रुन्चे चोकसँग विछोड (पुस्तक अंश)

रमेश दियाली 
ओहायो, अमेरिका  

हजारौँको आँसुले पोखिएर सागर बनेको ठाउँलाई पछि नाम नै रुन्चे चोक राखियो । आज म पनि रुन्चे चोकमा छु । खेम रिजाल दाजु जाँदै छन् । क्याम्पमा  प्रौढ शिक्षा पढाउँथे । बूढाबूढीहरूले औधी माया गर्थै । एक महिनापछि म पनि जाँदै छु । यही रुन्चै चोक बसेर खुब रुन मन छ । यसै गरी सकिँदै छन् बिस्तारै….बिस्तारै..। शिविरका छाप्राहरू एक एक ढल्दैछन्। रित्तिनै छ बस्तीहरू..। आज एक्कासि यो छाप्रोलाई सजाउन मन लाग्यो, बेहुली झैँ चिटिक्क । रङ्गहरू दलेर । मेरो मनको पीडा होस् या आँखाबाट झरेको आँसु हुन्, यही छाप्रो भित्र सजिएको छ ।

म भावनामा एकोहोरिएँ । मलाई झन् प्यारो लाग्न थाल्यो । अहँ ….! म सक्दिन यो छाप्रोलाई एक्लै छाड्न । यो छाप्रोको बाँसकाप्रत्येक भाटाहरूले मलाई उत्तिकै माया गर्छन् जति म गर्छु । यी मेरा हातले सजाएका फूलका गमलाहरूले मलाई खोजिरहन्छन् । मेरो हातको पानी नपाएसम्म हाँस्न पनि सक्दैन न त फुल्नै । छाप्रोको प्रत्येक कुनामा मेरो छाया छ, जहाँ म हुँदा सुरछित महसुस गर्छन् । म यही छाप्रो भित्र छु।

मैले टेकेको माटो र म खेलेको ठाउँलाई छोडेर टाढा जाँदा दुःख लाग्यो । जन्म दिने र कर्म दिने दुवै महान् हुन । हामी आमा कै दर्जामा राख्छौ । जन्मेको त भूटानमा थिएँ तर मेरो बाल्यकालदेखि अहिलेसम्म यही माटोसँग खेल्दै हुर्केको छु । मन किटिक्क चुँडियो । खुसीभन्दा पनि निकै दुखित थिएँ ।

“छाप्रो नम्बर ५५” उपन्यासको आवरण

पहिलो चोटी हवाइजहाज चढ्दै छु । धुलाबारीबाट काठमाडौँ जाँदै छु । भात धुलाबारीको होटेलमै खाइयो । हामी धेरै नै थियौँ । अरू क्याम्पका पनि मिसिएका थिए । जहाज आएर रोकियो । हामीसँगै आइओएमको कर्मचारीहरू पनि छन् । हामीलाई भेडा बाखा्हरु झैँ गरी डोर्‍याइरहेको थिए । एक अर्थमा यो सही थियो किन कि हामीले कहिले हवाइजहाज चढेको थिएन । देखेको त थियो त्यो पनि आकाशमा उड्दै गर्दा । हामी केही नजान्ने पनि होइनौ, केही त हामीहरूले पनि जानेका थियौ तर केही नदेखेको झैँ गरी डोराउँदा झैँ मलाई झनक्क रिस उठ्थ्यो । वेगहरू अघि नै जहाजमा हालेछन् ।

नाम बोलाउँदै चेक जाँच गर्दै थिए । गेट बाहिर बस पर्खिरहेको रहेछ । हामीहरू सबै बसमा उभिएरै जहाजसम्म पुग्यौँ । म ठिङ्ग उभिएर जहाज हेरेको हेर्यै थिएँ । मेरो एकान्तलाई भङ्ग पार्दै अचानक ठूलो आवाज आयो । ठूलो जहाजले पखेटा फिजाउदै उडन लागेको थियो । मेरो सपना पनि उडन लागेको जहाज सँगै उडन लाग्दै थियो । जहाजको पखेटामा नेपालको झन्डाको चित्र बनाएको रहेछ । झन्डा हेर्दै गर्दा नेपालको माटोलाई सम्झेँ ।

यही माटोमा यतिका वर्षसम्म बस्यौँ । आज छोड्नुपर्दा मन अमिलो हुँदैछ । मेरो झुकेको शिर उठाउँदै आइओएमको कर्मचारीले जहाजमा चढ्न बोलाए । मेरो खुट्टाहरू थरर..कामे । जहाजमा पहिलो खुट्टा टेकेँ । शेर्पेनी कपडामा सजिएकी केटीले नमस्कार गरिन् । म अकमक्क परेँ र एक छिन पछि मुखले नै नमस्कार फर्काएँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *