रजस्वला

कथाकार
कथाकार

रमेश दियाली
ओहाईयो, अमेरिका

 

“अङ्कल छोडी दिनुहोस । के गर्नु भा को? मलाई दुख्यो । दुख्यो मलाई . ..! आइया… !  आइया…! पोल्यो। आथा….था. .था…..!”

मेरो आवाज घाँटीमै रोकिएका थिए । भित्र भित्रै दबिएर चिच्याउदै थिएँ । बन्द खोरको कुनामा  निस्सासिदै गर्दा मेरो मुखमा खस्रा ठुला हातले थिचियो । आवाज बाहिर आउने कुरै भएन । म छटपटी रहेको थिएँ । मानौँ एउटा कैदीलाई यातना दिँईदै छ । म त्यसको सिकार हुँदै छु । त्यो कुरूप अनुहारको रौंले मेरो  मलिम गालामा सियोले रोपेझैँ धोच्दै थियो । मेरा कलिला  साना हातले प्रतिकार गर्दै गर्दा मलाई चिलले कुखुराको चल्लो लुछेझैँ गरी लुछ्दै थियो।  आकाशमा  पन्छी झैँ स्वतन्त्र, उन्मुक्त  अनि स्वच्छन्द उडेकी म, आज  गिद्धको सिकार हुँदै थिएँ।  साँघुरो  बन्द कोठा भित्र मेरा बाल अल्पकसित अङ्ग-प्रत्यङ्गहरू भत्किदै जाँदा मेरा  रंगीन सपनाहरू धमिलो हुँदै अँध्यारोमा हराउँदै गए, एकाएक।  मेरो  शरीर, मेरो नियन्त्रण भन्दा बाहिर गएर थर्थराउन थाल्दै थियो ।

आँखाको डिलमा आशुका ढिक्कासँगै अँध्यारो भएर आयो । रिंगटा लागेर दिशाहीन उडिरहेकी थिएँ । हातखुट्टा  लर्थक लर्केर थाकित थिए । म भाग्ने प्रयास गर्दा मेरा खुट्टा  एक छिन दरिन्छन । अनि फेरि उसै गरी लुलिन्छन् । कयौँ पटक भाग्ने कोसिसमा पल पल मर्दै थिएँ म । अहँ ! पट्क्कै त्यो चिलको पन्जाबाट उम्किन सकिरहेको थिईनँ । यसरी कठोर धरातलमा  उभिएको बेला विकल्पको खोजीमा मेरो खुट्टाले उसको छातीमा बजार्छु । खोरको एउटा कुनामा गएर ठोकिन्छ तर फेरि म माथि झम्टिहाल्छ अजङ्गको घाइते बघिनी झैँ । म खोरबाट भाग्न खोज्दै गर्दा चिच्याएँ । मेरो मुख भित्र जबरजस्ती  कपडा खाँदिदियो ।

“ चिच्याउछेस्…!! लु चिच्या…!!! झन् माया गर्दा नाटक  पो गर्दिरहेछ ।”
एक छिन पछि फेरि बोल्यो, “हेर ! मैले भनेको मान”।
स्वर अलिक शान्त पार्दै कानमा मुख राखेर फकाउन थाल्यो।
“तँलाई धेरै मिठाई र खेलाउना किन्दिन्छु”, फिलिम हेर्लास्,  नयाँ लुगा पनि लाउलास् ।”

“चाहिँदैन  तेरो खेलाउना”। भन्न त  खोजेँ तर बोल्न सकिन । मुखको कपडाले गर्दा सास भित्र लिन र बाहिर फ्याँक्न गाह्रो भइरहेको बेला उसको हात फेरि मेरो खुट्टा हुँदै माथि  आउँदै थिए।

“थुक्क कुकुर ! त जस्तो पनि हुन्छ र मेरो अङ्कल” ?आखिर एउटा मन त थियो कुरा गर्नलाई। त्यही मनलाई पनि चुँडेर लान  खोज्दै गर्दा मन मनै बोलेँ म । म सधैँ अङ्कल भन्थे। बुबाले  भाइ भन्थे तर आफ्नै भाइ चैँ होइन। थर चैँ तामागं हो, नाम चैँ थाहा भएन । हाम्रो घरमा प्राय बुवासँग बसेर रक्सी पिउन आइरहन्छन् । मलाई काखमा राखेर गालामा सुमसुमाउथे। छोरी भन्थे। मलाई पनि आफ्नै अङ्कल झैँ लाग्थो । हाम्रामा आउँदा मलाई केही न केही ल्याइदिन्थे। फेरि उसै गरी काखमा  राख्थे र भन्थे, “तिमी पुतली झैँ  राम्री छौ”।

म फुरूक्क भएर काखमा  लुटुपुटी गर्थे। घामबाट आएका किशोरी किरणहरू  सबैभन्दा पहिले मेरो शरीरमा आएर खेल्दै गर्दा मन फुरुङ्ग भएर रमाउथें ।बिस्तारै परिवर्तनशील समय सँगै मेरो शरीरको आकारले परिवर्तन लिँदै थियो । मेरो जाँघको वरिपरि सुनिए झैँ भएको थियो । पिसाब फेर्दा पोल्थ्यो र आसाद्धै पिँढा महसुस हुन्थ्यो । प्रायजसो जिउ भारी भई रहन्थ्यो र सुत्न मात्र मन लागि रहन्थ्यो ।

म चौध वर्षमा टेक्दै  गर्दा मेरो योनिबाट एक्कासि रगतका धब्बाहरू कपड़ामा टाटा भएर देखिएको थियो । डर र त्रासको बिच  कसैलाई  भन्ने आँटै गरिन । ममा शारिरक पीडाको कष्टलाई छोप्दै गर्दा अनन्त मेरा बाउले थाहा पाए । मलाई  घर पछाडिको बाख्रा बस्ने खोर छेउमा राखिदिए । न कसैले देख्थे न त  घामको किरण मेरो अनुहारमा आएर  चम्किन्थो । चारैतिर घाँसले बारोएको सानो कोठामा राखियो । मेरो  मन आत्तियो । बाख्राको बटक्यौलाको  गन्धले घेरिएको थिएँ । सूर्यको प्रकाशले धर्तीलाई बिदा गर्दै गर्दा जुनलाई रातले स्वागत गर्दै थियो । सॉझको बत्ती पनि मेरो आँखाले  देख्न पाएन ।  जुनको ज्योति कालो  बादलले सलक्क निलिदिएको बेला अङ्कल बिस्तारै छामछुम गर्दै आइपुगेका थिए । अङ्कललाई देख्ने बितिक्कै आँसु  रोक्न सकिनँ । आफ्नै जन्म दिने बाबुबाट निर्मम्तापूर्वक त्यो अन्धकारको बाख्राको पिसाब र बड्क्यिउँला गन्हाउने खोरमा कोचिएर मर्माहत भएको बेला उनको उपस्थितिले ठुलो राहत दिएको थियो । शान्तवना मिलेको थियो । अनयाँसै भक्कानिएर अँगाल्न पुगेछु । अङ्कलले पनि लपक्क छातीमा टाँसे । म सुक्क सुक्क गर्दैगर्दा मलाई किन यहाँ राखेको भनी सोधे ।  अङ्कलले मेरो गालामा चिमोट्दै भने, “तिमी अब केटाकेटी रहेनौ, आज देखि ठूली भयौ”।

यी हेर ततिम्रा छाती भन्दै हातले मसार्न थाले ।  मैले के गरेको अङ्कल भने । “तिमी कति ठूली भइछौ भन्दै हेरेको नि”।

आह ! साँच्चै ठूली भइसकेछौ भन्दै जवानीको संकेतहरु भर्खर पाउलिएर टुसाउँदै गरेका मेरा कलिला अङ्ग-प्रत्यङ्गहरुमा उनका खस्रा हातहरू सल्बलाउन थालेका थिए ।

मलाई असजिलो हुँदै जाँदै थियो । रात छिपिँदै अन्धकारमा जुनकेरीहरूले धिप धिप बत्ती बाल्दै घुमिरहेका थिए तर त्यो क्रूर अन्धकारमा  म जल्दै थिए आगोको  राप भित्रको तातो भुमरीमा । मेरो जाँघमा बिजुलीको मुस्लो झैँ झट्काले भतभती पोल्यो । असहाया कष्ट  खप्दै गर्दा पिडाले बिहोस भएँछु ।  उफ्! केही थाहा पाइन । रात कुन बेला निस्किसकेछ । पत्तै पाइन। त्यो कालो रात पछिको बिहानीमा छटपटी रहेको थिएँ । कुखुराका चल्लाहरू भूईमा चुच्चोले चारो खोज्दै  गर्दा बाउले मकैका दानाहरू हवार ….र..र फ्याँकी दिए । अरू कुखुराहरू पनि आएर मिसिए । कुखुराहरू  कति स्वातन्त्र छन् हगि । म पनि  कुखुरा हुन पाए हुन्थो जस्तो लाग्यो । कम्तीमा खुल्ला धर्तीमा रमाउन त पाउन्थे ।

मेरो दुइटा खुट्टाको बिचबाट चार पाँच थोपा आलो रगत तप तप चुहिँदै थियो । घामको उज्यालोमा टलक्क  टल्कियो । रगतका टाटा देख्न साथ  म झसंग झस्के । डरले बिहोस होला  झैँ भएँ ।  यो आपतमा कसलाई भन्ने, कसलाई सोध्ने ?  बिस्तारी सम्हालिँदै कुर्ताले पुछेँ । कुर्ता  रंगियो मेरो रगतले ।

हात  र खुट्टालाई खुल्ला छोडी दिए । हल्लाउन खोज्दा कुँजियो । लर्थाक भूईमै घिस्रिए । त्यो दिन भरि जसो  उठ्नै सकिन । प्रत्येक रात मेरा  आँखाका विम्बहरू सुस्ताएका थिए । फेरी त्यो अङ्कल आउँछ होला भन्ने  डर र पिडाले थरथरेर थाकेको बेला बल्ल रजस्वलाको पाँचौँ दिन कटाएँ ।  घन्न त्यो राक्षस अङ्कल फेरि आएन ।  बिहानीको सूर्यलाई नमस्कार गरेर स्कुल जान सुरु गरेँ।

स्कुलमा  खासै मन नै अडिएन । आँखा वरिपरि  घटनाक्रमका दृश्यहरू फनफनी गुमिरहेको थियो । एकोहोरिएर टोलाई रहँदा मिसले मलाई नियाली रहेको हुन्थिन ।  कसैले बोलायो भने म तुरुन्त मुस्कुराई हाल्थे । लजालु पनि थिएँ, सधैँ हाँसी रहन्थिए।  कसैसँग धेरै कुरा गर्दिन थिएँ । मिस छक्क पर्नुहुन्थो । एकाएकको परिवर्तनले मिसलाई शिर उठाएर हेर्नै सकिरहेको थिँईन । कक्षा कोठाका सबै केटाहरूलाई अङ्कल देख्न थालेँ । सबै केटाहरूलाई धूणाको द्रश्यले  हेर्न थालेँ ।  म प्राय कसै सँग बोल्दिन थिएँ ।  बोल्न खोज्यो कि डरले काम्न थाल्थेँ , लग…..लगग….. ।

मेरो दिनौंको कृयकलाप र एक्लोपन देखेर मिस नजिकिन खोज्नु भयो । मेरो परिवर्तनको कारणहरू प्रति जिज्ञासु हुन थाल्नु भयो । मिसलाई केही भनिन ।  न त मसँग केही भन्नै आँट र शक्ति नै थियो । अरूलाई भन्दा मलाई थप समय र  चासो दिन थाल्नु भयो ।  स्कुलको होमर्क नगर्दा पनि माया गर्नु हुन्थो ।

स्कुलको परीक्षा नजिकिँदै थियो । सबैजाना परीक्षाको  तयारी गर्दै थिए । मिसले  सधैँ झैँ  पाठ पढाउदैहुनुहुन्थो । म धुमधुम्ती घोप्टो परेर बसी रहे । क्लास फनफनी घुमिरहेको थियो । मिसलाई सानो सानो डल्लो आकारको बस्तु देख्न थालेँ। आँखा धमिलिँदै गयो । एकै छिनमा हवाल ..हवालती बान्ता आयो ।  सबै क्लासको साथीहरू चिच्याउदै मिसलाई बोलाएको अलिअलि थाहा छ । बिहोस भएर भूईमा  ढलेछु ।

बिस्तारै आँखा खोल्दा मिस…….मिस भन्दै चिच्याउदै रुँदै थिएँ । मिस पनि मेरो टाउको छेउमा बसेर मेरो कपालका सा-साना केस्राहरू खेलाउँदै हुनुहुन्थो । सपनाबाट बिउझें झैँ भयो ।  मिसको हातमा च्याप्प समातेँ।  डरले थरथरेका ओठबाट शब्द बाहिर निस्किन खोज्दै थियो ।  म दबाउन खोज्दै थिएँ।  आँखाका डिलबाट आँसु टिलपिल  गर्दै गर्दा नर्सले  दवाई लिएर आउनु भयो ।  बल्ल थाहा पाए म त अस् पतालमा पो रहेछु ।  नर्सले मुखमा  दवाई र पानी राखिदिनु भयो ।  मिसले मलाई हेर्दै टाउको हल्लाउनु भयो ।

नर्स बाहिर निंस्कदै गर्दा मेलै मिसलाई सोधे । “ मिस मलाई के भा को  छ र ? किन अस्पताल ल्याएको ?”
मौनतालाई चिर्दै मिसको बोली फुट्यो ।  “ तिमी तीन महिनाको गर्भवती भएको छौ”।
वास्तवमा मलाई गर्भवती भन्ने शब्द नै थाहा थिएन । कुनै सामान्या रोग होला भन्ने सोच्दै गर्दा फेरि मिसलाई सोधेँ । “यो गर्भवती भनेको के रोग हो मिस?”
मिस  अकमक्क पर्नुभयो ।  लामो सुस्केरा तान्दै भन्नुभयो ।  “तिमीलाई कसैले जर्वरजस्ती गरेको थियो?  त्यो को हो? भन ? नडराऊ, म छु तिम्रो साथमा?”

मिसको प्रश्नहरू आकाशबाट  बर्सेका असिनाहरू झैँ बर्सिँदा म मौन मूर्ती झैँ अडिएको थिए । मिसले झकझ्याक्याउदै आक्रोशमा भन्नु भयो।

“तिम्रो पेटमा बच्चा  हुर्किँदै छ र तिमी आमा बन्दै छौ। “भन, को हो त्यो मान्छे ?”
मिसको आक्रोश सकिन नपाउँदै मेरो मुखबाट “अङ्कल ….., अङ्कल”, शब्द   निस्कियो ।
मिसले “को अङ्कल हो ?”  भनी सोधे पछि त्यो कालो रातको  सबै धटनाहरू सुनाएँ । मिसले तुरुन्त बाउलाई बोलाउनु भयो ।  बाउ आतिदै अस्पतालमा आए । मलाई अङ्गालो हाले । त्यो तामागं अङ्कलको गन्धले भरिएको थियो बाउको शरीर ।त्यही तामाङ्ग अङ्कल जस्तै लाज्ञो बाउलाई पनि । मैले बाउको मुख पनि हेरिन । साँच्चै  भन्नु पर्दा मलाई बाउदेखि घूणा  थियो ।

मिससँगको कुराकानीमा बाउले भने, “म चाहन्छु उसलाई कडा भन्दा कडा  कारबाही होस् । उसलाई मृत्युदण्डको सजाय दिइनुपर्छ नभए आजिवन कारावासको सजाय भए पनि हुनुपर्छ ।  मैले भाइ सम्झेको थिए तर गोमन  सर्प रहेछ ।” कूतज्ञाता पोखिरहेका  आँखाहरूले मलाई हिजोको आलो सम्झनामा फर्काउँदै थियो। निमेष भरिलाई कायर हुन्छु म । मलाई एक छिन भारहीनाताको अनुभव हुन्छ। सुनिँदै  गरेको पेट थिची मारी दिऊँ झैँ लाग्छ त्यो राक्षसको भ्रूणलाई।  एक मनले भन्छ के दोष र त्यो अबोधको । मन आतंकित हुन्छ। कस्तो विडम्बना ! उफ्, …।भावना र विचारहरूको लडाई हुँदै गर्दा पुलिसहरू आएछन् । बाउ उठेर हात जोडछन। मिसले खबर गरेर आएका रहेछन्। मलाई सोधपुछ गर्न थाले।  मैले अतीतलाई वर्तमानमा ल्याएर  सबै भनिदिएँ। मिसले साहस र आँट भरिदिनु भएको थियो । मेरो अवस्था देखेर मिस भक्कानिएर रुन खोज्नु हुन्थ्यो।

केहिदिन पछि पुलिसले त्यो गोमन रुपी घातक अङ्कललाई हातकडी लगाएर जेल चलान गरेको कुरो मिसले सुनाउनु भयो ।  केही हदसम्म न्याय मिलेको महसुस भयो र छाती धक्क फुलियो । एकमनले सोचे कि यस समाजका सबै पुरुषहरू यस्तै दरिन्दा हुँदा रहेछन्, सबैलाई यसरी नै जेल चलान गर्नु पर्ने ।

यता अर्कोतिर म दिनदिनै आमा बन्दै गैरहेको थिएँ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *