राष्ट्र कवि माधव घिमिरेको सम्झनामा

सम्पादकीय 

माधव घिमिरे नेपाली काव्य संसारका एक प्रतिष्ठित र जनप्रिय कवि हुन् । एक शताब्दीभन्दा बढीको दीर्घ जीवन बाँचेका कवि घिमिरेको काव्य साधनाको समय पनि त्यसरी नै विस्तार भएको छ । लेखनाथ पौड्याल, लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण समजस्ता साहित्यका महान् हस्तिहरूसँगै उदाएका घिमिरेलाई भने आफ्नै जीवनकालमा अनेक प्रतिष्ठा र सम्मान पाउने सौभाग्य मिलेको छ । राष्ट्रकवि जस्तो गरिमामय पदवीले विभूषित हुनु यसको एउटा दृष्टान्त हो । लगभग एउटै कालखण्डमा जन्मेका लेकनाथको आध्यात्मिकता, समको दार्शनिक — बौद्धिक चिन्तन र देवकोटाको विद्रोहात्मक स्वच्छन्दताभन्दा राष्ट्रकवि घिमिरेको काव्य परिशीलन निकै पृथक् छ । काव्यभित्रको गीतिमयता, सरलता र राष्ट्रिय चिन्तनले नेपाली जनमानसका हृदयमा घिमिरे अमिट छाप बनेर बसेका छन् र बस्नेछन् आउने दिनहरूमा पनि ।

लाउँलाउँ र खाउँखाउँको उमेरमा बितेकी आफ्नी प्राणप्रिय पत्नीको मृत्यु शोकमा लेखिएको गौरी खण्डकाव्यले आरम्भमा नै कवि घिमिरेलाई काव्यकौशलताको विशिष्ट वाटिकामा वेष्टित गरिदियो । गैरीमा, पत्नी वियोगले घायल भएको हृदयबाट निःसृत कारुणिक अनुभूति, मानवीय संवेदना र शोकविवहलता जसरी कलात्मक र नैसर्गिक रूपमा प्रकटित भएको छ त्यस्तो शोक काव्य नेपाली साहित्यमा अरू बिरलै लेखिएको होला । तथापि काव्य यात्राको दौरानमा घिमिरेले दुःख र सुखलाई जीवनको समन्वयात्मक यथार्थका रूपमा स्वीकारेर, मानव जीवनको सुन्दर र उदार पक्षको खोजी गरेका छन् ।

मानिस जस्तो अमर मैले देखिनँ क्यै पनि
सिर्जना जस्तो सुन्दर मैले देखिनँ क्यै पनि । 

(एक गीत)

कवि घिमिरे सिर्जनाद्वारा ‘सृष्टिको खोट’ लाई सच्चाउने प्रचेष्टा गर्दछन् । जीवन नासवान र क्षणभङ्गुर भए पनि सत्कर्मद्वारा त्यसलाई अमर बनाउन सकिने कुरामा कवि विश्वास गर्दछन् । एउटै सानो सरल कृतिमा ‘पूर्ण संसार’ र ‘त्यस शकल’मा ‘स्वस्थ आकार’ खोज्नु घिमिरेको काव्यमर्म मात्रै होइन, जीवन दृष्टि पनि हो । जसरी काव्यलाई शिल्पले श्रृंगार्ने धोको छ त्यसरी नै जीवनलाई पनि सार्थक र परिपूर्ण बनाउने अनुरक्ति ।

मेरो शिल्पी यस शकलमा स्वस्थ आकार देऊ
यौटै सानो सरल कृतिमा पूर्ण संसार देऊ

              (काली गण्डकी कविता )

कवि घिमिरेले शिल्पलाई ज्यादै ध्यान दिएका छन् । उनका हरेक कविता परिष्कारपूर्ण, गीतिमय र हृदयस्पर्शी छन् । कवितालाई शिल्पले भर्ने र पाठकको मन जित्ने रचना गर्नु उनको अभिष्ट हो । उनका कविताले लोक जीवन, राष्ट्र र प्रकृतिको सम्मति र शाश्वततालाई आत्मसात् गरेका छन् ।

माधव घिमिरेले लोकलय, नेपाली जनजीवन र राष्ट्रियतालाई केन्द्रमा राखेर काव्य रचना गरेका छन् । नेपाली माटो, नेपाली मुटु र अतीत गौरवलाई सरल र प्रतीकात्मक रूपमा काव्यमा प्रवाहित गर्नु घिमिरेको विशेषता हो । ‘गाउँछ गीत नेपाली, ज्योतिको पङ्ख उचाली’, ‘नेपाली हामी रहौँला कहाँ नेपालै नरहे’, ‘लाग्दछ मलाई रमाइलो, मेरै पाखा पखेरो’ जस्ता गीतहरूले कवि माधव घिमिरेको राष्ट्र र राष्ट्रियताप्रतिको संवेदनशीलता र आत्मसम्मानले भरिएको इतिहासप्रतिको अनुरक्तिलाई मुखरित गर्दछन् ।

माधव घिमिरेलाई उनको वियोगान्त काव्य गौरीले मात्रै अमर बनाएको होइन । ‘गाउँछ गीत नेपाली’, ‘नेपाली हामी रहुँला कहाँ नेपालै नरहे’, ‘कालीगण्डकी’ जस्ता कविताले घिमिरेलाई त्यतिकै अमरत्व प्रधान गरेका छन् ।

विसं १९७५ मा लम्जुङमा जन्मेका घिमिरेले राजेश्वरी, पानीआमा, राष्ट्र निर्माता जस्ता खण्डकाव्य, चैत-वैशाख कविता सङ्ग्रह, मालतीमङ्गले नाटक, चारु चर्चा निबन्ध र ऋतम्भरा (अप्रकाशित महाकाव्य) जस्ता कृतिको रचना गरेका छन् ।

राष्ट्र कवि घिमिरेको गत अगष्ट १८ मा भएको निधनले हामी मर्माहत र स्तब्ध भएका छौँ । दु:खको यस घडीमा हामी राष्ट्र कवि माधव घिमिरेप्रति हार्दिक सद्धाञ्जली प्रकट गर्दछौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *