्रिया !
जिन्दगीको धरातल डगमगाउने सहर हो प्रिया!
यहाँ अस्तित्वकोलागि
सह-अस्तित्व खण्डित गराइन्छन्
प्राय: सबै चोकहरूमा
बृहत् अक्शनको आयोजना हुने गर्छ
प्रत्येक साँझ र जहाँ जो कोही पनि
अस्मिताको लिलामी हेरेर रमाउँछ केही क्षण
झिलिमिली होर्डिङ बोर्डमा लेखिएका
डिस्को नाच्ने अक्षरहरू हेरेर
कोही पनि आकर्षित हुन सक्छ
भित्र छिर्ने बित्तिकै समर्पण गरिदिन्छ आफ्ना सपना
र पछुतोको फिका रङ्गको होली खेलेर निस्किन्छ
हो! यो ‘बर्मूडा ट्रेंगल’ ले जहाज निले जस्तै
कैयौँ सपना निलेर कहिल्यै नअघाउने सहर हो प्रिया !
जिन्दगीको धरातल डगमगाउने सहर हो प्रिया !
प्रत्येक प्रहरहरूमा मौसम झैँ
फेरिई रहन्छन् आवश्यकताहरू
सो रुममा सजाइएका ग्याजेटहरू जस्तै
अपग्रेड भएर आउँछन् अभिलाषाहरू
यही होडमा ‘जिन्दगी’ नामको बजेट पनि
चोक्टा-चोक्टामा विभाजित भइदिन्छ नचाहँदा नचाहँदै
हेर्दा उन्मुक्त देखिने अनुहारहरू
वास्तवमै डेट एक्पायर्ड ग्रोसरीका प्रोडक्ट लाग्छन्
गहिरो सागर जस्तै देखिने आँखाहरू
कति पटक सुनामीको चपेटामा परिसकेका हुन्छन्
गुलाब झैँ कोमल लाग्ने मुटु
वर्षौँ अघिको कङ्क्रिट बनी सकेको हुन्छन्
हुन्छन् त केवल बाहिर हाँसेर भित्र रुनेहरूका कथा
बाहिर रोएर भित्र महोत्सव मनाउने प्रोपोगाण्डा
हो! यो गोहीले सिकार गरिसकेपछि झैँ
हृदयमा सेलिब्रेट गरेर बाहिर आँसु बगाउने सहर हो प्रिया !
जिन्दगीको धरातल डगमगाउने सहर हो प्रिया !
(नोट: जुन १० २०१८ सिन्सीनाटी ओहायोमा वाचित कविता)