रियालिटी शोसँग साक्षात्कार

– भीम ठटाल, सिक्किम  

कवि
कवि

रोग अनि भोकग्रस्त नानीहरु सडकछेऊ मर्दैछन्
सिने स्टार अनि सुपर मोडेलहरुका यिनीहरुलाई बचाउने च्यारिटी कसमसँगै
रोग अनि भोकग्रस्त नानीहरु सडकछेऊ मर्दैछन् ।

समयले सबै कुराहरुको खेती गरेको छ ।
आफ्नो भविष्य सुरक्षित पार्न हाम्रा सन्तानहरुले
इज्जत, सम्मान अनि हुनुका अर्थवोधहरु
आफ्नो संस्कारको बारीबाट गोडेर फ्याँकिसकेका छन् ।
टि.भि.-का सेलेब्रिटीहरु गरीब उत्थानका कसम खान्छन्
अनि आफ्ना मीडिया आँखाका विज्ञापन आँसुहरु नसुक्दै
तिनका कर्तव्यवोधका गोहीहरु र्याम्पमा फेसन शो गर्छन्
अनि गरिबीका गोहीहरु भने
दिउँसै गल्लीमा हाम्रा बच्चाहरु निल्छन् ।

समानता मदिरा हो भने यसलाई पिउन हाम्रा पिंढीहरु
आमा-बाबुहरु तल कतै तलसम्म पनि नदेखिने गरी उठ्न सक्छन्
आफूले आवेदन पत्र दिएर होइन अपितु हाम्रै रहरले जन्मेका हुनाले
यिनीहरुका कतिपय प्रश्न होलान् जस्तै:
किन बच्चाहरु बार नबिराई खाडलमा खस्छन् ?
किन भ्रूणहरु डस्बिनमा फ्याँकिन्छन् ?
किन नानीका हड्डीहरु नालीमा भेट्टिन्छन् ?
किन दिन नबिराई रेल पल्टिन्छ ?
किन शिक्षा र विवेक व्यापार बन्छ ?
किन मन्त्रीहरु विभागसँग असन्तुष्ट हुन्छन् ?
किन रियालिटी शोहरु यत्ति अनरियल ?

***

दुख्छ सधैँ आफ्नो ए पोजिटिभ रगत
देशको राजधानीको ठूलो अस्पतालमा
एस.एम.एस गरेर पठाउन नसक्दा
अनि रगतले जर्जर युद्धले आक्रान्त रक्तामै सहरमा
रगत नपाएर एउटा बालक मर्दा ।

लाग्छ सायद अत्ति नै भयो
कुनै मोर्चाको दवाबमा पानीमाथि राजनीति र म्युनिसिपलिटीको आग्रह
स्वतन्त्रता समारोहमा आत्मघाती हमला
अत्ति भयो ।
भवनको बन्दकीमा आँसुको व्यापारका शोहरु
अन्तराष्ट्रिय वार्ताहरुमा छिनो-फानो हुन नसकेका हाम्रा मुद्दाहरुको
टि.भि.-ले कत्ति सरल समाधान निकालिदिन्छन् !
अनि कत्ति सफलतापूर्वक जनमानसको विश्वास जित्छन्
र थाँतीमा आवश्यकता थन्क्याएर युवतीहरू
कैल्यै नदेखेको निर्णायकलाई बिहेको प्रस्ताव दिन्छन् ।
सायद समय आएको हो अब
विद्वानहरुले वनवास जानुपर्ने
विवेकहरुले वनवास जानुपर्ने !

Leave a Reply

Your email address will not be published. Required fields are marked *