रुबाईयात

थुक्तेन दोर्जी ड्रुक्पा
हर्सन्स, डेनमार्क

म न त यो सृष्टिको मूल हुँ
म न त यो सृष्टिको भूल हुँ
मलाई त केवल यस्तो लाग्छ
म यो सृष्टिको एउटा सुन्दर फूल हुँ

पिउनु कति मज्जा हुन्छ पिएर त हेर
मैले जस्तो कहिलेकाहीँ जिएर त हेर
मान्छे धनी मनले हुन्छ गरिब भए पनि
जति सक्छौ कहिलेकाहीँ दिएर त हेर

तिमी छौ र म छु मैले जिउनुको अर्थ छ
तिमी बिनाको जीवन मेरो व्यर्थ छ
तिमीबाट यसरी नै माया पाइरहूँ म
बस ! यही नै मेरो जिन्दगीको स्वार्थ छ

कामले कामै सिकाउँदो रहेछ
विश्वासले सम्बन्ध टिकाउँदो रहेछ
कहिलेकाहीँ नचाहँदा – नचाहँदै पनि
परिस्थितिले मानिसलाई बिकाउँदो रहेछ

नपिउनेलाई के थाहा पिउनुको मज्जा
हारलाई पनि जित सम्झी जिउनुको मज्जा
दुःखलाई नि मनैबाट सुख ठानेपछि
हुँदा रैछ फाटेको मन सिउनुको मज्जा

Leave a Reply

Your email address will not be published. Required fields are marked *