रेजिनाले ‘क’ लेखिन् ।

प्रतिमान सिवा
ओहायो, अमेरिका  

स्कुल छुट्टी हुने बेला भई सकेको थियो । रेजिनाकी मम्मी अघिदेखि उनैलाई पर्खेर बसिरहेकी थिइन् । रेजिना आज निक्कै खुसी र उत्साहित देखिन्थिन् ।
हाई मम्मी । अमेरिकाको नयाँ जीवनशैलीमा रत्तिदै गएका आम नेपाली बाल-बालिका झैँ साबिक अभिवादन गर्दै आमा-छोरी गाडीमा बसे ।
छोरी किन आज निक्कै खुसी देखिन्छ्यौ  नि तिमी ?रेजिनाकी आमाले गाडी चलाउँदै सोधिन् ।
अनि कि मम्मी…….. , आज स्कुलमा मेरो टिचरले इस्टरको बारेमा कथा भन्नु भयो । कस्तो…… मज्जा आयो”  रेजिनाले एकै सासमा आफू खुसी हुनुको कारण आफ्नी आमालाई सुनाइन् ।
मम्मी……. ! हाम्रो ब्याकयार्डमा पनि बन्नी (खरायो) आउँछ है । अस्ति मैले एउटा कस्तो क्युट (राम्रो) बेबी बन्नी देखेको थिएँ ।“
आउँछ त छोरी , किन ?आमाले सोधिन् ।
किन भने नि………, बन्नीले इस्टर एग ल्याउँछ नि त म सुतेको बेला । त्यो इस्टर एगमा त कस्तो….. राम्रो राम्रो मिठाई र  खेलाउनाहरु हुन्छन् ।“

यती कुरा हुँदा सम्ममा आमा-छोरी घर आइपुगेका थिए ।
ल छोरी नानु, तिमी दिनभरि स्कुलमा पढेर थाकेकी छ्यौ । जाऊ, लुगा फेर, हात-खुट्टा धोऊ अनि म खाजा तयार गरिदिन्छु है ।“  आमाले प्रेमपूर्वक भनिन् ।
हुन्छ मम्मी ।“

रेजिनाले स्कूल जाँदा बोक्ने आफ्नो झोला (ब्याक्-प्याक) सोफामै फ्याँकेर कोठामा गई  लुगा फेरिन् अनि हात-खुट्टा धोएर बाहिर डेकमा (बरण्डा) भएको स्विङ्गमा गएर बसेको मात्रै थिइन् , आमाले नास्ता ल्याइदिइन् ।

मम्मी…., प्लिज्………, म यत्ति धेरै खान सक्दिन ।“
खाऊ छोरी, खाऊ

पेपर-प्लेटमा अण्डा हालेर घिउमा फ्राई गरेको भात, दुई चाना गाजर र एक ग्लास दूध खाँदै पर पर बारीमा हेर्दै के के सोच्न थालिन् रेजिना । दिनभरि स्कुलमा खेल्दै उफ्रँदै लेख-पढमा व्यस्त भएकाले  रेजिना धेरै थाकेकी थिइन् । खाँदा खाँदै पिङमै भुसुक्कै निदाइछन् । 

  ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० 

रेजिनाले आफ्नो शाही ताज शिरमा मिलाउँदै राजगद्दीमा बस्दै गर्दा झल्याँस्स आफ्नो आँखाले विश्वासै गर्न नसक्ने दृश्य देखिन् । एकचोटी आँखा मिचिन् र फेरि नियालेर हेरिन् । पक्का हो! उनलाई कुनै धोका वा भ्रम भएको होइन । उनका आँखाका सामु ड्याडी बन्नी, मम्मी बन्नी अनि बेबी बन्नी आ-आफ्ना हातमा अति चम्किला र सुन्दर सुन्दर इस्टर एगले भरिएका डाली (बास्केट) बोकेर सरासर उनकै महल तिर प्रवेश गर्दै थिए । रेजिना हर्षले गद् गद् भइन् । जुरुक्क उठिन् र दगुरेर ती बन्नीहरुतिर लागिन्।

राजकुमारी ! नकुदी बक्सियोस् । हुकुम गर्नुहोस् , हामी हाजिर छौँ सरकारको सेवामा ।” राजकुमारीका सुसारेहरूले  पनि पछि पछि दगुर्दै भने ।
राजकुमारीले नसुनिकन बन्नीहरुको अगाडी पुगेर घुँडा टेकी बन्नीलाई विनम्र अनुरोध गरिन् ।
बन्नी ! प्लिज…….. मलाई त्यो चमकदार इस्टर एगको टोकरी दिनुस् । पक्कै पनि तपाईँहरूले त्यो मेरै लागि ल्याउनु भएको होला ।”
हुन्न राजकुमारी, हामी यो हजुरलाई दिँदैनौँ तर हजुरको महलभित्र कहीँ लुकाएर राख्नेछौँ। हजुरले आफै खोजेर भेट्टाउनु पर्ने छ अनि मात्र ती उपहारहरू पाउनुहुनेछ ।”

यती भनेर बन्नीहरु सरासर राजकुमारीको महलभित्र पसे । राजकुमारीको मन खिन्न भयो ।
केही बेरपछि बन्नीहरु रित्तै फर्केर जाँदै गर्दा राजकुमारीले बाई भनिन् ।

राजकुमारी ! आज्ञा होस्, हामी ती अण्डाका बास्केटहरू खोजेर ल्याउनेछौँ,” सुसारेहरूले भने ।
होइन, म आफैँ खोज्छु ।”

राजकुमारी हस्याङफस्याङ गर्दै महलको कुना काप्चा सबै चहार्न थालिन्। बल्ल-तल्ल खोजेर तीन वटा बास्केट लिएर आइन् र उनका सुसारेहरुसङ्ग बसेर एक एक गर्दै बडो उत्सुकताका साथ ती इस्टरका अण्डाहरू खोल्न थालिन् । अण्डा खोल्दै जाँदा राजकुमारी छक्क परिन् किनभने ती अण्डाहरू भित्र त अनौठा अनौठा आकारका खेलाउनाहरु पो रहेछन् । ती खेलाउनाहरुलाई ओल्टाई पल्टाई एकदम राम्रो गरी नियालिन्, सुम्सुम्याइन् । एकदम राम्रो, खेलाऊ खेलाऊ परेका, एकदम आकर्षक अनि चमकदार रहेछन् । तर ती खेलौना के आकारका हुन् भन्ने कुरा उनलाई थाहा भएन।  त्यसैले पत्ता लगाउने अठोट गरिन् । यी खेलाउनाहरु के वस्तु हुन् तरुख-पात पनि होइन, चरा-चराचुरुङ्गी पनि होइन, कुनै जनावर पनि होइन । के चैँ हो तदरबारमा हल्ली खल्ली भयो । अन्तमा दरबारका विद्वान  पण्डितलाई राजकुमारी सामु हाजिर गराउने र बन्नीले दिएका उपहारहरू के हुन् त भनी रहस्य खुलाउने हुकुम भयो ।

केही बेर पछि पण्डित राजकुमारी अघि उभिए ।
ल ! पण्डित बा…….. ! भन्नुहोस् यी अनौठा तर राम्रा खेलौनाहरू केका आकारका हुन् त ?” आदेश गरिन् राजकुमारीले ।

खेलौनाहरू समाउँदै हेरेर मुसुक्क हाँस्दै पण्डितले भने, ” राजकुमारी……. ! यी खेलाउनाहरु त नेपाली भाषाका वर्णमालाहरू पो रहेछन् ।”
राजकुमारी सहित सबै जना छक्क परे ।
के हो त वर्णमाला भनेको ? अनि मलाई यस्तो उपहार दिनुको मतलब के हो त ?” राजकुमारीले सोधिन् ।

राजकुमारी…… ! यो तपाईँ-हामीले घरमा, समाजमा र देशमा हाम्रा पुर्खाहरूको पाला देखिनै बोल्दै आएको भाषा हो जसलाई हामी नेपाली भाषा भन्छौँ । त्यही नेपाली भाषाको पहिलो अक्षर हो यो खेलौना । बन्नीले यो तपाईँलाई उपहार दिनुको कारण चैँ, अब राजकुमारीले नेपाली भाषा सिक्नु पर्छ । यो हाम्रो मातृभाषा हो। त्यसैले पढ्नु पर्छ । लेख्न सिक्नु पर्छ । हरेक नेपाली भाषीले नेपाली पढ्नै पर्छ राजकुमारी अनि गौरव गर्नु पर्छ ।”

राजकुमारी छक्क पर्दै पण्डितका कुरा सुनिरहेकी थिइन्, हठात् उनले छुट्टै तर परिचित आवाज सुनिन् । 

० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० ० 

ए ! छोरी त खाँदा खाँदै निदाइछिन् ।” मम्मीले छोरीलाई सुम्सुम्याउदै भनिन् ।
मम्मी, कस्तो……. डिस्टर्ब गर्नु भयो । कस्तो…. राम्रो…. सपना देखिरहेको थिएँ म।” आँखा मिच्दै जिउ तन्काउँदै रेजिनाले आमालाई भनिन् ।
अनि के देखेऊ त छोरी सपनामा त्यस्तो राम्रो ?” आमाले सोधिन् ।

जिउभरि लागेको भातको सिता टक्टक्याउँदै जिज्ञासु नजरले मम्मीलाई हेरिन् ।

ए साँची, मम्मी….. ! नेपाली भाषा कस्तो हुन्छ अनि कसरी पढ्नु पर्छ अनि किन पढ्नु पर्छ? तपाईँलाई नेपाली पढ्न र लेख्न आउँछ मम्मी ? अनि तपाईँहरूले मलाई किन पढ्न-लेख्न नसिकाएको ?”  रेजिनाले एकै सासमा धेरै प्रश्न गरिन्।
आमा चकित भैइन् तर यो असल मौका हो भनी सम्झेर छोरीलाई आफ्नो मातृभाषाको महत्त्व बुझाउँदै नेपाली पढ्न र लेख्न सिक्न प्रेरित गर्छिन् ।

यो अहिले जुन भाषामा तिमी म सङ्ग बोल्दछौ नि छोरी, हो त्यही नै नेपाली भाषा हो । हाम्रो मातृभाषा। एक छिन है नानी । म कलम र कापी लिएर आउँछु है ।”
दगुरेर भित्र गएर कलम र कापी लिएर आइन रेजिनाकी आमा ।
खोइ, यो कलम समाऊ त । अनि यसरी लेख्नु पर्छ । नेपाली अल्फाबेटको पहिलो लेटर है छोरी ।”

छोरीको हात समाउँदै नेपाली वर्णमालाको पहिलो अक्षर लेखाइन् । रेजिनाले नजाने पनि आनन्द मानिन् र खुसीले गद् गद्  हुँदै अघि देखेको सपना सम्झिन् ।
हो मम्मी, यस्तै थियो । पण्डित बाले भन्थे ।”
हन, के भन्छिन् मेरी छोरी आज ?”  रेजिनाकी मम्मी तीन छक्क परिन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *