रथका दुई पाङ्ग्रा नारी र पुरुष

ऋतु काफ्ले

भनिन्छ, नारी र पुरुष एउटा रथका दुई पाङ्ग्रा हुन । यस अर्थमा नारी र पुरुष एक अर्काका परिपूरक पनि हुन् । आजको यो बद्लिँदो आधुनिक समाजमा पहिलाको जस्तो भेदभावको अवस्था नभए पनि नारी र पुरुषको सम्बन्ध अझ दरिलो र प्रगाढ बन्नु झनै अनिवार्य भएको छ । नारी र पुरुष भन्नाले श्रीमान् र श्रीमती मात्र भन्ने अर्थमा नभई घर र समाजमा रहेका सम्पूर्ण पुरुष र महिलावर्ग पर्दछन् । सबैले आ-आफ्नो दायित्व र कर्तव्य ठानेर हातेमालो गर्दै एक अर्काको सहयोगी बनिदिएमा धेरै सजिलो र सहज हुन्छ । आय आर्जनका लागि महिला पुरुष दुवैले घरबाट बाहिर ननिस्कीकन परिवारको आवश्यकता परिपूर्ति गरेर नसकिने एउटा पक्ष र नारीले पनि घर र चुल्हो चौकामा सीमित नरहेर आफूले आर्जन गरेको सीप र ज्ञानलाई सदुपयोग गर्नका लागि पनि बाहिर निस्कन जरुरी हुन्छ, यस्तो अवस्थामा घरका पुरूषवर्गले आ-आफ्नो तरिकाले घरका जिम्मेवारी वहन गरिदिएर एक असल सहयोगी भूमिका निर्वाह गरिदिएको खण्डमा साँच्चै हाम्रो समाजले उन्नतिको पथ चुम्नेछ । नारी समाजको आधी हिस्सा हो । विभिन्न उपलब्धीमूलक कार्यका साथै व्यापार, न्याय, प्रशासन, सेवा र राजनीति क्षेत्रमा पनि आफ्नो बलियो उपस्थिति गरिसकेका छन् । गृहकार्य र दैनिकीसँगै विभिन्न सामाजिक क्रियाकलापमा आफूलाई उभ्याउनु नारीहरूले अन्य वर्गको सहयोग र सद्भावलाई आत्मसाथ गर्दै अघिबढ्नु पर्छ । नारी र पुरुषबिचको द्वन्द्व र एक अर्कामा दोषारोपण गर्नुभन्दा एक अर्कामा भएका विविधता सहितका गुण सम्मानका साथ आत्मसात् गरेर त्यो शक्तिलाई समाज रूपान्तरणमा प्रयोग गर्न सकिन्छ । नजिकै आउँदै गरेको नारीशक्तिलाई पूजा गर्ने चाड पर्वहरूलाई व्यवहारमा उतार्दै नारीको सम्मान गरौँ र सहयोगी बनौँ ।

२०१९ को विजय दशमीको सबैलाई मङ्गलमय शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *