रसियालाई सन्देश

मधु घिमिरे
वूस्टर,मासाचुसेट्स, अमेरिका

 

आफ्ना दाजु र भाइ बहिनी बाबा र आमा मिली
यूक्रेनी जन प्रेमसाथ घरमा बस्थे गुजारा गरी
यूक्रेनी जनता परे विपतमा बढ्दो छ पीडा हरे
भो भो भो अब युद्ध रोक रसिया मान्छे हजारौं मरे १

धम्की धाक रवाफको बल लिई बन्दैन आभूषित
गोला बारुदले कदापि भवमा गर्दैन कॉंही हित
मारी ती बिचरा अबोध जनता पाइन्छ के के भरे ?
भो भो भो अब युद्ध रोक रसिया मान्छे हजारौं मरे २

तिर्खाले कति ओठ नाक मुख ती सुख्खा बने जर्जर
भोका पेटहरू लिएर पथमा हिँड्छन् सयौं लस्कर
सीमामा कति वृद्ध बालक युवा साह्रै विचल्ली परे
भो भो भो अब युद्ध रोक रसिया मान्छे हजारौं मरे ३

हिंसा होइन शान्तिको प्रगतिको उल्लासको द्योतक
वार्ता हो नमिठा विचार वहका ढोका उघार्ने सब
अत्याचार भयो छ त्रास जगमा धेरै बिरामी परे
भो भो भो अब युद्ध रोक रसिया मान्छे हजारौं मरे ४

 शार्दूलविक्रीडित छन्द

Leave a Reply

Your email address will not be published. Required fields are marked *