रगत

कवि

विक्रम सुब्बा
काठमाण्डौ , नेपाल

रगतको आफ्नै मगज हुँदैन
दिमागका हरेक रेसामा रगत नपुगे
बुद्धि मर्ला र समाज बदल्ने
सङ्घर्षको मार्गचित्र के ले सोच्ने ?

रगतको आफ्नो आँखा हुँदैन
आँखाका नानीले रगत खान नपाए
दुनियाँ हेर्ने दृष्टि मर्ला
र, स्वतन्त्र मानिसका अनुहार केले हेर्ने ?

रगतको छुट्टै कान हुँदैन
कानका सबै कुरकुरे हाडमा रगत नपुगे
संगीत श्रव्यशक्ति पनि मर्ला
र, मानिसको विजयी गीत केले सुन्ने ?

आफ्नो ओठ पनि हुँदैन रगतको
अधरका हरेक चुम्बनमा रगत नपसे
आमाको ममतामयी म्वाई पनि मर्ला
र, मायालाई ज्यूँदो र न्यानो कसरी राख्ने ?

रगतको आफ्नो रुद्रघण्टी हुँदैन
पुग्दो रगत कण्ठमा सिंचित नभए
गला मर्ला र निर्जीव गलाले
मुलुकको गर्विलो गीत कसरी गाउने ?

रगतको आफ्नो हात पनि हुँदैन
देशबासीका सहस्र पाखुरामा रगत नपुगे
हात र हत्केलाहरू मर्लान्
र ठूठाजस्ता हातले हतियार नसमाएपछि
सिमानाका प्रत्येक गौँडामा
देशको रखवारी कसरी गर्ने ?

कुनै किसिमको मुटु पनि हुँदैन रगतको
मुटुका अणुअणुमा रक्तकण नपुगे
मुटु पनि मर्ला र मृत मुटुले
सिङ्गै मुलुकको ढुकढुकी कसरी बोलिदेला ?

हुँदैन फोक्सो पनि रगतको आफ्नो
फोक्सोका दुवै फप्लेटामा नित्य रगत नपुगे
फोक्सो मर्ला र निर्जीव फोक्सोले
जातजातका इन्द्रेणी सास कसरी बोल्ने ?

पाठेघर पनि हुँदैन रगतको
हरेक जवान युवतीका गर्भाशयमा
नियमित स्वच्छ रगत नपुगे
सृष्टीको मुहान सुक्ला र क्रान्तिवीर जन्माउँने
मातृसपना कसरी पुरा हुने ?

रगतको हिँड्ने गोडा पनि हुँदैनन्
खुट्टाका हड्डी, नसा र मांसपेसीहरूमा
मनग्गे रगत नपुगे, पाइलाहरू मर्लान्
त्यसपछि, साश्वत परिवर्तनको क्षितिजतिर
इन्क्लाबी जुलुसमा कुन कदमहरू बढ्ने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *